छिमेकी युवाको आत्महत्या

Read Time = 16 mins

नमागिएको सल्लाह :

गएको असारको तेस्रो साता छिमेकका एकजना होनहार युवाले आत्महत्या गरेर प्राणको आहुति दिएको खबरले टोलबस्ती नै चमकन्न भयो । कलाकार बुबाका एकमात्र सन्तान कलाकार छोराका लागि भौतिक सुख सयलमा केही कमी भएको देखिँदैनथ्यो । पैतृक रूपमा नै सम्पन्न यस परिवारलाई घर, गाडी, खर्च गर्ने रकमको केही कमी थिएन । उसो त आत्महत्या गर्ने ३२ वर्षे युवाको शारीरिक व्यक्तित्व जो कोहीलाई पनि लोभ्याउने खालको थियो । झन् उमेर पुगेका महिलाका लागि त सपनाको राजकुमार नै थिए । हैसियत नहुनेका लागि उनी अपांगका लागि भीरमौरीको मह समान थिए । चाख्ने तीव्र चाहना छ भीरमा जान सक्ने अवस्था छैन ।

त्यस्तो आकर्षक शारीरिक व्यक्तित्व, आर्थिक रूपमा सबैपक्षबाट भरिपूर्ण अवस्था, हेर्ने छरछिमेकका लागि रहरलाग्दो र लोभलाग्दो पारिवारिक वातावरण, वास्तवमै ईश्वरले सवैथोक भरिपूर्ण बनाएर सही ठाउँमा जन्मदिएको भन्ने अवस्था थियो । बाटामा हिँड्नेहरु र उनलाई देख्नेहरूले भाग्य हुनु त यस्तो हुनु भनेर गम्दै पनि गए होलान् । बाहिरबाट हेर्दा वास्तवमै केही कमी थिएन । लक्ष्मीको राम्रो वास थियो । सानो उमेरमा कलाकारिता क्षेत्रमा ख्याति प्राप्त भइसकेको कारण सरस्वतीले पनि बास गरेकै थिइन् । बाहिरबाट त ती युवाको जीवन नमुना र लोभलाग्दो देखिन्थ्यो ।

तर, उनको कठोर उपाय अपनाएर आफैंलाई समाप्त गर्ने निर्णयले सबैको भ्रम टुटाइदियो । देखावटी रूपमा सबै चीज थियो तर उनका लागि केही थिएन । उनी यति निरीह बनिसकेका रहेछन् । बाँच्न पनि उनलाई बोझ भयो । संसार वाक्कलाग्दो भयो । संसारलाई हेर्न मन लागेन । उनको उपस्थितिले मात्र पनि बाँच्ने सहारा हुने बाबु आमाको मायाले पनि उनलाई रोक्न सकेन । सोचाइ त आयो होला म एक्लो सन्तानको अभावमा बुढा बाबुआमा कसरी यो संसारमा बाँच्लान् । जन्म, कर्म, शिक्षा, दीक्षा, व्यवसाय सबै पूरा भएपछि यो निर्णय लिँदा आफ्ना बाबुआमालाई कस्तो असहृय चोट पर्ला जस्ता अनेक कुरा त मनमा खेले होलान् ।

तथ्यांकगत रूपमा हेर्दा विश्वव्यापी रूपमा मृत्यको दशौं कारण आत्महत्या हो । कूल मृत्युको १.५ प्रतिशत यसले ओगटेको छ । विश्वव्यापी रूपमा यो संख्या युरोपमा बढिरहेको छ, यहाँ आत्महत्या मृत्युको दोस्रो कारण हो ।

तर, केहीले रोक्न सकेन । निर्णय लिन सहज थिएन, त्यसै भएर त केही बोतल बियरको नसाको सहारा लिएर कठोर निर्णयमा पुगे होलान् । दाहसंस्कारको समयमा आर्यघाटमा ताम्राकार परिवारको जेजस्तो शोकको कारुणिक चित्कार सुनियो, वास्तवमै हृदयविदारक थियो । सबै मलामीले महसुस गरिरहेका थिए–मृत्यु रोज्ने ती युवाले सारै नै गलत निर्णय गरेका थिए । मलामीमध्येका एकजना पाका र नाम चलेका कलाकार भन्दै थिए-अहिलेका केटाकेटीहरू अहिले झुण्डिन्छु अनि भरे फर्केर आउँछु भनेजस्तो सोचाइ राख्छन् । जीवनमा संघर्ष नै गर्नुपरेन, सानो दबाब पनि सहन गर्न सक्दैनन् ।

जुलाइको पहिलो साता हङकङमा जन्मेकी ख्यातिप्राप्त गायिकाले पनि ४८ वर्षको उमेरमा आत्महत्याको प्रयास गरिन् र कोमा अवस्थामा रहेकी उनको केही दिनमा मृत्यु भयो । यो घटनापछि चीनलगायत देशमा मानसिक स्वास्थ्यका बारेमा गम्भीर हुनुपर्ने बहस चुलिएको छ ।
आत्महत्या के हो ?

आफ्नो ज्यान आफैंले समाप्त पार्ने वा नियतवश मृत्यु रोज्ने काम आत्महत्या हो । सामाजिक तनाव, एकाकीपन, भावनात्मक आघात, विभिन्न किसिमका दुव्र्यवहार, आफन्तको मृत्यु, कानुनी समस्या, मुद्दा मामिला, आर्थिक समस्या, वैवाहिक जीवनमा आउने उतारचढाव, सामाजिक लज्जा, बेइज्जती जस्ता कारण मानिस आफैंले आफैंलाई समाप्त गर्ने निर्णयमा पुग्छ ।

पटक-पटक मर्ने इच्छा व्यक्त गर्नु, बाँच्ने सहारा नभएको, उपायरहित भएको जस्ता भावना व्यक्त गरिरहनु अरूको लागि बोझ भएको भावना आउँनु, साथीभाइ र आफन्तलाई बिदा हुन लागेको जस्ता सन्देशहरू सम्प्रेषण गर्नु, विभिन्न किसिमका सामाजिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न नसक्नु, मृत्युवरण गर्ने उद्देश्यले अत्यधिक गतिमा सवारी चलाउनु, सबैजसो समय मृत्यु बारे सोचिरहनु र कुरा गरिरहनु आत्महत्या गर्नुपूर्वका लक्षण हुनसक्छन् । व्यक्ति एकै छिनमा धेरै खुशी भएमा, छिनमै अति उदासी भएमा, बन्दुक वा विषालु औषधि खरिद गरेमा आत्महत्याबारे अनलाइनमा धेरै खोजी गरेमा, अपराधबोध र लज्जाबोधका कुरा गरेमा, मदिरा र औषधि बढी प्रयोग गर्ने गरेमा, खाने र सुत्ने बानीमा बदलाव आएमा, प्रतिशोधको कुरा गरेमा मानिस आत्महत्या उन्मुख रहेको अनुमान गर्न सकिन्छ । डिप्रेसनमा गएको अवस्थामा त त्यस्तो बिरामीलाई सघन निगरानीको अनिवार्यता रहन्छ ।

ADVERTISEMENT

तथ्यांकगत रूपमा हेर्दा विश्वव्यापी रूपमा मृत्यको दशौं कारण आत्महत्या हो । कूल मृत्युको १.५ प्रतिशत यसले ओगटेको छ । विश्वव्यापी रूपमा यो संख्या युरोपमा बढी रहेको छ, यहाँ आत्महत्या मृत्युको दोस्रो कारण हो । संसारमा प्रत्येक वर्ष लगभग सात लाखभन्दा बढी मानिस आत्महत्याको कारण मृत्यु वरण गर्छन् । हरेक ४५ सेकेण्डमा एकजना मानिसको मृत्यु आत्महत्याको कारणले हुन्छ । यो संख्या युवा वयका व्यक्तिमा बढी देखिएको छ । विकसित समाजमा यो बढ्दो छ । युरोप, अमेरिकामा महिलाभन्दा पुरुषमा चार गुणा बढी रहेको छ ।

यो हुनुमा शरीरको इम्युन प्रणाली केही हदसम्म कारण रहेको अध्यनहरूले बताएका छन् । यसको अलावा दिमागी प्रणालीमा रहेको प्रिफ्रन्टल कोर्टेक्सले महत्वपूर्ण भूमिका खेल्ने अध्यनहरूले बताएका छन् । केटाहरूमा यसको पूर्णविकास बीस वर्ष र एक्काइस वर्षको बीचमा हुनु समस्याको रूपमा रहेको छ । कारण हो- उक्त प्रणाली, योजना बनाउने, निर्णय गर्ने क्षमता, आत्मनियन्त्रणसँग सम्बन्धित छ । जब कि महिलामा यो प्रणाली दुई वर्षअगाडि नै विकसित हुने बताइएको छ । युरोप, अमेरिका जस्ता भौतिक रूपमा विकसित मानिएको समाजमा पुरुषभन्दा महिला आत्महत्यादर कम हुनुमा यो पक्ष एउटा कारण हुनसक्ने विश्लेषण गरिएको छ ।

पुरुषले आत्महत्या गर्न पासो लगाउने, बन्दुकले आफैंलाई हान्ने जस्ता कठोर उपाय अपनाउने गरेका छन् भने महिलाले विषालु औषधिको प्रयोग गर्ने गरेको पाइएको छ । नेपालमा सन् २०१५ देखि २०१९ सम्म २५ हजार ३१६ ले आत्महत्या गरेका छन् । हरेक दिन १४ जनाले आत्महत्या गर्ने गरेकोमा हालैका दिनमा यो संख्या बढेर १९ को हाराहारीमा पुगेको छ । यसमा १९ देखि ३५ वर्षकाको संख्या ६० प्रतिशत भन्दा बढी रहेको छ । सन् २०१५ को तुलनामा २०१९ मा ३३ प्रतिशतले वृद्धि भएको छ । आत्महत्याको तरिकामा पासो लगाएर झुण्डिने प्रतिशत ७०.१३ रहेको छ भने विष सेवन २६.५५ रहेको छ । एक लाखमा ९.७७ मृत्यु आत्महत्याको कारण भएको छ ।
आत्महत्या कम गर्न के गर्ने ?

अहिले त मनको अवस्थाको परीक्षण गर्ने प्रविधिको विकास भइसकेको छ । योग, ध्यान, प्राणायाम मात्र होइन यन्त्रको सहयोगले मनको अवस्थाको परीक्षण र उपचार गर्न सकिन्छ । खल्बलिएको मनलाई चिकित्सकीय उपचार र उपायबाट निको बनाउन सकिन्छ । यसमा सबैको ध्यान पुग्न जरुरी छ ।

सबै शरीरको अवस्थाको परीक्षण नियमित रूपमा गर्नुपर्दछ भन्ने चेतनाले अलिकति सचेत वर्गमा वर्षको एकपटक होलबडी चेकअप गर्नुपर्दछ भन्ने सचेतना बढेको छ । शरीर सँगसँगै मनको अवस्था के कस्तो छ भन्ने विषयमा सचेत वर्ग पनि बेखबर जस्तो छ । शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य महत्वपूर्ण छ भन्ने मानेर परिवारका सबै सदस्यको मनको परीक्षण समय समयमा गर्न सकियो भने यसले सकारात्मक परिणाम दिने निश्चित छ । अहिले त मनको अवस्थाको परीक्षण गर्ने प्रविधिको विकास भइसकेको छ । योग, ध्यान, प्राणायाम मात्र होइन यन्त्रको सहयोगले मनको अवस्थाको परीक्षण र उपचार गर्न सकिन्छ । खल्बलिएको मनलाई चिकित्सकीय उपचार र उपायबाट निको बनाउन सकिन्छ । यसमा सबैको ध्यान पुग्न जरुरी छ ।

स्वस्थ्य मनको महत्व र मानसिक स्वास्थ्यका बारेमा समयमा नै सामाजलाई जागरुक बनाउन पाठ्यपुस्तकमा नै मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक सामग्री राखिनु उपयुक्त हुन्छ । मनमा आएको समस्याको सबैभन्दा पहिले महसुस गर्ने भनेको परिवारका सदस्यहरूले हो । परिवारको कुनै सदस्यको आनीबानीमा ठूलो परिवर्तन आएको अवस्थामा त्यसको उपायको पहिचान गरी परिवारका सदस्यले उपचार गर्न सक्दछन् । कुनै अभाव, आघात, दुव्र्यवहार, वैवाहिक र पारिवारिक झमेला, सामाजिक पीडा कुनै मानसिक तनावको कारण दिक्दारीमा रहेको परिवारको सदस्यसँग समभाव राखेर कुराकानी गर्ने, उसको दुःखमा साथ दिने, ढाडस दिने कामले उसको बिग्रन लागेको वा भाँडिन लागेको मनलाई सान्त्वना दिन सकिन्छ र आत्महत्या जस्तो गलत निर्णय गर्नबाट रोक्न सकिन्छ ।

पछिल्लो पुस्ताले पहिलेको पुस्ताको जस्तो न्यूनतम आवश्यकता परिपूर्ति गर्न संघर्ष गर्नुपरेको छैन । जीवन सहजतापूर्वक अगाडि बढेको कारण समस्यालाई सहन गर्ने, महसुस गर्ने र समाधानको उपाय निकाल्ने सन्दर्भमा पनि कमजोर रहेको हुन सक्दछ । एक-दुई सन्तान जन्माउने कारणले पनि पुल्पुलिएर हुर्के बढेको अवस्था रहने भयो । अनि, सानो समस्या आउँदा पनि निर्णय गर्न नसक्ने कारणले युवायुवतीमा आत्महत्याको क्रम बढेको हुनसक्दछ । यसमा परिवारले पनि उसलाई संसारमा जिउने कला सिकाउन सचेत बन्नुपर्ने अवस्था छ ।

सरकारले मानसिक स्वास्थ्यलाई महत्व दिनुपर्ने, तदनुरूपको नीति, रणनीति, कार्ययोजना बनाउनुपर्ने, मानसिक स्वास्थ्य संस्था, चिकित्सक उपलब्ध हुनुपर्ने, आत्महत्या प्रतिरोधात्मक संरक्षणात्मक रणनीति अपनाउनुपर्ने, समस्यामा रहेकालाई आर्थिक सहयोग गर्नुपर्ने, समुदायमा सचेतना पुर्‍याउनुपर्ने, स्वास्थ्य बीमा नीतिबाट पीडितलाई लाभ पुर्‍याउनुपर्ने लगायत कामबाट आत्महत्यालाई कम गर्न सकिन्छ । सुरुको प्रसंग थियो छिमेकी होनहार युवाको आत्महत्याको । उनको आत्महत्याको कारणबारे सम्बन्धित निकायले वैज्ञानिक अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानबाट त्यस घटनापछि कोही जिम्मेवार रहेको अवस्थामा कानुन बमोजिम कारबाही हुने नै छ ।
यस्तो कारबाहीले भोलिका दिनमा यस्ता घटना नहुन्, कानुनले जो कोही अपराधी भए पनि छोड्दैन भनेर समाजमा सन्देश प्रवाह गर्ने हो । त्यसो गरिनु पनि पर्छ । दोषीलाई कारबाही भएको अवस्थामा ताम्राकार परिवारलाई सामान्य राहत त हुनेछ । तर, यो कुरा पक्का हो कि- उनको बुढेसकालको सहारा छोरो फर्कने छैन । यस्तो बज्रपात कसैमाथि र कुनै व्यक्तिमाथि नपरोस् । सानु ताम्राकारलगायत ताम्राकार परिवारप्रति हार्दिक समवेदना । मरेको आत्माले शान्ति पाओस् भन्ने त छँदैछ-आर्यघाटमा पुराना कलाकारले भनेजस्तो जीवन अहिले पासो लगाएर भरे फर्कने चाहिँ होइन है । नसाले अर्धचेत अवस्थामा पुगेको मनले पनि सोच्न हेक्का राखौं है- जीवन रक्षा गर्न र भोग्न नजानेका मनुवाहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. राम्रा सुझावहरु।के सम्बन्धित सबैको यसतर्फ जाला?

रिलेटेड न्युज