सिनेमा वा साहित्य सामाजिक सोच भन्दा निरपेक्ष हुन्न् : जयप्रकाश गुप्ता

Read Time = 8 mins

- जयप्रकाश गुप्ता

काठमाडौं । पुरै दक्षिण एशियाको हिमाली खण्ड अर्थात हिमवत्खण्ड अनि पूर्व-उत्तरको ब्रम्हपुत्रको बहाव तथा दक्षिणमा गंगाको मैदानी भाग हुँदै उपल्लो कश्मिर-कन्दहारसम्म धार्मिक एवं साँस्कृतिक रूपमा साझा धरोहरका क्षेत्र हुन्। यस भन्दा पनि धेरै ठूलो भू-भाग।

यसमा एउटै समान प्रकारका आस्थाका केन्द्रहरूलाई धेरैले आ-आफ्ना ठाउँहरूमा स्थापित गरेको अनेकन उदाहरणहरू छन्। यसका लागि सबैले आ-आफ्ना गाथाहरू रचे।

दक्षिणको तिरुपति मन्दिर असमको गुवाहटीमा बनाए। काशीको मुल बिश्वनाथ मन्दिर अपवित्र भयो भनी करपात्री महाराजले बिएचयू भित्र अर्को बिश्वनाथ मन्दिर बनाए। वाराणसीको ललिता घाटमा नेपाल कै राजा महाराजाहरूले अर्को पशुपतिनाथको मन्दीर बनाए। कुनै दिन भारत र नेपालका बीच तनाव बढेर भारतीयहरूको नेपालमा खुला आवागमन बन्द भै तेताका पशुपति श्रद्धालुहरू ललिता घाटकै पशुपति तिर लागे भने फेरी यहाँबाट अर्को धर्मयुद्ध थाल्नु पर्ने हुन्छ। प्रागः ऐतिहासिक कालमा तान्त्रिकहरूले पशुपतिनाथको आराधना पद्धतिलाई नै बदलिई दिएपछि आदि शंकराचार्य नेपालमण्डलको काठमाडौं आई पशुपतिको रक्षा गर्नु परेको इतिहास छ। यसको सा़क्षी आज पनि पशुपति क्षेत्रमा शंकराचार्य आश्रम रहेको प्रष्ट नै छ।

भारत उत्तराखण्डको हिमालयको फेदमा रहेको केदारनाथको शिर हाम्रो डोलेश्वर महादेवलाई भन्यौं। थाहा छैन, व्यास मुनी कहिले आएका थिए तनहुँ। तर, दमौलीमा व्यास गुफा छ। भष्मासुर र महादेवको लखेटा लखेटी भयो कहाँ कहाँ यता हलेसीको गुफामा महादेव लुक्न आएको मान्यता छ। कुनै पनि बैज्ञानिक तथ्यहरूबाट महाभारत कालिन बिराट राजाको भुमी वा दरबार बिराटनगर छेउमा भएको पुष्टिदैन्। तर, बिराटनगरेहरू बिराट राजाको दरबारलाई पर्यटन स्थल बनाई छोडे। युधिष्ठिरका भाई अर्जुन कहिले र किन झापा आए होलान तर यहाँ अर्जुनधारा, किच्चकबध सबै छ। उपलब्ध तथ्यहरूले भन्छ बराहक्षेत्र मन्दिरको स्थापना कुचबिहारका कोच राजाहरूले गराए। तर, यो क्षेत्र कोचहरूद्वारा शासित रहेको भेटिन्न्। किन कोच राजाहरू यहाँ आए होलान। अहिले आठपहरिया राईहरू बराह मन्दिरलाई आफ्नो आराधना स्थल बनाएका छ(आफ्नै मान्यताहरूका आधारमा। पाथिभारा मन्दीर हिन्दूहरूले आफ्नो भन्छन्। भगवतीको मूर्ती नै छ तेहाँ। तर, पूर्वका लिम्बुहरूले पाथिभारा देवीको आफ्नै नामाकरण गरेका छन्। यस्तै छ सर्वत्र। बिना बिवाद, झै झगडा चलेकै थियो।

ADVERTISEMENT

यता केपी ओलीले अयोध्या ढोरीमा पता लगाए। भारतको तमिलनाडुमा एक जना धनाढ्य व्यापारीले आफ्नी आमाको स्मृतिमा बिशालकाय ताजमहल नै बनाएका छन्। कसैले कुनै प्रतिकृया जनाएको छैन। बालेन शाहले सीताको जन्मभुमि सितामढीको साटो जनकपुरलाई दाबी गरेका छन्। ग्रेटर नेपाललाई पनि पछि पार्ने गरी। बिकास, निर्माण तथा समृद्धिका लागि हिडेको नेपाली राजनीति यता ‘मिथक’ को पुष्पक विमान चढी उड्दैछ।

म राजनीतिमा लाग्दा राजनीति, साहित्य र धर्मका बीच फराकिलो फाटोहरू थियो। चिरा हैन,फाटोहरू थियो। यस्तो नेताबाट प्रभावित थियौं, जसको भनाइ थियो– ‘साहित्यमा सम्राटपनि नांगो हुन्छ।’ बिपी कोइरालाले लेखेको ‘सुम्निमा’ का पात्रका बारेमा मतवाली र तागाधारीको दृष्टिबाट विवाद पनि उठाए। जब यसलाई हामी साहित्य मान्छौ अनि यो निर्विवाद हुन्छ।

सिनेमा वा साहित्य सामाजिक सोच भन्दा निरपेक्ष हुन्न्। रामायण बुझ्ने शैली उत्तर भारतको भन्दा दक्षिणको धेरै फरक छ। दक्षिणका अत्यन्त प्रभावशाली बिद्वान ‘पेरियार’ जस्ताले रामायणको कटु आलोचना गरेका छन्। त्यसबारे भारतमा गंभीर बहस छ। दक्षिण त रावणलाई पुज्ने समाज हो। अहिले चर्चामा रहेका सिनेमाका कयौं बिषयमा स्वयं भारत भित्रै कटु विवाद शुरू भएको छ। पात्रहरूका भेष, संवाद अनेक सवालमा। ‘असहमतले न हेर्दा हुने’ त्यहाँका सर्वोच्च अदालतले निरन्तर उठ्ने यस्ता बवाललाई यसरी नै टुंग्याएको छ। हामी कसरी जाने नि ? यो हामीमा निर्भर गर्छ। सरकारले प्याजमा भ्याट लगाएको छ। यदि यसरी चिहान घारीमा ढाँट तेर्स्याएर राजस्व संकलन गर्ने लोभलाई त्याग्न सके मेरो बिचारमा सदाका लागि हिन्दी वा भारतमा निर्माण भएका सिनेमाहरूको प्रदर्शनमा रोक लगाई दिए यसरी बेला बेलामा उठ्ने टंठा सेलाउथ्यो। कि गर्ने कि ?

कमल थापाले धार्मिक हिन्दुत्वलाई उपयोग गर्न चाहे। उनि परराष्ट्र मंत्री हुँदा नै यसका लागि भारतीय धर्मान्ध हिन्दु नेताहरूसंग सम्बन्ध बनाए। थोरै फाइदा लिए। तर, उनको त्यो राजनीति चलेन। अहिले बालेन आदीले यसमा राष्ट्रियताको जलप लगाएका छन्। यो राजनीतिको पपुलिष्ट एजेण्डाको नयाँ भर्सन हो, जसमा इतिहासको अज्ञानता, बिद्यमान शासकीय असफलताले जमा पारि दिएको असन्तुष्टी, राजनीतिमा हाबी हुन सजिलो बाटोको खोजीज्ञान, जनमत निर्माणको इंजिाियरिङ, कमजोर तथा तन्नम् राष्ट्रमा घरजम गरिबसेको राष्ट्रियताको तडका आदीको मसला मिश्रण छ-लाग्दछ अबको दिन यस्तै होला।

(जयप्रकाश गुप्ताको फेसबुकबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *