उपत्यकाका वकिलको धर्नाले देशभरका अदालतमा बहस ठप्प

बारको प्रश्न- ‘प्रधानन्यायाधीश आफैँले तयार गरेको प्रतिवेदन फुलकोर्टमा राख्न केले छेक्यो ?’

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 7 mins

काठमाडौं । जिल्ला अदालत ललितपुर अगाडि उपत्यकाका वकिलहरूले धर्ना दिएका छन् । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित पूर्वअध्यक्ष, पूर्व-महान्यायाधिवक्ता सहितको टोलीले अदालत अगाडि करिब साढे २ बजेसम्म धर्ना दिएका हुन् । आन्दोलनका कारण सोमबार पनि देशभरका अदालतमा बहस ठप्प भयो ।

गत असार १३ गते अदालतमै कर्मचारीलाई कानुन व्यवसायीले कुटपिट गरेको भनी आरोप लागेको थियो । तर, कानुन व्यवसायीहरूले नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन् ।

बुधबार अपराहृन अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई वकिलले कार्यालयमै कुटपिट गरेको भनिएको उक्त घटनामा पक्राउ परेका वकिल अमिर लामिछानेलाई आइतबार प्रशासनले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर, लामिछानेविरुद्ध अदालतमा पनि अवहेलनाको मुद्दा दायर भएको छ ।

नासु प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म कामकाज ठप्प पारेका थिए । बारले विज्ञप्ति जारी गर्दै रिहा नगरे सोमबार देशभरका अदालतमा बहस नगर्ने चेतावनीसमेत दिएको थियो । सोही चेतावनीविरुद्ध सोमबार ललितपुर अदालतलगायत देशभरका अदालत प्रभावित भएका हुन् । विरोध प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएको भन्दै अविलम्ब खारेज हुनुपर्ने मागसमेत राखेका छन् ।

कर्मचारीले घुस माग्दा नदिएपछि झुट्टा आरोप लगाएको ललितपुर बारका अध्यक्षको दाबी
ललितपुर बार अध्यक्ष राम श्रेष्ठले सेवा लिन जाने कानुन व्यवसायीमाथि नै मुक्का प्रहार गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘लेनदेनको कुरा उहाँले गर्नुभएको छ । त्यसमा सहमत नभएपछि उल्टै हाम्रो कानुन व्यवसायीमाथि यो घटना बाहिर आएको अवस्था छ । यो घटनालाई तत्काल न्यूनीकरणका लागि हामीले प्रशासनसँग अदालतसँग सम्पर्कको कोसिस गर्यौं । तर, त्यो दिन सम्पर्क हुन सकेन । १५ गते हामीले अदालत प्रशासन, बार एसोसिएसन, स्वयम् पीडितसँग बसेपछि सहमतिनजिक पुग्दै थियौँ ।’ प्रेमिकालाई बाहिरको व्यक्ति आएर लगेपछि कुरा बिग्रिएको उहाँको भनाइ छ ।

नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानुन व्यवसायीहरूले सोमबार देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगरी आन्दोलनमा उत्रिएका हुन् ।

ADVERTISEMENT

अदालतलाई बार अध्यक्ष घिमिरेको चुनौती
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतमा घुस खाने कर्मचारीलाई अब कसैले बचाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले भ्रष्टाचारमा लिप्तहरू बार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था बन्ने बताउनुभएको हो । ललितपुर जिल्ला अदालत परिसरमा आयोजित विरोध सभामा बोल्दै बार अध्यक्ष घिमिरेले हरेक बार इकाइमा भिजेलेन्स ग्रुपसमेत खडा गरिने बताउनुभयो । ‘त्यो ग्रुपले वाच गर्नेछ । तपाईं जोगिएको छु नभन्नुहोला, कतिबेर हाम्रो क्यामेराले तपाईंलाई पक्रिसक्छ । भ्रष्टाचारीलाई कसले बचाउँदो रहेछ, हामी पनि हेर्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले अब कुनै पनि नाममा कर्मचारीलाई पैसा नदिन र पैसा मागे खबर गर्न कानुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । ‘उहाँहरूलाई तलबले मात्र नपुगे हामीसँग आउनुस्, हामी दिन्छौँ’, उहाँले भन्नुभयो ।

बार अध्यक्ष घिमिरेले सक्षम व्यक्तिलाई न्यायाधीश नियुक्त नगरे न्याय परिषद्विरुद्ध पनि आन्दोलन गरिने बताउनुभयो । ‘अदालतमा न्यायाधीशको बढुवा हुने होइन, नियुक्त हुने हो । सक्षम व्यक्तिलाई न्यायाधीश नियुक्त गरिनुपर्छ’, कानुन व्यवसायीलाई न्यायाधीश बन्न दिनुहुन्न भन्ने पर्चा भेटिएको भन्दै उहाँले भन्नुभयो । कानुन व्यवसायीले वार्षिक एक अर्बभन्दा बढी कर तिरिरहेको दाबी गर्दै कर्मचारीलाई कानुन व्यवसायीलाई करको दायरामा ल्याउनुपर्छ भन्ने अधिकार नभएको उहाँले बताउनुभयो ।

त्यस्तै, अध्यक्ष घिमिरेले न्यायालय शुद्धीकरणका लागि तयार भएको प्रतिवेदन फुलकोर्टमा नराखेको भन्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न गर्नुभएको छ । सोमबार जिल्ला अदालत ललितपुरमा धर्ना दिने क्रममा उहाँले न्यायालयको विकृति रोक्न कसले छेकेको ? भनी प्रश्न गर्नुभएको हो ।

ललितपुर जिल्ला अदालत परिसरमा आयोजित विरोध सभामा बोल्दै उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशज्यू, तपाईं न्यायाधीश हुँदा तपाईंको नेतृत्वमा जुन प्रतिवेदन बनेको थियो जसमा नेपाल बार र सर्वोच्च बारको पनि प्रतिनिधित्व भएको थियो । त्यो प्रतिवेदन कार्यान्वयनका लागि नेपालको सर्वोच्च अदालतको फुलकोर्टमा किन त्यो प्रतिवेदन राख्नुहुन्न ? किनभने त्यो प्रतिवेदनले भ्रष्टाचारको विरोध गरेको छ । त्यो प्रतिवेदनले न्यायलयको सुधारको कुरा गरेको छ । त्यो भ्रष्टाचारविरोधी प्रतिवेदनलाई अंगीकार गर्नलाई इमानदार न्यायकर्मीलाई केले छेक्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *