आधुनिक पुँजीवादले लामो यात्रा तय गरिसकेको छ । औद्योगिक पुँजीवादबाट आरम्भ भएको पुँजीवादको यो यात्रा उदारवाद, नवउदारवाद हुँदै अहिले ‘क्रोनी पुँजीवाद’ अर्थात् ‘कर्पोरेट’ पुँजीवादसम्म आइपुगेको छ, जसले आवारा पुँजीको रूपमा एउटा निर्मम, निरंकुश र नितान्त अमानवीय बजारको शक्तिको रूपमा विश्वलाई आफ्नो मुठ्ठीमा नराम्रोसँग कसिरहेको छ । आजको क्रूरतम सत्य यही हो कि बजारको गतिलाई अब राष्ट्र-राज्यले तय गरिरहेका छैनन् बरू बजारका शक्तिहरूका सामुमा ती राष्ट्र-राज्य या त नतमस्तक छन् या एकदमै असहाय ।
हाम्रो जस्तो सामन्ती दलाल नोकरशाही पुँजीवाद जुन अर्ध औपनिवेशिक र नव औपनिवेशिक अवस्थाबाट गुज्रिँदैछ । त्यसले त्यही कर्पोरेट पुँजीको दलाली गर्नबाहेक अरू केही गर्न सक्ने छैन । अझ मजाको कुरा त के छ भने कर्पोरेट बजार अर्थशास्त्रका नियम र सिद्धान्त मुताविक चल्दै चल्दैन । आजको विश्व बजारका शक्तिहरू यति प्रबल भइसकेका छन् अनि यति उन्मुक्त र स्वच्छन्द रूपले काम गरिरहेका छन् कि विश्वका विभिन्न देश र तिनका सरकारहरू त्यसमाथि अंकुश लगाउन सक्षम छैनन् । हिजो इंग्ल्याण्डमा ‘ब्रेक्जिट’ र अमेरिकामा ‘ट्रम्प’ को विजयबाट यस्तै प्रकारका नयाँ संकेतहरू मिलेको भनिएको थियो भने त्यसै सेरोफेरोमा जर्मनीमा भएको दक्षिणपन्थीहरूको सम्मेलनले पनि त्यस्तै लक्षण र संकेत देखाएको बताइएको थिथो । पछिल्लो इटलीको चुनावले त्यही बाटो प्रष्टसँग समातेको थियो ।
जल, जंगल, जमिन, खनिज तथा हावादेखि लिएर मानिसहरूको मेधा-निपुणता, महिलाहरूको कोख, बौद्धिकता, जीव कोशिकाहरू, अन्तरिक्ष कक्षहरू र यस्तै अरू सबै-सबै कुरा यसका दायरामा सामेल छन् । यो सर्वव्यापी बजार लगभग सबै किसिमका नियन्त्रणबाट मुक्त छ ।
वस्तुतः बितेको साढे दुई दशकभन्दा बढी समयदेखि चल्दै आएको भूमण्डलीकरणबाट जुन लाभ उठाउन सकिन्थ्यो त्यो अमेरिका, बेलायतसमेत अन्य विकसित देशहरूका कर्पोरेट पुँजीले उठाइसकेको छ । कर्पोरेट पुँजीद्वारा सञ्चालित र नियन्त्रित विश्व पुँजीवादलाई अगाडि लैजानमा भूमण्डलीकरणको वर्तमान स्वरूपको प्रासंगिकता सन्देहास्पद भइसकेको छ । यस संकटपूर्ण घडीमा यो कर्पोरेट आवारा पुँजी कुनै नयाँ बाटोको खोजमा छ, यस खोजीकै कारणले सम्भवतः बेलायतमा ब्रेग्जिट र अमेरिकामा ट्रम्पको विजय सम्भव भएको मानिएको थियो जसको आरम्भ भारतमा नरेन्द्र मोदीको २०१४ मा भएको विजयदेखि भएको मानिँदै छ ।
आखिर ती के कस्ता परिस्थिति हुन् जसले कर्पोरेट पुँजीवादलाई नयाँ बाटो खोज्न र अझ अघि बढ्न प्रेरित गरिरहेका छन् ? हुन त युरोपमा औद्योगिक पुँजीवादको विकासको साथसाथै राष्ट्र-राज्यहरूको उदय भएको थियो । औद्योगिक पुँजीवादका लागि आवश्यक बजार, पुँजी तथा विज्ञान एवं प्रविधिको विकासलाई राष्ट्र-राज्यहरूको ठूलो संरक्षण र प्रोत्साहन मिल्यो ।
सन् १७८२ मा भएको अमेरिकी क्रान्ति र त्यसपछि युरोपमा भएको फ्रान्सेली क्रान्तिले उच्च, आदर्शवादी लक्ष राखेता पनि यथार्थमा राष्ट्र-राज्यहरू र पुँजीको गठजोडबाट पश्चिमा देशहरूमा औद्योगिक विकास ल्याउने काम त्यसले गर्यो । सन् १४९२ मा कोलम्बसको समुद्री यात्राबाट सुरु भएको भूमण्डलीकरणले सन् २०१७ लाग्दै गर्दा पुँजीवाद तथा राष्ट्र-राज्यहरूको गठजोडको मद्धतले आफ्नो चरम अवस्था प्राप्त गरिसकेको थियो, जसमा राष्ट्र-राज्यहरू अब उसका लागि पहिला जस्तो सहयोगी रहन सकेका छैनन् या यसो भनौं कि तिनले एक किसिमले आफ्नो प्रासंगिकता गुमाउँदै गएका छन् । यसकारण यो आवारा विश्व कर्पोरेट पुँजीवाद यस्ता नयाँ हतियार र संस्थाहरू विकसित गरिरहेको छ जसले राष्ट्र राज्यको परिधि उसको नियमनको परिधिभन्दा बाहिर नहोस् । यीमध्येमा सबैभन्दा महत्वपूर्ण र शक्तिशाली आजको बजार हो जुन सर्वव्यापी भइसकेको छ । यसको दायरामा पृथ्वीका प्रत्येक वस्तु आइसकेका छन् । जल, जंगल, जमिन, खनिज तथा हावादेखि लिएर मानिसहरूको मेधा–निपूर्णता, महिलाहरूको कोख, बौद्धिकता, जीव कोशिकाहरू, अन्तरिक्ष कक्ष र यस्तै अरू सबै सबै कुरा यसका दायरामा सामेल छन् । यो सर्वव्यापी बजार लगभग सबै किसिमका नियन्त्रणबाट मुक्त छ । यो बजारको गति अब राष्ट्र–राज्यहरूले तय गर्दैनन् । त्यसका विपरीत बजारका शक्तिसमक्ष ती स्वयं असहाय या नतमस्तक छन् ।
यसले बजारमा समानताको सिद्धान्त चलाउँदैन बरू ‘जसको लाठी उसकै भैँसी’को सिद्धान्तजस्तो जंगली कानुन चल्छ या चलिरहेको छ । बजारका यी शक्तिलाई कहीँ कतैबाट कुनै चुनौती मिल्ने सम्भावना देखिएको या विकसित भएको छैन । भूमण्डलीकरणले यो बजारको निर्माण गरेको हो तर त्यो अब सबै नियमनभन्दा माथि छ र आफ्नो साम्राज्य स्थापित गरिसकेको छ । राष्ट्र-राज्य अब त्यसको अधिनमा छन्, यसकारण कल्याणकारी राज्य, संस्थाको जनतान्त्रीकरणको कुरा मन पराउँदैन । भूमण्डलीकरण गैरप्रासंगिक हुनुको दोस्रो ठूलो कारण हो विश्व पुँजीको अत्यन्त ठूलो संकेन्द्रीकरण । आज विश्वका केवल पाँच सय कम्पनीसँग विश्वको आधा पुँजी छ । विश्वका केवल एक प्रतिशत मानिस यस पुँजीको मालिक छन् र तिनकै मर्जी र आवश्यकता अनुरूप यो आवारा पुँजी आउने जाने गर्दछ । यो पुँजीले देश-देशबीच घृणा फैलाएर आफ्नो हतियार उद्योग र हतियार व्यवसाय तथा ड्रग (अवैध नशालु पदार्थ) बजारको एउटा ठूलो सञ्जाल विकसित गरेको छ, जसको केवल एउटै उद्देश्य मुनाफा, विश्वको बर्बादी जसको एउटा उदाहरण र परिणाम हामीले इराक, लिबिया, अफगानिस्तान, सिरिया तथा टर्कीमा भएको घटना देखिरहेका छौं ।
यसको गुञ्जन यस आवारा पुँजीका अड्डाहरूमा जस्तो अमेरिका, बृटेन, ब्राजिल, फ्रान्स र जर्मनीमा भएका आतंकवादी हमलाका माध्यमबाट पुग्दा त्यसका कान अवश्य ठाडा भए तर त्यसका जनविरोधी घिनलाग्दा खेल जस्ताको तस्तै निर्वाध किसिमले चलेकै छन् । यस पुँजीका लागि राष्ट्रहरूको सीमा र तिनको नियमनको कुनै अर्थ छैन । भारतको मोदीले चलाएको नोटबन्दीको खेल पनि त्यही कर्पोरेट पुँजीको एउटा नाटकीय खेलमात्र हो । हुन पनि यो आवारा पुँजीको कुनै आफ्नो देश हुँदैन । पूरा संसार उसको घर र खेल मैदान हो । डिजिटल करेन्सीका चलनले वास्तवमा यो अवैध पुँजीको लेन-देनको अनियन्त्रित बाटोलाई पक्का तुल्याउँदछ । यसरी पुँजी एकत्र गर्न राज्यको भूमिका महत्वपूर्ण छ र उपनिवेशहरूको लुटलाई सुगम बनाएको छ । तर, यो पुँजी अब प्रौढ भइसकेको छ र यसलाई अब राष्ट्र-राज्यको आवश्यकता पनि छैन । राष्ट्र-राज्यद्वारा यसको सुरक्षाका लागि लडिएका युद्धहरूले देश र समाजलाई बिनष्ट गर्न सक्तछन् जुन कुरालाई विश्वभर फैलिएको आतंकवाद र ड्रग (अवैध लागू पदार्थ) व्यवसायमा देखिरहेका छौं । यस पुँजीको हमलाको सबैभन्दा खतरनाक पक्षलाई आमजनताले देख्न सक्तैनन् । पुँजीको सबैभन्दा घातक र प्रहारकारी हतियार हुन् सञ्चारमाध्यम र सूचना प्रविधि जसले मिनेट भरमा मुद्दा भड्काउने र त्यसको तस्वीर बदल्ने क्षमता राख्दछन् ।
यो क्रोनि अर्थात् आवारा पुँजीको विस्तार, विकासको एउटा ठूलो कारण हो विश्व कर्पोरेट व्यवस्थाको प्रविधि नियन्त्रण र एकाधिकार । विज्ञान र प्रविधिको उपयोग बजारको विस्तार विश्वभरिबाट निचोरेर केन्द्रीकृत गरिएको छ, त्यो भूमण्डलीकरणको क्रममा भएको अद्भूत र भयावह कुरा हो ।
सञ्चारमाध्यम र सूचना प्रविधि यही बजारु मूल्यका विस्तार हुन् र तिनलाई स्थापित तुल्याउँदछन् । यस पुँजीलाई अगाडि बढाउन ती नयाँ सम्बन्ध विकसित गर्ने चिन्तामा हुन्छन् जसबाट विश्व राजनीतिक परिदृष्य बदलिइरहेको छ । तमाम आन्तरिक विरोध हुँदाहुँदै विश्वभरीका देशहरूमा उन्मादी राष्ट्रवाद, पारस्परिक घृणाको राजनीतिको विस्तार भइरहेको छ जुन यही आवारा पुँजीले रोपेको विषालु बिउको प्रतिफलबाहेक अरू केही होइन । यो क्रोनी अर्थात् आवारा पुँजीको विस्तार र विकासको एउटा ठूलो कारण हो विश्व कर्पोरेट व्यवस्थाको प्रविधि नियन्त्रण र एकाधिकार । विज्ञान र प्रविधिको जस्तो उपयोग बजारको विस्तार र विश्वभरिबाट निचोरेर केन्द्रीकृत गरिएको छ, त्यो भूमण्डलीकरणको क्रममा भएको अद्भूत र भयावह कुरा हो । सूचना प्रविधिले यस आवारा पुँजीको पक्षमा आम राय बनाउन, भोगवादी संस्कृतिको प्रसार गर्न तथा आमजनसाधारणलाई भ्रमित तुल्याउनमा धारिलो हतियारको रूपमा काम गरिरहेको छ । विज्ञान र प्रविधि पनि अब राष्ट्र निरपेक्ष छैन र यसको विकास र विस्तार पूर्णरूपले विश्व कर्पोरेट व्यवस्थाको हातमा छ ।
सर्वव्यापी बजारको नियन्त्रण मुक्ति, विशाल सघन पुँजीको मारकारी उच्छृंखलता र विज्ञान तथा प्रविधिको एकाधिकार खेलले देशदेशको राजनीतिलाई भ्रष्ट, सिद्धान्तहीन, लक्ष्यहीन, अराजक तथा अर्थतन्त्र र समाजलाई विखण्डन र पर्यायवरणलाई विध्वंश गरिदिएको छ । विश्व कर्पोरेट शक्तिहरू यही चाहन्छन् र यो चाहनालाई तिनले कमबेशी मात्रामा सफलीभूत पनि बनाइरहेका छन् । बजार, पुँजी र प्रविधिको यस खेलमा देशहरूभित्रका सामाजिक तानाबाना, सांस्कृतिक अस्मिता, मानवीय चेतनाको जसरी विनाश भइरहेको छ त्यससँग राज्य सत्ताहरू निःसहाय जस्तै देखिँदै आएका छन् । वास्तवमा यो विश्व कर्पोरेट पुँजीवादको विजय हो जसले उसलाई अझ अगाडि बढ्ने बाटो खोल्दछ । अनि पहिलाको जस्तै यो नवीकृत पुँजीवादी युगको अगुवाइ पनि बेलायत र अमेरिकामा बसेका कर्पोेरेट जगत्का शीर्ष व्यक्तिले नै गर्नेछन् । तिनले अनेक चुनौतीको समाना गर्नुपर्नेछ तर पनि ती निद्र्वन्द्व अगाडि बढ्ने नै अहिलेसम्मको स्थितिले दर्शाइरहेको प्रतीत हुन्छ । आमजनसाधारणकै बीच परस्पर र देशहरूबीच घृणा र विद्वेष फैलाएर यो आवारा पुँजीनिर्वाध आफ्नो राज्य चलाउन प्रबल इच्छाका साथ विश्वलाई नष्ट गर्न हात धोएर लागेको छ, पूरा विश्व समुदाय यतिबेला असहाय जस्तो देखिएको छ ।
विश्वभरिमा अहिले यसका विरुद्ध केवल ल्याटिन अमेरिकी देशहरूले मात्र केही चुनौती दिइरहेका देखिन्छन् । अरू कतै केही छैन तर सधैं यही प्रवृत्ति रहन्छ भन्ने छैन । विश्वलाई आक्रान्त पार्ने यो कर्पोरेट पुँजीवादविरुद्ध जनलहर उठ्नु अनिवार्य र स्वाभाविक द्वन्द्वात्मक नियम नै हो । अबको विश्व त्यसैतिर जाँदै छ । अन्ततः यस जनप्रवाहलाई कसैले रोक्न सक्तैन ।






