काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालमा एक्सटेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत् सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अमेरिकी डलर पाँच करोड २८ लाख अर्थात् करिब सात अर्ब रुपैयाँ बराबर ऋण निकासा गर्ने भएको छ । आइएमएफको कार्यकारी समिति बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो । आइएमएफको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्य प्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको आइएमएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ जनवरी १२ तारिखमा आइएमएफको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडिआर) का रूपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।
सहुलियतपूर्ण ऋणको कोटामा नेपालले एक सय ८० प्रतिशतसम्म ऋण लिएको छ । त्यस्तो सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आइएमएफले गत वर्षमै निकासा दिएको थियो । हाल निकासा दिन लागिएको पाँच करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि सोही सम्झौताअन्तर्गतको किस्ता हो । नेपालले बजेट फाइनान्सिङका रूपमा प्रयोग गर्न पाउने गरी ३८ महिनाको वित्तीय सहायता प्याकेजका रूपमा आइएमएफले सहुलियतपूर्ण ऋण दिएको हो ।
इसिएफमार्फत् सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षाका क्रममा नेपालको आर्थिक वृद्धिदरमा संकुचन रहेको तथा आन्तरिक र बाहृय क्षेत्रसमेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमको प्रभाव अर्थतन्त्रमा देखिन थालेको आइएमएफले उल्लेख गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts