काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ । राजस्व अनुसन्धान विभागले सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले बतायो । पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुग्नुभएको थियो । त्यसक्रममा उहाँले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गर्नुभएको थियो । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ । मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स मार्फत आएको कम्तीमा १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको थियो । यस प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको थियो ।
यी हुन् पक्राउ परेका व्यक्ति
अहिलेसम्म विभागले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन् । यस्तै कार्गाे कम्पनीका सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परेका छन् । यसैगरी साउन ३ गते १०० किलो सुन बरामद भएको दिन सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका छन् । उनीहरुमाथि म्याद लिएर अहिले अनुसन्धान भइरहेको छ ।
भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनुभयो । उहाँले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पारे। मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरुले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताउनुभयो । उहाँले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताउनुभयो । उहाँले कानुन सबैका लागि बराबर हुने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सामाजिक न्याय सहितको समृद्धि, समाजवादउन्मुख समृद्धिको दिशातर्फ हामी जानुपर्छ । आजको मिसन यसलाई बनाउनुपर्छ । त्यसै अन्तर्गतका मिसनमा सरकार र गृह मन्त्रालयले काम गरिरहेको छ । यस सन्दर्भमा प्रश्न उठिरह्यो । कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु कि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ । त्यो अनुसन्धानले तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानपर्ने गरी दोषीलाई फेला पार्न अघि बढ्छ । दोषी र अपराधीलाई छोड्ने काम हुँदैन । निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीहरु छुट्ने काम नहुन् । त्यो दृष्टिकोणको आधारमा प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन छ ।’ मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा