व्यक्तिगत भिसामा दैनिक तीन सय विदेशिँदै, कामदार फसे न्यायबाट वञ्चित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

रमेश भारती/हिटा
काठमाडौं । विगत केही वर्षयता व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढेको छ । चालु आर्थिक वर्षका १० महिनामा क्यानडा, अमेरिका, कम्बोडिया सिजनल भिसा भन्दै अष्ट्रेलिया व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली कामदार गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । कोरोना महामारीपछि कतिपय शैक्षिक परामर्शदाताका हैसियतमा दर्ता भएका एजुकेसन कन्सलट्यान्सी, तालिम केन्द्रदेखि ट्राभल्स एजेन्सीले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा कामदार पठाइरहेको र ती एजेन्सीहरूले धेरै युवाको राहदानी होल्ड गरेर बसेको विभागले जानकारी दिएको छ । व्यक्तिगत भिसामा दैनिक तीन सयभन्दा धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा गइरहेको विभागले जनाएको हो । विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृतिमा विदेशिने कामदारको संख्या बढेको विभागको तथ्यांकमा छ ।

युरोपेली देश, एशियाली देश, जापान, क्यानडा, मलेसिया र खाडीका देशमा नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर गइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल बताउनुहुन्छ । व्यक्तिगत भिसामा युरोप, क्यानडा, अष्ट्रेलिया र जापान अध्ययनका लागि भन्दै वैदेशिक रोजगारकै लागि धेरै युवा जाने गरेको उहाँले जानकारी दिनुभयो । ‘व्यक्तिगत श्रम स्वीकृतिलाई व्यवस्थित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यो भिसा विदेशिने कामदार समस्या परे अथवा फसे सरकारलाई उद्धार गर्न समस्या भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

विभागबाट जारी भएको पछिल्लो श्रम स्वीकृतिको तथ्यांक केलाउने हो भने पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृतिको आकर्षण बढेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाँदा कामदार अप्ठेरोमा परे उनीहरू आफैँ नै खर्च व्यहोरेर फर्किनुपर्छ । चैत महिनामा पनि युरोपेली देश संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने बढी छन् । जेठ महिनामा करिब एक हजार पाँच सयभन्दा बढी रोजगारीका लागि युरोपका केही देश पुगेको विभागले जनाएको छ ।

वैशाख महिनामा वैदेशिक रोजगारका लागि संस्थागत २१ जना क्रोएसिया गएका छन् भने व्यक्तिगत १७६ जना गएको विभागको तथ्यांकमा छ । जापान संस्थागत ६२ जना र व्यक्तिगत ५०४ जना गएको विभागले जनाएको छ । संस्थागत एकजना पनि नगएको माल्दिभ्समा व्यक्तिगत ३४८ जना गएको विभागको तथ्यांक देखाउँछ । यस्तै, पोल्याण्ड व्यक्तिगत ६२६ जना, पोर्चुगलमा ५६ जना, सर्भियामा ७८ जना, सिसेल्समा २० जना, सिंगापुरमा १५ जना, बेलायतमा १४९ जना, क्यानडा ९० जना अमेरिकामा २८ जना, टर्कीमा १२ जना, स्पेनमा ११ जना र श्रीलंकामा १४ जना गएका छन् । वैशाख महिनामा करिब एक हजार सात सयजना नेपाली व्यक्तिगत भिसामा गएको विभागले जनाएको छ । गत आर्थिक वर्र्षमा दुई लाखभन्दा बढी नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृतिमा १७९ वटा देश पुगेको विभागको तथ्यांकमा छ ।

ADVERTISEMENT

सरकारले करोडौँ लगानीमा खोलिएका इजाजत प्राप्त म्यानपावर कम्पनीलाई रोकेर व्यक्तिगत श्रम स्वीकृतिलाई बढावा दिइरहेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा कामदार अत्यन्तै जोखिममा परेर असुरक्षित हुने गरेको म्यानपावर व्यवसायीहरूको आरोप छ । विकाशित देश कामदार पठाउने प्रबन्ध गर्न पटक-पटक सरकारी निकायसँग माग गरे पनि मागपत्र प्रमाणीकरणको काम सहजीकरण नगरेको आरोप म्यानपावर व्यवसायीले लगाउँदै आएका छन् । मागपत्र प्रमाणीकरणको समस्याका कारण युरोपेली देशमा म्यानपावर कम्पनीले कामदार पठाउन कठिन भइरहेको उनीहरूको भनाइ छ ।

सरकारले ठूलो रकम धरौटी र बैंक ग्यारेण्टी लिएर निजी क्षेत्रका व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न लाइसेन्स बाँडे पनि व्यक्तिगतलाई भने धरौटीको आवश्यक नपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा कामदार अत्यन्तै जोखिममा परेर असुरक्षित हुने गरेको उहाँले बताउनुभयो । ‘जथाभावी रूपमा व्यक्तिगत श्रम स्वीकृति वितरण गर्दा वैदेशिक रोजगार क्षेत्रमा जोखिम बढ्दो छ । व्यक्तिगत श्रम स्वीकृतिका कारण म्यानपावर व्यवसायी बद्नामी भइरहेको छ । जसको अपजस म्यानपावरमाथि आउँछ ।’ उहाँले भन्नुभयो, ‘व्यक्तिगत श्रम स्वीकृतिका कारण रोजगारीका नाम ठगी पनि बढिरहेको छ । व्यक्तिगत श्रम स्वीकृति दिने सरकारी निकायको ध्यान जान जरुरी छ । सरकारले वेवास्ता गर्दा व्यक्तिगत श्रम स्वीकृतिका नाम ठगी बढेको हो ।’ व्यक्तिगत भिसामा कामदार जाने क्रम बढेसँगै म्यानपावरको बद्नाम हुने अवस्था सिर्जना भइरहेको उहाँको भनाइ छ ।

सरकारले स्थानीय तहबाट नै सेवा प्रवाह हुनु बढी फलदायी हुने दाबी गरे पनि स्थानीयस्तरबाट श्रम स्वीकृति जारी गर्दा ठगी बढ्ने म्यानपावरहरूले आरोप लगाउँदै आएका छन् । गत १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था मन्त्रालयले गरेको छ । जसका कारण व्यक्तिगत ठगी बढ्न गएको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् । श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी तथा सहज बनाउँदै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान दिने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *