सार्वजनिक दायित्व २२ खर्ब नजिक

Read Time = 4 mins

काठमाडौं । नेपालले तिनुपर्ने सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । जुन प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ रुपैयाँ हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकअनुसार नेपालको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने बाहृय ऋण १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख तिर्न बाँकी छ ।

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने गरेको छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्न थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड बाहृय उठाउने लक्ष्य छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रुपैयाँ थपिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४.७९ प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

ADVERTISEMENT

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले तीन खर्ब छ करोड ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । जेठसम्म सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब आठ करोड ६० लाख रुपैयाँले बढी हो । जेठसम्ममा भएको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ छ । सो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कमिसन भुक्तानीमा एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

जेठसम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । बाहृय ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख बराबर खर्च भएको छ भने बाहृय ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज