आज अक्षय तृतीया पर्व मनाइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज (आइतबार) सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै छ । जौको सातु र सर्वत यस पर्वको विशेष महत्व रहेको छ । आजका दिन स्नान, दान, ध्यान, जप, होमलगायत पुण्य कर्म गरे कहिल्यै नाश नहुने वर्णन विभिन्न धर्मशास्त्र र पुराणमा गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने हुँदा दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको चलिआएको परम्परा हो ।

शास्त्रीय विधानअनुसार ब्रहृममूर्तमा उठी स्नान गरी, सोह्र पूजा सामग्रीद्वारा विष्णुको पूजा गरिन्छ । गुरु-पुरोहितलाई पूजेर शुद्ध जल तामा वा माटाको भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडासँगै जौको सातु दान गर्ने हाम्रो वैदिक सनातनी परम्परा छ । यो मिलाइएको सर्वत सेवन गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने जनाइएको छ ।

आज वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै अक्षय फल प्राप्त हुने अर्थात् यस दिन गरेको शुभ कामबाट कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रका जानकार एवं नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्राडा. देवमणि भट्टराईको भनाइ छ । डा. भट्टराईका अनुसार अक्षय तृतीयका दिन गरिने घडालाई धर्मघटादि दान पनि भन्ने गरिएको छ । यसैदिन बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राहृमणलाई दान दिँदा अक्षय प्राप्त हुने उहाँ बताउनुहुन्छ ।

ADVERTISEMENT

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको शास्त्रोक्ति वर्णन गएिको छ । यसदिन विवाहका लागि मात्र आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता थियो तर यस वर्ष अन्धशुक्र भएकाले विवाह गर्न वजित गरिएको डा. भट्टराई बताउनुहुन्छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन रहेको छ ।

मनाइँदै परशुराम जयन्ती
अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवी मध्येका एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएको विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्म भएको मानिएको छ । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । आजकै दिनबाट त्रेता युगको सुरुवात भएको मानिन्छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार व्रत बसी विष्णुलाई पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तोयराज नेपाल बताउनुहुन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको उहाँ बताउनुहुन्छ । सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वस्थ्य रहने सन्देश दिएको जानकरहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *