६ महानगरले ल्याए ५१ अर्ब बढीको बजेट, काठमाडौं एक्लैको साढे २५ अर्ब

डिबी शर्मा
डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । देशभरका ६ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब बढीको बजेट ल्याएका छन् । आइतबार ६ महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५१ अर्ब एक करोड ६२ लाख बढीको बजेट प्रस्तुत गरेका हुन् । काठमाडौं महानगरले सबैभन्दा ठूलो बजेट ल्याएको छ । काठमाडौं महानगरले साढे २५ अर्ब बढीको बजेट ल्याएको हो । जुन सबै महानगरको बजेट हाराहारी हो । काठमाडौंपछि पोखरा महानगरले सात अर्ब १५ करोडको बजेट ल्याएको छ भने ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड छ । त्यस्तै, भरतपुर महानगरले ६ अर्ब ३१ करोडको बजेट ल्याउँदा विराटनगर र वीरगञ्ज महानगरले क्रमशः तीन अर्ब २८ करोड र तीन अर्ब २१ करोडको बजेट ल्याएका छन् । ६ महानगरसँगै आइतबार देशभरका स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । केही स्थानीय तहले भने यसअघि नै बजेट ल्याइसकेका थिए । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।

काठमाडौंको बजेट : २५ अर्ब ५४ करोड ७८ लाख
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले नगरसभाको १३औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । उपप्रमुख डंगोलले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गर्नुभएको छ । काठमाडौं महानगरले सबै क्षेत्रलाई समेटेर बजेट ल्याएको हो ।

ललितपुरको बजेट : ६ अर्ब ५० करोड ५ लाख
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार उपमेयर मञ्जिला शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । ललितपुर महानगरले आगामी वर्ष महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको आम्दानी गर्ने अनुमान गरेको छ । पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

विराटनगरको बजेट : ३ अर्ब २८ करोड ५० लाख
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ६५ करोड, ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ अनुमानित खर्च हुने अनुमान छ । सार्वजनिक बजेट चालु वर्षको तुलनामा ४८ करोड २५ लाखले न्यून हो ।

ADVERTISEMENT

भरतपुरको बजेट : ६ अर्ब ३१ करोड ७९ लाख
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबारदेखि महानगरपालिकाको १३औँ अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो । महानगरले आन्तरिक आयको लक्ष्य भने बढाएको छ । बजेटमा महानगरले १ अर्ब ७५ करोड आन्तरिक आय गर्ने लक्ष्य लिएको छ ।

वीरगञ्जको बजेट : ३ अर्ब २१ करोड ३५ लाख
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात् १ प्रतिशत बजेट छुट्याइएको छ । वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजस्व बाँडफाँट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

पोखराको बजेट : सात अर्ब १५ करोड १५ लाख
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्नुभएको हो । चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड, ८७ लाख, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *