काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियललाई सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्न बैंकले खेलाडीलाई सम्मान गरेको हो ।
बैंकले हालै सम्पन्न एसिसी प्रिमियर कप २०२३ को विजेता राष्ट्रिय क्रिकेट टिमका १८ खेलाडीलाई जनही एक लाख रुपैयाँ र आठजना टिम अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।
सो अवसरमा बैंक सञ्चालक समिति अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टिम अफिसियललाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउनुभयो । बैैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रियरूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको भन्दै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको बताउनुभयो ।
क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रियरूपमा नेपालको नाम क्रिकेटले चिनाएको भन्दै बैंकको सहयोगले आगामी दिनमा अघि बढ्न हौसला मिलेको बताउनुभयो भने राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशका लागि खेल्ने सपनाले सबैको सपना पूरा गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements