अहिले नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी मोर्च गठन बारे विशेष चर्चा छ । यो मोर्चा निर्माणको अन्तर्यका सम्बन्धमा पनि धेरै अड्कल र अनुमान गरिँदै छ । धेरैले पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन हुने सम्भावनासँग जोडेर पनि हेर्दै गरेको सुनिन्छ । सम्भवतः त्यसैलाई मध्यनजर गर्दै प्रचण्डले आफ्नो शक्ति बढाउन समाजवादी मोर्चा निर्माणतिर लागेको हुनुपर्छ भन्नेहरू प्रशस्तै छन् । अर्कोतर्फ नेपालको वामआन्दोलनको मुख्य धार नेकपा एमाले बनेको छ । सायद त्यसैलाई चुनौती दिन समाजवादी मोर्चा निर्माण भएको हुन सक्ने पनि देखिन्छ ।
तर, त्यसभन्दा पनि टुटफुट र गुटले ग्रस्त भएका स-साना कम्युनिष्ट घटकहरू एकत्रित हुन खोजेको हुन सक्ने अनुमान अलि बलियो मान्न सकिन्छ । जे होस् सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपले स्खलित भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जाका साथअघि बढाउने मस्कद पनि हुन सक्छ समाजवादी मोर्चाको गठन । यस्तो तर्कमा पनि केही दम देखिन्छ । हालको कम्युनिष्ट आन्दोलनको मूल–प्रवाहको रूपमा रहेको नेकपा एमाले र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारलाई साइजमा ल्याउनका लागि गरिएको रणनीतिक कार्ययोजना पनि नहोला भन्न सकिँदैन ।
राजनीतिमा यस्ता प्रकारका तिगडमबाजी हुने गर्छन् । हुन त राजनीतिमा परिस्थिति अनुसार यदाकदा गुट, फुट र जुट एउटा निरन्तर प्रक्रिया पो हो कि जस्तो देखिन्छ । यस दृष्टिकोणबाट हेर्दा समाजवादी मोर्चा गठनमा धेरै ठूलो अन्तर्य केही लुकेको नहुन पनि सक्छ । तर, देशको समग्र राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेर हेर्दा साँच्चै नेपाल गम्भीर संकटको डिलैमा छ चाहे त्यो राजनीतिक होस् वा आर्थिक र नैतिकरूपले । यी सबै कारणले नेपाल बर्वादीतर्फ उन्मुख छ । यही सन्दर्भमा अर्थात् सबै खाले संकट टार्नकै लागि पनि एकता आवश्यक भएर एकीकृत कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्वतयारी पनि नहोला भन्न सकिँदैन ।
समाजवादी मोर्चाको अवधारणा पनि रास्वपा र राप्रपाको संगठनमा देखिएको तीव्रतालाई ध्यानमा राखेर आएको हुनसक्छ । हुन त समावादी मोर्चामा आबद्ध दलहरू सबै वामपन्थी नै हुन् र जसपाको नेतृत्व पनि त्यही रुझान्का भएकाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बन्ने मक्सद पनि हुन सक्छ ।
तसर्थ समाजवादी मोर्चा गठनले छरिएर रहेका कम्युनिष्ट घटकहरूलाई एक ढिक्का बनाउने भित्री योजना पनि हुन सक्छ । यी सबै अनुमानका बाबजुद मूलतः देशको खस्कँदो आर्थिक, सामाजिक र नैतिक परिस्थितिलाई नियन्त्रण लिनका लागि गरिएका अनेक प्रयाशमध्ये समाजवादी मोर्चा गठन एक हुन सक्छ । आफ्नो नियन्त्रणदेखि बाहिर जान लागेको परिस्थितिबाट समाजमा विद्रोह हुन सक्ने सम्भावनालाई विषयान्तर गर्न पनि यस्ता धेरै खेल हुने गर्छन् र यहाँ पनि त्यस्तै नहोला भन्न सकिँदैन ।
तर, यथार्थता के हुन सक्छ भने माओवादी द्वन्द्वकालका घटनालाई लिएर जसरी अदालतमा मुद्दा परेका छन्, त्यसबाट झस्किएर पूर्वमाओवादीहरू पुनः संगठित हुन उत्प्रेरित गरेकोे हुनसक्ने अनुमान गरिँदैछ । बृहत् शान्ति सम्झौताले टुंयाएका विषयलाई फेरि उछालेर संसद्मा हुने गरेका हंगामाले माओवादीलाई घोचिरहेको छ । यी र यस्तै घटनाक्रमले समाजवादी मोर्चा निर्माणमा अभिप्रेरित गरिरहेको छ । त्यो समाजवादी मोर्चमा अरू कुनै उद्देश्य छैन, छन् त केबल सत्तामा टिक्न शक्ति सञ्चय गर्ने र विगतमा भएगरेका अमानवीय कुकृत्यबाट बच्न रचिएको हो समाजवादी मोर्चा ।
आजभोलि दिनहुँजसो प्रतिनिधिसभाको बैठकमा माओवादीविरुद्ध राप्रपा नामको पार्टी निकै आक्रमक ढंगले प्रस्तुत भएको छ । बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू भने त्यति आक्रमक देखिँदैनन् जति उक्त शान्ति प्रक्रियामा सामेल नभएका दलहरू देखिँदै छन् । त्यसमा पनि भ्रष्टाचारका घटनाहरूले राप्रपामा उत्साह थपी दिएको छ भने ठुलादलहरूमा मनोबल खस्किएको छ । यस्तै मौका छोपेर आफ्नो संगठन विस्तार गर्दै चुस्त दुरुस्त बनाउन लागेका छन् रास्वपा र राप्रपा । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कुनै योगदान नै नभएका ती पार्टीहरू वा स्वतन्त्र व्यक्तिहरू अरूको असफलतामा आफ्नो सफलतादेखि रहेका छन् ।
चाहे ग्रेटर नेपालको नक्साको सन्दर्भमा होस् या हिन्दी फिल्ममा जानकी भारतकी छोरी भनेको डाइलगमा किन नहोस् विशेष चर्चामा रहेका काठमाडौंका मेयर बालेन साहका पछिल्ला कदमले निकै स्यावासी पाइरहेका छन् । उता धरानमा हर्क साङपाङले तहल्का पिटिरहेका छन् । यी दुई नायक बालेन र हर्कको आडमा राप्रपा भरपुर राजनीतिक लाभ लिन कम्मर कसेर लागिपरेको छ । आफ्ना कारणले (राप्रपा) भने उनीहरू यति चम्किएर आएका होइनन् । सरकारको असक्षमता र बालेन, हर्क साङपाङका जनमुखी कामको फाइदा राप्रपा र रास्वपा लाभान्वित भएका छन् ।
अर्कोतिर सत्ताको नेतृत्व गरेको पार्टी माओवादी केन्द्र र प्रमुख सत्ता साझेदार पार्टी नेपाली कांग्रेस आफ्नै कारणले निरीह बन्दै गएको अवस्था छन् । सत्ता साझेदारका प्रमुख घटकहरू यसरी निरीह हुँदा नवउदीयमान पार्टी रास्वपा र पुनरोदय हुँदै गरेको राप्रपा अनि विशेष चर्चामा रहेका बालेन र हर्क साङपाङ उत्साहित हुनु स्वभाविक हो । पछिल्ला विकसित राजनीतिक घटनाक्रमले आफ्नो संगठनबाट निख्रिँदै गएका पार्टीहरूले निर्माण गरेको समाजवादी मोर्चामा त्यति साह्रो आकर्षण देखिएको छैन । यद्यपि त्यस मोर्चामा आबद्ध भएका दलहरूको सामु विकल्प भनेकै कि एमालेसँग आत्मसमर्पण थियो नत्र समाजवादी वा यस्तै मोर्चा निर्माणमा मात्रै एउटा विकल्प थियो ।
उनीहरूले दोस्रो विकल्पमा गएर अफ्नो इज्जत जोगाउने बाटो रोजेको देखिन्छ । तर समाजवादी मोर्चा पनि स्थायी समाधान भने पक्कै होइन । त्यसलाई राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्न सके देशको तेस्रो राजनीतिक शक्ति बन्न सक्ने देखिन्छ । यद्यपि तुलनात्मक रूपले हेर्दा रास्वपा देशकै मूलधारको शक्ति बन्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन । यही रफ्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठन विस्तारको अभियानलाई गति दिन सक्यो भने देशको पहिलो पार्टी नहोला भन्न सकिँदैन ।
सम्भवतः समाजवादी मोर्चाको अवधारणा पनि रास्वपा र राप्रपाको संगठनमा देखिएको तीव्रतालाई ध्यानमा राखेर आएको हुन सक्छ । हुन त समावादी मोर्चामा आबद्ध दल सबै वामपन्थीहरू नै हुन् र जसपाको नेतृत्व पनि त्यही रुझान्का भएकाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बन्ने मस्कद पनि हुन सक्छ । यद्यपि नव-गठित समाजवादी मोर्चा नेकपा एमालेको विकल्प बन्न सक्ने स्थिति देखिँदैन ।
जनविश्वास गुमाउँदै गएका पार्टीहरूको मोर्चा बालुवाको मुठी जस्तै हुने धेरैको अड्कल छ । यसर्थ समाजवादी मोर्चामा त्यति धेरै आकर्षण नहुन सक्छ । राष्ट्रियताको सबालमा कमजोर देखिँदै आएका परम्परावादी दलहरू अब क्रमशः जनताबाट निखारिँदै गएका र जाँदै गरेको अवस्था छ ।
समाजवादी मिर्चाको भित्री आशय नयाँ शक्ति निर्माण गरेर जनताको विश्वास आर्जन गर्दै देशकै पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित हुने हो । त्यो मिसनमा पुग्न धेरै ठूलो मिहिनेतका बाबजुद पनि सम्भावना देखिँदैन ।
त्यसमा पनि भ्रष्टाचार र कुशासनले आक्रान्त नेपालीहरू अब कांग्रेस कम्युनिष्टभन्दा नयाँ पार्टी रास्वपा, पुनरोदय हुँदै गरेको राप्रपा र केही स्वतन्त्र व्यक्तिप्रति भरोसा राख्न थालेको पाइन्छ । यसले पनि कांग्रेस-कम्युनिष्टहरू राष्ट्रिय राजनीतिबाट तिलमिलाए भने आश्चर्य नमान्दा हुन्छ । विगतको इतिहासले पनि त्यही प्रमाणित गरेको छ । पहिलो जन-आन्दोलनमा पुरानो पार्टी नयाँ स्वरूपमा आएको नेपाली कांग्र्रेसलाई ठूलो पार्टी बनाइदिए । त्यस्तै गरेर दोस्रो जनआन्दोलनपछि संविधानसभाबाट माओवादीलाई पहिलो शक्तिमा पुर्याए । यस क्रमलाई हेर्दा रास्वपालाई आगामी निर्वाचनबाट देशको पहिलो शक्ति नबनाउलान् पनि भन्न सकिने अवस्था छैन ।
समाजवादी मिर्चाको भित्री आशय नयाँ शक्ति निर्माण गरेर जनताको विश्वास आर्जन गर्दै देशकै पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित हुने हो । त, त्यो मिसनमा पुग्न धेरै ठूलो मिहिनेतका बाबजुद पनि सम्भावना देखिँदैन । जसले जे सुकै भने पनि पुराना पार्टीहरूले अब जनविश्वास विगतको जस्तो आर्जन गर्न सक्ने स्थिति देखिँदैन । आमनेपालीहरूको मन भाँचिइसकेको छ । फेरि ती भाँचिएका मनहरू फर्केर आउने सम्भावना अत्यन्तै न्यून छ । तसर्थ हालै गठित समाजवादी मोर्चाले त झन के पो गर्न सक्लान् र ? आज यही चर्चा र बहसहरू गाउँ÷गाउँ, बस्ती/बस्तीमा भइरहेका छन् । शिक्षा र सञ्चारका कारण नेपाली समाज धेरै अगाडि बढिरहेको छ ।
त्यसैले अबका युवापुस्ताको मन र मष्तिक त्यति सजिलै आफूतिर आकर्षण गर्न सकिने स्थिति छैन, चाहे जुनसुकै शब्दजालले सिगारिएका पार्टीका घोषणापत्र वा दस्ताबेज किन नहुन् तर पनि समाजवादी मोर्चा गठनपछि राष्ट्रिय राजनीतिमा एउटा तरंग ल्याएको छ । यो तरंगले सरकारको स्थिरतामाथि पनि आशंका जन्माइदिएको छ । समाजवादी मोर्चा बनेपछि विभिन्न कोणबाट त्यसको व्याख्या र विश्लेषण भइरहेकै छन् । नेकपा एमालेले नेपाली कांग्रे्रेसलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा चलिरहेको छ । यस सन्दर्भलाई पनि ठाडै पन्छाउन सकिँदैन । केपी शर्मा ओलीको माधव नेपाल र प्रचण्डसँगको तिक्ततापूर्ण व्यवहारका कारण एमालेले कांग्रेसलाई प्रधानमन्त्री पद किस्तीमा राखेर नदेला भन्न सकिँदैन ।
त्यसैले कता/कता हालको सत्ता गठबन्धनमा चिसो पसेको हुनुपर्छ र मिडियाहरूमा पनि यस्तै खालका समाचार सुनिँदै छ । यसर्थ समाजवादी मोर्चा गठनले पनि सत्तारूढ दलहरूमा विश्वासको संकट देखापर्नु स्वभाविक नै हो । अहिले चर्चा समाजवादी मोर्चाकै यही रूपमा चलेकै छ । समग्रतामा यो निष्कर्षमा पुग्न सकिन्छ छ कि समाजवादी मोर्चाका आधार कमजोर र मक्किएका छन् । अरूलाई तर्साउने र ठेगानमा राख्न सकिन्छ कि भन्ने क्षणिक तुष्टिबाहेक मोर्चाको अरू केही होलाजस्तो देखिँदैन ।






