बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिनुभएको छ । मंगलबारदेखि सुरु भएको तीनदिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो वाचा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटनमैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौं ।’ उहाँले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत नेता पनि खप्तड पुग्नुभएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्री लगायतका प्रदेशका नेताहरू पनि खप्तड पुग्नुभएको थियो ।
खप्तड क्षेत्रमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत मंगलबार हेलिकप्टरमा खप्तड पुग्नुभएको थियो । सम्मेलनको पहिलो दिन मंगलबार बाबा रामदेवले योगा गराउनुभएको थियो भने बुधबार र बिहीबार आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।
सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुड्क्यौली, गौरा, देउडा, पुतला नाच लगायतका प्रस्तुति गरिनेछ । सम्मेलन यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड समुद्री सतहबाट झण्डै तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts