प्रविधिमार्फत युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 15 mins

रामशरण तिमल्सिना
उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी
कृषिमा युवा आकर्षण छैन, कृषिमात्रै नभई अन्य व्यवसायमा पनि खासै आकर्षण देखिँदैन, धेरैजसो युवाहरूको एउटै मिसन हुन्छ, विदेश । विदेशकै सरह सेवासुविधा दिए पनि उनीहरू नेपालमै बसेर काम गर्न तयार हुँदैनन् । किनभने देशमा महोल नै त्यस्तै बनिसकेको छ । तर स्वदेशमै कृषिमा केही गरेर देखाउन खोज्ने युवा जमात पनि छ । जुन जमात पुरानो प्रविधि हलो-कोदालो नभई आधुनिक कृषि प्रविधिमार्फत कृषि र किसानसँग जोडिन चाहन्छ । यस्तै जमात समेटेर कृषि केही गर्ने सोचका साथ जन्मिएका हो, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड । जसले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत व्यावसायिक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषि मूल्य शृंखला व्यवस्थापन (भ्यालु चेन मेनेजमेन्ट) सवल बनाई कृषिलाई मर्यादित र प्रतिस्पर्धी पेशाका रूपमा विकास गरी लाखौं युवालाई रोजगारी तथा स्वरोजगारी अवसर सिर्जना गर्दै दिगो कृषि अर्थतन्त्रको विकास गर्ने लक्ष्य लिएको छ । कृृषिका सबै क्षेत्र समेट्ने गरी कम्पनीले मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ लाइभष्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी, मुक्तिनाथ ट्रेडिड सहायक कम्पनीका रूपमा स्थापना गरेको छ ।

मुक्तिनाथ कृषि कम्पनी के गर्दैछ ?
मुक्तिनाथ कृषि कम्पनी कृषिलाई संस्थागत गर्ने उद्देश्यका साथ स्थापना भएको हो । तर कम्पनीको पहिलो आधार भनेको सहकारी हो । सहकारीबाटै कृषि अभियान सुरु भएको थियो तर सहकारीले सबै वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएपछि मुक्तिनाथ विकास बैंक स्थापना भयो । विगतमा वित्तीय पहुँच नहुँदा कृषि गर्न सहज थिएन । अहिले वाणिज्य बैंकहरूले अनिवार्य १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने व्यवस्था भयो । त्यतिबेला मुक्तिनाथ विकास बैंकले किसानलाई पैसा दिन थाल्यो तर मल, बिउ, प्रविधि, बजार छैन । पैसामात्रै दिएर कृषिको विकास नहुने रहेछ, किसानका लागि गैरवित्तीय सेवा चाहिने रहेछ भन्ने महसुस गरेर मुक्तिनाथ विकास बैंकका लगानकर्ताले कृषि कम्पनी सोच बनाउनुभयो । सोही सोचका कारण यो कम्पनी जन्मिएको हो । बैंकले गैरवित्तीय क्षेत्रमा लगानी गर्न नपाउने भएकाले ९०१ जना लगानीकर्ताको लगानीमा कम्पनी स्थापना भएको हो । कम्पनीले आगामी साउनमा सर्वसाधारणका लागि पनि १४ लाख कित्ता शेयर जारी गर्दैछ ।

भनेपछि किसानलाई चाहिने सबै सेवा दिने गरी कम्पनी स्थापना भयो ?
समग्रमा भन्नु पर्दा कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने सोचका साथ कम्पनी स्थापना भएको हो । कृषिको जुन क्षेत्रमा ग्याप छ, त्यसमै काम गर्ने । उत्पादनमा ग्याप छ भने उत्पादनमा जाने तर हामी आफैं उत्पादनमा जाने होइन, हामी कर्पोरेट प्रोडक्सनमा जाँदैनौ । किसानमार्फत, सहकारीमार्फत उत्पादनमा जाने हो, त्यसका लागि हामीले किसानलाई आवश्यक सेवासुविधा उपलब्ध गराउने हो, उत्पादित वस्तुको वाइव्याक ग्यारेन्टी गर्ने हो । किनभने हालसम्म कृषिमा देखासिकीमा काम गर्ने धेरै भए, अध्ययनविना गरिएका त्यस्ता कृषि व्यवसाय खासै सफल देखिएनन् । साना व्यवसायीलाई मध्यम व्यवसायीले विस्थापित गर्ने, मध्यम व्यवसायीलाई ठूला व्यवसायीले विस्थापित गर्ने अवस्था देखियो । हिजो हामीले उत्पादन, उत्पादन भन्यौं, उत्पादन भयो तर बजार अभावमा किसानको उत्पादन खेरजाने अवस्था आयो । उत्पादकहरू विस्थापित हुन थाले ।

उपभोक्ता हितका क्षेत्रमा पनि काम गर्नुहुन्छ ?
किसान, उत्पादन, बजार, उपभोक्तालगायत कृषिमा जोडिएका सबै क्षेत्रमा काम गर्ने हो, क्रमिक रूपमा गर्दै जाने हो । हामी खाद्य साक्षरता कार्यक्रम सञ्चालन गर्नेछौं । खाद्य साक्षरता कार्यक्रम सञ्चालन गरेपछि खाद्यान्नमा विषादी प्रयोग, गुणस्तर, मूल्यलगायत समस्या आफैंै निरुत्साहित हुँदै जान्छन् भने खानेबानीमासमेत परिवर्तन हुँदै जान्छ । खान नपाएरभन्दा खान नजानेर मानिसहरूमा विभिन्न किसिम स्वास्थ्य समस्या आइरहेका छन् । चामलको भात नै खानुपर्छ भन्ने सोच छ, त्यो पनि कस्तो व्यक्तिले कति मात्रामा खाने भन्ने हुन्छ । तर कुनै मापदण्ड छैन, जसले विभिन्न स्वास्थ समस्या आइरहेका छन् । नीतिनियम बनाएरमात्रै हुँदैन । बैंक वित्तीय संस्था, स्कुल कलेजमार्फत खाद्य साक्षरता अभियान सञ्चालन गरियो भने यस्ता कुरामा छिटो परिवर्तन ल्याउन सकिन्छ । हामी खाद्य साक्षरता कार्यक्रम सोही मोडलमा गर्न खोज्दैछौं ।

अहिले कम्पनीका कति किसान जोडिएका छन् ?
हालसम्म कृषक समूह, सहकारी गरी दुई लाख किसान जोडिएका छन् भने हामीले यस वर्ष ११ हजारलाई तामिल दिएका दिएका छौं । हामी तीन सय ५५ डिलर, डिष्टिव्युटर्स एग्रोभेटसँग जोडिएका छौं । ५२ सहकारी संस्थाले हामीसँग सम्झौता नै गरेर काम गरिहेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष गरी पाँच लाखभन्दा बढीसँग जोडिसकेका छौं ।

कम्पनीमा लगानी चाहिँ कति हो ?
अधिकृत पुँजी एक अर्ब, ५६ करोड चुक्ता पुँजी हो । साधारण शेयर बिक्रीमार्फत सर्वसाधारण नागरिकको लगानी १४ करोड गरी ७० करोड चुक्ता पुँजी पुग्नेछ । यसअघि कृषिमा यति ठूलो लगानी गर्ने कम्पनी थिएनन् । हामीले सुरु गरेपछि अहिले केही कम्पनी आउनेक्रम सुरु भएको छ ।

ADVERTISEMENT

किसान र सहकारीमा वित्तीय लगानी चाहिँ कति गर्नुभएको छ ?
प्रत्यक्षरूपमा वित्तीय लगानी त हामी गर्दैनौं । किसान तथा उद्यमीहरूलाई व्यावसायिक योजना बनाइदिन्छौं । सोही योजनाअनुसार उहाँहरूले बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउनुहुन्छ । त्यसो त मुक्तिनाथ बैंकले कुल लगानीको ३० देखि ३५ प्रतिशत कृषिमै लगानी गरिरहेको छ । मुक्तिनाथ बैंकले लघुवित्त पनि सञ्चालन गरेको छ । लघुवित्तको मुख्य लगानीको क्षेत्र भनेको कृषि हो । यसरी प्रत्यक्ष–अप्रत्यक्षरूपमा मुक्तिनाथ विकास बैंक र लघुवित्त गरी २५ देखि ३० अर्ब लगानी कृषि गएको देखिन्छ ।

कृषि नै गर्छु भनेर आउने चाहिँ कति छन् ?
आउनुहुन्छ तर अपेक्षानुसार चाहिँ छैन । कसैले किसानमा बढी महत्वाकांक्षा जगाइदिएका कारण पनि यस्तो भएको हुनसक्छ । अन्य विकसित मुलुकको कृषि देखेर आउनेहरूले यहाँका किसानलाई बढी महत्वाकांक्षी बनाइदिए । जस्तै किबी केजीकै छ÷सात सयमा बिक्री हुन्छ भनियो, त्यही महत्वाकांक्षासाथ नेपालमा धेरै किसानले किबीखेती सुरु गरे तर सातसय रुपैयाँ मूल्य पाएनन्, अनि किसानले मूल्य नै पाइएन भन्ने सबैतिर हल्ला भयो । मूल्य त बजारले तय गर्ने हो, कहिले घट्छ, कहिले बढ्छ । किबी एउटै बोटमा यति धेरै फल्छ कि ५० रुपैयाँ केजीमा बिक्री गर्दा पनि किसानलाई घाटा छैन ।

कृषिमा युवा आकर्षण हुन नसक्नुको कारण के होला ?
पहिलो त हाम्रो शिक्षा प्रणाली हो । पहिलेदेखि नै ‘पढिनस् भने हलो जोतेर खालास्’ भन्ने गरियो । कृषि भनेकै नपढ्नेले गर्ने पेशा हो भन्ने मेन्टालिटी विकास गरियो । जो युवा पढेका छन्, उनीहरू हृवाइट कलर जबको खोजीमा लाग्न थाले । अहिले डिपार्टमेन्टल स्टोरहरूमा १५ हजार जागिर खानजाने तर एग्रोभेटमा ३० हजार दिन्छुभन्दा काम नगर्ने प्रबृत्ति छ । खाने त दुवैतिर जागिरै हो । हामीले रिसर्चका लागि फार्म हाउस सञ्चालन गरेका छौं, ४० दिन्छुभन्दा पनि काम गर्न चाहँदैनन् । त्यसैले युवालाई कृषितर्फ आकर्षित गर्न पहिलो कुरा प्रविधि दिनुपर्छ । अहिलेको युवा जमात प्रविधिमा काम गर्न रुचाउँछ । त्यही भएर पहिले युवालाई प्रविधिमा ल्याउनुपर्‍यो, कृषिलाई मर्यादित बनाउनुपर्‍यो, संस्थागत बनाउनुप¥यो, सामाजिक सुरक्षामा जोड्नुपर्‍यो, प्रतिस्पर्धी हुनुपर्‍यो । युवाहरू प्रतिस्पर्धा गर्न चाहन्छन् । त्यसैका लागि हामीले मुक्तिनाथ उद्यमशिलता केन्द्र पनि स्थापना गरेका छन् । हामीले युवाका लागि तीन दिनदेखि तीन महिनासम्मको कोर्ष डिजाइन गरेका छौं । उनीहरूलाई कृषिसम्बन्धी सबै कुरा सिकाउँछौं । कुनै युवा व्यवसायमा सिक्न, टिक्न र व्यवसाय गर्न सातवटा कुरा चाहिन्छ । पहिलो आइडिया, दोस्रो पैसा, तेस्रो व्यवस्थापन, चौथो प्रविधि उपकरण, पाँचौं दक्ष जनशक्ति, छैटौं मार्केटिङ र सातौं मनिटरिङ अर्थात् सेभेन एम । मनिटरिड भनेको उसलाई कडाइ गर्न होइन, व्यावसायिक समस्या बुझ्ने, समाधान गरिदिने हो ।

कृषि कम्पनीहरू मुनाफा कमाउन सक्दैनन्, किन लगानी गर्ने भन्ने सोचाइ छ, मुक्तिनाथ कृषि कम्पनी चाहिँ कसरी चलेको छ ?
यस्तो कुरामा हामी विश्वास गर्दैनौं । मुनाफा नहुने भए त पब्लिक कम्पनीमा जाने नै थिएनौं, थप कृषिसम्बन्धी आधा दर्जनभन्दा बढी सहायक कम्पनी खोल्ने थिएनौं । मुनाफा कमाउन सकिने भएरै हामीले यति धेरै लगानी विस्तार गरेको हो । अहिले हामी मल, बिउ, प्रविधि उपकरण बिक्री गर्छौ, विजनेस प्लान बनाउँछौं, त्यसबाट आम्दानी हुन्छ । मुक्तिनाथ कृषि कम्पनीमा करिब १२० स्टाफ हुनुहुन्छ । अधिकांश स्टाफ ३० वर्षमुनिका हुनुहुन्छ । अर्थात् यो कृषि कम्पनी युवाको हातमा छ । युवालाई आकर्षित गर्न पहिले हामी युवाले सञ्चालन गरेको कम्पनी सफल भएको देखाउनु पर्‍यो नि !

धान दिवसको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
नेपालमा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ तर हाम्रो उत्पादनले पुग्दैन । ५० अर्बको धान चामल आयात भइरहेको छ । मकै गहुँ आलु पनि धेरै आयात हुने गरेको छ । उत्पादन बढाउन समयमै किसानलाई मल, बिउ, प्रविधिमा जोड दिनुपर्छ । मलका लागि बजेटकै व्यवस्थापन हुँदैन, बजेट व्यवस्थापन भए पनि झन्जटिलो खरिद प्रक्रियाका कारण समयमा मल आउन सक्दैन । किनभने रसायनिक मलको विषय सरकारको हातमै छैन । सिँचाइ, भूमि व्यवस्थापनलगायत धेरै समस्या छन्, सबैभन्दा पहिले यस्ता समस्या समाधान गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *