सानोठिमीको एसओएस स्कुलमा भर्नामा अनियमितता 

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको शुल्क तथा भर्ना अनुगमन समितिले एसओएस हर्मन माइनर विद्यालयमा भर्नामा अनियमितता भएको लिखित र मौखिक गुनासोको आधारमा विद्यालयको निरीक्षण गरेको छ ।
शिक्षा समितिले भर्ना अभियान र शुल्कमा भएको अनियमिताको अनुगमन गर्न शुल्क तथा भर्ना अभियान समितिमा संयोजक मध्यपुर थिमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष सानुकाजी राजवाहाकको संयोजकत्वको टोलीले अनुगमन गरेको हो ।

समितिमा वडा नं २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, वडा सदस्य शर्मिला विश्वकर्मा, उजला थापा श्रेष्ठ सदस्य र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट रहने गरी गठन गरेको थियो ।

अनुगमन समितिका संयोजक एवम् ९ नं वडाका वडाध्यक्ष राजवहाकले अनुगमन जाँंदा प्रिन्सिपल र सहायक प्रिन्सिपलद्वय दुवै नभएको र कसैलाई पनि जिम्मेवारी पनि नदिइएको अनुगमनका क्रममा पाउँंदा घटनामाथि सत्यता हुनसक्ने आशंका गर्नुभयो। अनुगमन टोलीलाई जिम्मेवारीपूर्वक बहन गर्ने व्यक्तिसम्म नहुने गरी गैरजिम्मेवारीपूर्वक कार्य गरेको साथै फोन गर्दा फोन काट्ने र पछि स्विच अफ गर्नाले पनि घटना सत्य भएको हुनसक्ने उहाँले बताउनु भयो ।

भर्ना अभियानमा आ–आफ्नो मान्छे भर्ना गर्न भागबण्डा गरेको, विद्यार्थी परीक्षार्थीको उत्तरपुस्तिका साटिएको र पुनःलेखन गराएको, प्रश्नपत्र बाहिरिएको, कति कक्षामा कति सिट विद्यार्थीको लागि भर्ना खुलेको र नर्सरी कक्षामा भर्ना छनौट गोलाप्रथाबाट मात्र लिनु भनेकोमा परीक्षा र अन्तर्वार्ता लिएको र वैशाख १७ नगरपालिकाले प्रेषितपत्र कार्यान्वयन भए नभएको र कार्यान्वयन नभएको भए के के बाधा अप्ठ्यारो भएकोले नगरेकोलगायतका विषयमा चलखेल भएको भनी अभिभावकहरुको गुनासो रहेको उहाँले जानकारी गराउनु भयो ।

ADVERTISEMENT

अनुगमनमा संलग्न अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले कार्यालय प्रमुख प्रिन्सिपलले गैरजिम्मवार कार्य गरेको पाइएको बताउनु भयो । उहाँले विद्यालयले अनुगमन टोलीलाई अपहेलना गरेकोसमेत आरोप लगाउनु भयो । नेपालको संविधान २०७२ ले देश संघीयतामा गएकोले स्थानीय सरकारलाई माविसम्मको शिक्षा जिम्मा दिएकोले स्थानीय सरकारको शिक्षा ऐन कानुन र निर्देशन अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो ।

पछि सम्पर्कमा आउनु भएकी विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईंले भर्नामा अनियमितता नभएको, एसओएस बालग्रामको नीति निर्देशनअनुसार काम भएको, शैक्षिक सत्रको संवेदनशील समयमा उच्च जोखिमका साथ नगरपालिकाको निर्देशनअनुसार सात सय भर्ना छनौटको परीक्षा स्थगित गरी स्वीकृति लिएर परीक्षा लिएको र नर्सरीमा गोलाप्रथाबाहेक कोठामा राखेर अतिरिक्त गतिविधि निरीक्षण गरी अभिभावकहरुसँग अन्तवार्ता लिएको, समावेशी कोटाअनुसार परीक्षामा समावेश गराएको दाबी गर्नुभयो ।

अनुगमनमा समितिका सदस्य वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, वडा सदस्य शर्मिला विश्वकर्मा, उजला थापा श्रेष्ठ सदस्य र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्ट, सहायक प्रिन्सिपलहरु शिव पौडेल र शिव आलेमगरको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *