धार्मिक अन्धविश्वासले अझै छाउगोठमा महिला

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोट भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले भरिपूर्ण भए पनि यहाँ कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्दछ । विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविक विविधता र बहुसांस्कृतिक परम्पराले कर्णाली क्षेत्र निकै चर्चामा रहे पनि यहाँको सामाजमा व्याप्त छाउपडी, बालविवाहलगायत महिला हिंसाका अरू अन्धविश्वासका कारण उत्तिकै मात्रामा बदनाम पनि हुन पुगेको छ ।

सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरूले जति नै प्रयास गरे पनि कर्णाली प्रदेश भन्नेबित्तिकै अधिकांश नागरिकको दिमागमा छाउपडी, बालविवाह प्रथा कायम रहेको क्षेत्रका रूपमा स्मरणमा आइहाल्छ । यो नहोस् पनि कसरी ? यिनै कुप्रथाका कारण यहाँका सयौं महिलाले बर्सेनि अकालमै ज्यान गुमाउनुपरेको छ ।

यहाँ यस्ता वियोगका प्रशस्त उदाहरण भेटिन्छन् । कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरू मृत्युको मुखमा पुग्न बाध्य छन् । छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन । यिनै कुप्रथाहरूले अझै पनि यहाँका महिलाहरूको ज्यान लिइरहेको छ । छाउपडी प्रथाका कारण बर्सेनि दर्जनौँ महिला अकालमै ज्यान गुमाउन पनि बाध्य छन् । त्यसको खासै रोकथाम तथा उन्मूलन हुन सकेको छैन । साबिकको मान्म गाउँ विकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस गरिएको घोषणा अहिले प्रभावहीन भएको छ । छाउपडी प्रथामुक्त भएको तीन वर्ष बितिसक्दा पनि यहाँका महिला छाउगोठमा बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठ भत्किए पनि सोचाइमा परिवर्तन आउन नसक्दा अहिले महिला कपडाका पाल हालेर पनि छाउ भएका बेला बाहिर बस्न बाध्य छन् । खाँडाचक्र नगरपालिका-६ की धनसरा बिक भन्नुहुन्छ, ‘छाउपडी प्रथा अन्त्य गर्नका लागि एक÷दुई दिन रमझम कार्यक्रम गरेर क्षणिक परिवर्तन गर्नुभन्दा सोचमै परिवर्तनको आवश्यकता छ ।’ विकले भन्नुभयो, ‘आफूलाई त घरभित्र नै बस्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, के गर्नु घरमा सासू ससुराले पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ, अनि बाहिर बस्न बाध्य हुन्छौँ ।’ उहाँले अगाडि भन्नुभयो, ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, किरा, बाघ भालुको आक्रमणबाट महिलाको ज्यान गएका घटना धेरै छन् तर यो देख्दादेख्दै पनि छाउगोठजस्तो कुप्रथाको अन्त्य हुन भने सकेको छैन ।’

ADVERTISEMENT

खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले पश्चिमी क्षेत्रमा छाउपडी समस्या विकराल बन्दै गएको भन्दै यसलाई अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अहिले पछिल्लो नयाँ युवा पुस्ताले परिवर्तन चाहे पनि पुरानो पुस्ताले अहिले सहजै मानेको छैन । महिनावारी हुँदा गोठमै बसाल्ने, देउता रिसाउँछन् भन्ने डरले घरमा बस्न नदिने छुवाछुत प्रथा मान्ने अझै चलन छ । यसलाई विस्तारै जनचेतनामूलक कार्यक्रमका साथै नीतिगत निर्णय गर्न जरुरी रहेको बताउनुभयो ।

सर्वाेच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशका बनाई लागू गर्न आदेश जारी गरेको थियो । अझै पनि परम्परगत सोचका कारण निकै समस्या हुँदै आएको छ । कपडाले बनाएको छाप्रोमा बस्दा सर्प, अन्य जनावरको समेत डर भए पनि सहेर बस्नुको विकल्प नभएको यहाँका महिलाहरूको गुनासो छ । जसकारण कर्णालीमा अझै छाउपडी प्रथा र बालविवाह कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *