योजना आयोगमा थप तीन सदस्यको नियुक्ति

Read Time = 2 mins

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटको तयारीमा रहेको सरकारले राष्ट्रिय योजना आयोगमा पनि तीनजना सदस्य नियुक्त गरेको छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधा अर्थात् पूर्वाधार, समग्र अर्थतन्त्र, व्यापार, शिक्षा, अन्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्दैै आउनुभएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्नुभएका विज्ञ प्राडा आरपी विछा र प्रभु बुढाथोकी पनि सदस्यमा नियुक्त हुनुभएको छ । हाल प्रभु बुढाथोकी काठमाडौंबाहिर रहनु भएकाले शपथ हुन सकेको छैन ।

अष्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख भएर काम गर्दै आउनुभएकोे थियो । आयोगले नयाँ सदस्यको नियुक्तिसँगै प्रभावकारीरूपमा नीतिगत साथै समग्ररूपमा राष्ट्रिय योजना तथा कार्यक्रमको सूक्ष्म समीक्षा गरी अघि बढ्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई यसअघि नै नियुक्त गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको व्यस्ततामा रहेको सरकारले आयोगमा तीन सदस्य थप गरेको हो । सरकारले यसअघि नै डा. रामकुमार फुँयाल र डा. जयकान्त राउतलाई सदस्यमा नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज