राजनाथ सिंहले इण्डियाको गृहमन्त्री हुँदा भैरहवा नजिकको इण्डियन शहर महाराजगञ्जमा आमसभालाई सम्बोधन गर्दै भनेका थिए, नेपालमा हाम्रा एक करोड नागरिक बस्छन्, त्यसमा साठी लाखले नागरिकता पाइसकेका छन् र अब चालीस लाखले नागरिकता पाउन बाँकी छ । नागरिकता कानुन आइसकेपछि अहिले सरकारी भनाइ आएको छ, अहिलेको नागरिकता कानुननले छत्तीस लाखले नागरिकता पाउनेछन् । दुबैको भनाइ करिब करिब मिल्दोजुल्दो छ । तीन करोड नेपालीमध्ये एक करोड इण्डियन नागरिकले नेपाली नागरिकता प्राप्त गर्ने भए । ललिता निवास काण्डका एकजना आरोपी न्यायाधीश कुमार रेग्मीको इजलासले किन नागरिकता विधेयकलाई स्वीकृति दिए भन्ने घाम जस्तै छर्लङ्ग छ ।
यो नागरिकता कानुनले अझै कति लाख इण्डियनलाई नागरिकता दिने हो भविष्यले बताउला । अभिभावकहीन बालबालिकालाई नागरिकता दिने प्रावधानले खुल्ला सीमाको दुरुपयोग गर्दै लाखौं इण्डियनहरूले नागरिकता पाउनेछन् । सिन्दुरसँग नागरिकता साट्नेहरूले बाँकी इण्डियनहरुलाई पनि नागरिकता पाउन सुलभ पार्नेछ । जन्मको आधारमा वंशजको नागरिकता पाउने प्रावधानले आदिकालदेखि नेपालमा रहेका नेपाली र विदेशी नेपालीमा कुनै अन्तर राख्ने छैन । नेपाली कांग्रेसलगायत दलहरूले पनि यसलाई साथ दिइरहेका छन् । रवि लामिछाने र उनको दल यस बारेमा एक शब्द बोल्दैन ।
पश्चिममा गोर्खाली सेनाले सिरमौर र सिमला कब्जा गरेपछि उमरसिंह थापाको नेतृत्वमा काँगडा कब्जा गरेको उल्लेख छ । उनीहरूकै भनाइ अनुसार पश्चिममा टिष्टा पार गरी पश्चिम सिक्किमसम्म गोर्खा साम्राज्य भएको उल्लेख छ ।
अर्कोतर्फ बालेन शाहले आफ्नो कार्यालयमा विशाल नेपालको नक्सा टाँसेपछि यो मुद्दा इण्डिया हुँदै विश्वव्यापीकरण भएको छ । तर कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिन नसकेको अवस्थामा तत्कालै सुगौली सन्धिबाट गुमेका भू–भाग नेपालले फिर्ता पाउनेछ भन्ने आश छैन । तर, नेपाल भारतमैत्री सन्धि १९५० को धारा ८, ब्रिटिशले इण्डिया छोडेपछि उक्त भू–भाग स्वतः नेपालको हुने प्राकृतिक नियम र सुगौली सन्धिमा राजाको सही वा लालमोहर न लागेकाले उक्त सन्धि अवैध मानिने सम्भावना भएकोले समग्र प्रमाण जुटाई यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेमा उक्त भू–भाग फिर्ता पाउने सम्भावना पनि छ ।
तर, अहिले सार्वजनिक भएको नक्सालाई आधिकारिक मान्न सकिने अवस्था छैन । योगी नरहरिनाथले आफ्नो खोज, अनुसन्धान र गवेषणाले तयार पारेको नक्सालाई हामीले आधिकारिक मान्नुपर्छ । इण्डियन इतिहासकारहरुको भनाइ अनुसार पश्चिममा गोर्खाली सेनाले सिरमौर र सिमला कब्जा गरेपछि उमरसिंह थापाको नेतृत्वमा काँगडा कब्जा गरेको उल्लेख छ । उनीहरूकै भनाइ अनुसार पश्चिममा टिष्टा पार गरी पश्चिम सिक्किमसम्म गोर्खा साम्राज्य भएको उल्लेख छ । फणिन्द्र नेपालले भने झैँ बंगलादेशको दिनाजपुर र रंगपुर गोर्खाली सेनाले कब्जा गरेको कतै उल्लेख छैन ।
इतिहासमा एउटा सानो गल्तीले ठूलो मूल्य चुकाउनुपर्छ । त्यस बेला गोर्खाली सेनाले पञ्जाबको महाराजा रणजीत सिंहलाई गोर्खाली र पञ्जावी सेना मिलेर अंग्रेजलाई एशियाबाट लखेट्ने जुन प्रस्ताव राखेका थिए, उनले गोर्खालीले पञ्जाव खाने भयले गोर्खालीको प्रस्ताव नमान्दा अफगानिस्तानसम्म पुगेको पञ्जाव रणजित सिंहपछि समाप्त भएर अंग्रेजको अधीनमा गए । भीमसेन थापाले समयमै नालापानीमा सेना पठाएको भए शायद आज नेपालको इतिहास अर्कै हुने थियो । त्यस बेलाको शक्तिशाली गोर्खाली, पञ्जावी र मराठी मिलेको भए इण्डिया अंग्रेजको गुलाम हुनुपर्ने थिएन । इण्डियन इतिहासकार अनुसार पश्चिमको युद्धमा गढवालीहरूले पनि गोर्खाली सेनालाई साथ दिएको भनाइ छ । बलभद्र कुँवर रणजित सिंहको सेनामा भर्ना हुन जाँदा उनीसँग गढवालीहरू पनि सँगै गएको उनीहरूको भनाइ छ ।
रणजित सिंहको मुत्युपछि उनको कान्छो छोरा दिलिप सिंह पाँच वर्षको उमेरमा पञ्जावको महाराजा बने । रणजित सिंहकी पत्नी जिन्दो कौरले बालकलाई गद्दीमा राखेर राजकाज चलाइन् । दरबारमा गुटबन्दी भयो । सन् १८४६ मा अंग्रेजसँग युद्धमा हारेपछि सतलज नदीको बाँया क्षेत्र र जालन्धर दोयाब अंग्रेजलाई दिनुका साथै डेढ करोड रुपैयाँ हर्जाना बुझाउनु पर्यो । रानीको संरक्षत्व खोसेर सिखहरूको परिषद्लाई दिइयो । परिषदले दिलिप सिंह सरकारलाई अंग्रेजविरुद्ध दोस्रो युद्ध गर्न आदेश दिए ।
सन् १८४८ को युद्धमा अंग्रेजले पूरै पञ्जाव आफ्नो अधिनमा लिएर दिलिप सिंहलाई अपदस्थ गर्यो । उनीसँग कोहिनुर हीरा खोसेर अंग्रेजले महारानी भिक्टोरियालाई बेलायत पठायो । दिलिप सिंहलाई आमाबाट अलग गरेर फतेहगढ ल्याएर अंग्रेज परिवारको जिम्मा दिइयो । त्यहाँ उनलाई पश्चिमा शिक्षा, संस्कृति र रहनसहन सिकाइयो, बाइबल पढ्न दिइयो । पछि उनी सिख धर्म त्यागेर ख्रिष्टान बने । उनलाई बेलायत पठाइयो । त्यहाँ उनले दुईवटी ब्रिटिश महिलासँग विवाह गरे । रानी भिक्टोरियासँग उनको भेट गराएपछि रानीले उनलाई माया गर्न थालिन् । पछि उनी आमालाई भेट्न कोलकाता आए । आमा जिन्द कौर यसअघि नै अंग्रेजलाई छक्याएर भागेर नेपाल आएकी थिइन् ।
छोरो कोलकाता आएको खबर पाएपछि उनी छोरालाई भेट्न गइन् र सुरुदेखिको सबै वृत्तान्त बताउँदै अंग्रेजबाट पञ्जाव फिर्ता लिन युद्धको तयारी गर्न भनिन् । आमालाई भेटेर दलीप सिंह लण्डन फर्किए । उसले पञ्जाबलाई स्वतन्त्र बनाउन योजना बनाए र रुसको जारलाई अंग्रेजलाई इण्डियाबाट लखेट्न सहयोग गर्न पत्र लेखे तर जारले पत्रको जवाफ दिएनन् । अन्त्यमा सन् १८९३ मा ५५ वर्षको उमेरमा उनको मृत्यु भयो ।
विदेशी शक्तिलाई आफ्नो मालिक ठानेपछि परिणाम के हुन्छ उदाहरण गढवालका राजा सुदर्शन शाह हुन् । सन् १८०३ मा अमरसिंह थापा र हस्तिदत्त चौतरियाले गढवाललाई नेपालमा एकीकरण गरेपछि राजा प्रद्युम्न शाह परिवार तथा बचेखुचेका सेना लिई हरिद्वार पलायन भए तर गोर्खाली सेनाले उनलाई त्यहाँसम्म पिछा गर्यो । प्रद्युम्न शाहले आफ्ना पाँच वर्षका छोरा सुदर्शन शाहलाई आफ्ना गुप्तचरसँग सहरानपुरको राजा जोसँग उनको फुपूतिरको सन्बन्ध थियो, पठाए । प्रद्युम्न शाह भाग्दै देहरादुन पुगे । त्यहाँ गोर्खाली सेनाले १४ मई १८०४ मा खुदबुडाको चौरको युद्धमा उनलाई मरे ।
इण्डियासँग गरिएका गोप्य सन्धि सम्झौता, खुला समझौताहरू र नागरिकता विधेयकले देश कमजोर बन्दै गइरहेको छ । शासक वर्गका लागि देश उपयोगको वस्तु भएको छ । देशका युवा जनशक्ति शिक्षाको नाममा कि त पलाएन वा श्रमदास भएर विदेश जान बाध्य छन् ।
सुदर्शन शाह बीस वर्षको भएपछि उनी अंग्रेजहरूको सम्पर्कमा आएर गोर्खाली सेनाविरुद्ध लड्ने प्रस्ताव राखे । उनीसँग आर्थिक अभाव भयो । यसअघि सुनको राजसिंहासन, स्वर्णाभूषण तथा बद्रीनाथ र केदारनाथ मन्दिरमा चढाएको मनका मन सुन प्रद्युम्न शाहले पहिल्यै बेचिदिएका थिए । यसैबीच सुगौली सन्धि भयो । नेपालले महाकालीपारिका सबै भूभाग त्याग्नुपर्यो । सुदर्शन शाहलाई गढवालको राजा बनाउनुअगाडि अंग्रेजले सुदर्शन शाहसँग हर्जनाबापत पाँच लाख रुपैयाँ माग्दा उनले दिन सकेनन् । यसको सट्टामा उनले अलकानन्दाको पूर्वी भाग अंग्रेजलाई दिए । जसलाई ब्रिटिस गढवाल भनियो । सुदर्शन शाहले राजधानी श्रीनगर त्यागेर टिहरीलाई राजधानी बनाउनुपर्यो । सुदर्शन शाहको मृत्युपछि अंग्रेजले पूरै गढवाल आफ्नो कब्जामा लियो । यसबाट हामीले पाठ सिक्नुपर्छ ।
दिलिप सिंहका पिताले गोर्खाली सेनाको अनुरोधलाई मानेको भए आज नेपाल र पञ्जावको इतिहास र भूगोल अर्कै हुनेथियो । शासकवर्गको अदूरदर्शी निर्णय र सानो गल्तीले देशको इतिहास समाप्त पनि हुन सक्छ र ठूलो भूभाग गुमाउनु नै पर्नसक्छ । हाम्रो र पञ्जावको इतिहास हेरे पुग्छ । अहिले देशको अवस्था अत्यन्त नाजुक छ । शासकवर्गले देशलाई लुटेर हरिकंगाल बनाइसकेका छन् । देशको धन बाहिर पुगिसकेको अवस्था छ । यहाँका शासक वर्गले मुलुकलाई विदेशी शक्तिकेन्द्रको खेल मैदान बनाएका छन् । इण्डियासँग गरिएका गोप्य सन्धि सम्झौता, खुला समझौताहरू र नागरिकता विधेयकले देश कमजोर बन्दै गइरहेको छ । शासक वर्गका लागि देश उपयोगको वस्तु भएको छ । देशका युवा जनशक्ति शिक्षाको नाममा कि त पलाएन वा श्रमदास भएर विदेश जान बाध्य छन् ।
सेनाको भर छैन । राजा केवल मन्दिरहरूको दर्शन गर्ने र जनताको अभिवादन लिएर आफ्नो आक्रोस पोख्नेबाहेक केही गर्न सक्ने अवस्थामा छैनन् । राजपरिवारका अन्य सदस्यहरूलाई राजसंस्थाको पुनस्र्थापनासँग त्यति चासो भएको देखिँदैन । न त यो नयाँ राजपरिवारको पिँढीमा आफ्नो धर्म, संस्कृति र सभ्यताप्रति पनि त्यति मोह देखिन्छ । जनता स्वयं जागेर यो विद्रोह नगरे यो देशको स्वतन्त्रताको रषा हुने अवस्था देखिँदैन ।
बाजपेयी हुन कि मोदी वा अन्य कोही सबै आफ्नो मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघबाट परिचालित तथा निर्देशित छन् र राष्ट्रिय स्वयंसेवक संघको लक्ष्य कथित अखण्ड भारत हो । जुन अखण्ड भारतमा नेपाल आदिकाल देखि थिएन । सनातन धर्मको तथा वेद, पुराण, स्मृतिहरूको जन्मस्थान, विभिन्न देवी देउता, ऋषिमुनिहरूको जन्म तथा कर्म स्थान, शिवशिवाको वासभूमि यो पवित्र भूमिलाई अखण्ड भारतको अंश बनाउन पाए उनीहरूको हिन्दू राष्ट्रको नारा पुष्टि हुने भएकोले पनि उनीहरूको गिद्धेदृष्टि नेपालमाथि छ ।
इण्डियामा जुनसुकै दलको सरकार बने तापनि त्यो सधैं नेपालविरोधी नै हुन्छ र राष्ट्रघाती शासकहरू र व्यवस्थालाई यहाँ स्थापना गरी राखे उनीहरूको कुलक्ष्य पूरा हुन सजिलो हुन्छ । त्यसैले उनीहरू कहिल्यै पनि यहाँ व्यवस्था र राष्ट्रघाती शासकहरूलाई परिवर्तन गर्न चाहँदैनन् । बरू आफू अनुकूल को बढी छ उसैलाई सत्तामा ल्याउने हुन् । सचेत तथा देशभक्त जनता नै यस्तो शक्ति हो जसले यो व्यवस्था र राष्ट्रघाती शासकवर्गलाई धूलधूसरित गर्न सक्छ र त्यसका लागि एउटा सक्षम तथा देशभक्त नेतृत्वको आवश्यकता छ ।






