काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिसर्जनमा फेरि व्यवधान सिर्जना भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका र धुनीबेँसीका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् । विगतमा पटक-पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् । सोमबार बिहानै स्थानीय र जनप्रतिनिधिसहितको टोलीले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई बञ्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा अवरोध गरेका छन् ।
स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका फोहोरका कन्टेनर बीचबाटामै रोकिएका छन् । ककनी-३, ५ र धुनीबेँसी-१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि फोहोर फाल्न गएका गाडीहरू रोकिएका हुन् । स्थानीयको अवरोधका कारण ६० वटा कन्टेनर रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरूले पटक-पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनुपरेको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताउनुभयो । अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि स्थानीय आक्रोशित बनेको उहाँले बताउनुभयो ।
केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरूलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर, स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर बिसर्जन गर्न नदिने अडान लिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको उनीहरूको आरोप छ । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनी लगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उहाँको भनाइ छ ।
एक महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्ष समेतको बैठक भएको थियो । बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारुकता नदेखाएको उहाँले बताउनुभयो । अब ‘वार कि पारको’को आन्दोलन गर्ने उहाँको भनाइ छ । बजगाईंले अहिलेको माग भनेको बञ्चरे आसपासका क्षेत्रको अधिग्रहण गर्ने र फोहोरबाट मानिसलाई अलग गर्नेबाहेक नरहेको बताउनुभयो ।
उनीहरू ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे भन्दै आन्दोलनमा उत्रिएका हुन् । ‘फोहोररहित मानव, मानवरहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन,’ लगायत नारासहित फोहोरमैला पीडित नागरिक आन्दोलनमा उत्रिएका हुन् ।
मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहोरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राख्नुभएको थियो । मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।
जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताउनुभयो । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो । ‘काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौँ,’ मन्त्री मोदीले भन्नुभयो, ‘तपाईंले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts