काठमाडौं । नेपाल बैंकर्सले बैंक, वित्तीय क्षेत्रले देशको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी विगत महिनाको तुलनामा अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएकाले बैंक तथा वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा पनि सुधार आएको जनाएको हो । संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्र पनि सुधारको दिशामा रहेको र अहिले अर्थतन्त्र सकारात्मक नै रहेको बताउनुभयो । हाल बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढ्दै गइरहेको, बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि सुधार हुँदै गएको उहाँको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्थालाई बढी दबाब खराब कर्जाको भए पनि अन्य देशको तुलनामा त्यस्तो कर्जाको अवस्था पनि सन्तुलित नै रहेको केसीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्माण, सिमेन्ट र अटोलगायत क्षेत्रमा रिकभरी समस्या हुँदा खराब कर्जा बढेको थियो, अब ती क्षेत्रमा पनि सुधार भएको हामीले महसुस गरेका छौँ, अर्थतन्त्र सही दिशामा रहेको हाम्रो बुझाइ हो, असारमा पनि अहिलेको हाराहारीमा नै खराब कर्जाको अनुपात रहन्छ ।’
अध्यक्ष केसीले अब सरकारको खर्च पनि बढ्ने भएकाले बैंकको निक्षेपमा सुधार हुने जिकिर गर्नुभयो । हालसम्म बैंकको निक्षेपमा तीन खर्बको वृद्धि भएको र अझै दुई खर्ब रुपैयाँ निक्षेप बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अनुपातको विषयमा चौतर्फी चिन्ता व्यक्त भए पनि खासै ठूलो असर नपर्ने बताउनुभयो । राणाका अनुसार नेपाली बैंकको पुँजी र जगेडा कोष बलियो भएकाले पनि बढेको खराब कर्जाले खासै असर गर्दैन ।
पछिल्लो एक महिनामा वाणिज्य बैंकमा निक्षेप १२ अर्बले बढेको छ । चैतमा ४८ खर्ब २८ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाखमा बढेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने जेठ २ गतेसम्ममा बैंकहरूले ४८ खर्ब ५२ अर्ब निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । चैतमा ४३ खर्ब नौ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले वैशाखसम्ममा ४२ खर्ब ९९ अर्ब रुपैयाँमा सीमित गरेका छन् । त्यस्तै, बैंकहरूको सिडी रेसियो पनि सहज हुँदै गएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements