किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु पढ्दै, सिक्दै, कमाउँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन् । कहिले तरकारी तथा फलफूलबारीमा मल विउ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन् । तिनै विद्यार्थीहरु कहिले आलुको विउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन् । किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन् ।

ती विद्यार्थीहरु विमको कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन् । म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले पढ्दै,सिक्दै र कमाउँदै गर्न थालेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढेको छ भने स्थानीयलाई सुविधा र विद्यार्थीलाई आम्दानी दुवै प्राप्त भएको छ ।

विसं २०६८ मा जिल्लामा नै पहिलो पटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले १२ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ । कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् ।

कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ ।

विद्यार्थीहरुले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्दै आएका छन् । कृषि वालि विज्ञान अन्तरगत जेटिएदेखि आइ एस सी (एजी) मा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका तरकारी उत्पादन, वेर्ना उत्पादन, च्याउ खेती गर्दै बजारमा विक्री वितरण गरी आम्दानी गरिरहेका किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कडेलले बताउनुभयो ।

हिजो बुधबार पनि प्राबिधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुदृारा उत्पादित लौका, टमाटर, घिरौला, तितेकरेला, भान्टा लगाएत विभिन्न तरकारीहरु सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत विधार्थीहरुलाई नि:शुल्क वितरण गरिएको थियो । त्यो तरकारी विक्रि गरेर विद्यार्थीहरुले आफ्नो खर्च जुटाउने संयोजक कडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादन गर्दै आएका छन् । नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै विद्यालय र विद्याथीहरुलाई आर्थिक रुपमा सवल बनाउदै जाने योजना रहेको किसानी मावि तथा कृषि प्राविधिक शिक्षालयका प्रअ जंगबहादुर गर्बुजाले बताउनुभयो ।

ADVERTISEMENT

वाली विज्ञान अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सिपको विकास गरी उच्च स्तरको जनशक्ति निर्माण गर्नुको साथै विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्नका लागि विभिन्न रचनात्मक योजनाहरु निर्माण तथा कार्यान्वयन गरिरहेको कृषि धार संयोजक कडेलले जानकारी दिनुभयो । पढाई सकेपछी विद्यार्थीहरुले आफै कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्न सक्ने आँट आएका विद्यार्थी तिलक बूढाले बताउनुभयो ।

सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका संयोजक कँडेलले बताउनुभयो । विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उहाँको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्ष अघि (विसं २०७४ सालदेखि) तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत छन् ।

हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् । मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ ।

शिक्षालयका संयोजक कँडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमाट नै पशु चिकित्साको बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रम गरिरहेको छ । भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताउनुभयो ।आइएस्सी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत छात्र सन्तोष रिजालले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि किसानलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।

त्यसैगरी पशु विज्ञानतर्फ दोस्रो सेमिस्टरमा अध्ययनरत सुरन विकले स्वरोजगार र ग्रामीण भेगका पशुपालक कृषकहरुको सेवाका लागि आफूले पशु विज्ञान रोजेको जानकारी दिनुभयो । १८ महीने जेटिएमा अध्ययनरत तारा शर्माले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताउनुभयो ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज