काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा. अनन्त मोहन र आइसियु विज्ञ डा. पुनित मिश्रको टोली संलग्न रहेको छ । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको थियो । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । परिवारको दबाब र शिक्षण अस्पतालका चिकित्सकको सल्लाहअनुसार पौडेललाई बुधबार श्री एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको थियो । उहाँको फोक्सोमा पानी जमेर संक्रमण भएको छ । निमोनियाको पनि समस्या देखिएपछि थप उपचारका लागि पौडेललाई दिल्ली लगिएको हो ।
चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको समस्या फोक्सोको बाहिरी भागमा हुने झिल्लीसँग सम्बन्धित हो । उपचारमा संलग्न एक डाक्टरका अनुसार उहाँलाई छातीसँग सम्बन्धित समस्याका लागि दुई हप्तादेखि एन्टिबायोटिक दिइएको थियो । मंगलबार बिहान राष्ट्रपति पौडेललाई एक्कासि रिंगटा चलेपछि अस्पताल पुर्याइएको थियो । चिकित्सकहरूले छातीमा देखिएको पहिलेकै समस्यालाई फेरि जाँच गर्न पठाएका थिए । तर, एन्टिबायोटिकले पनि संक्रमण पूरै निको हुन नसकेको रिपोर्टमा देखियो । राष्ट्रपति पौडेल यसअघि पनि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । फोक्सोबाहिर हुने झिल्लीमा पानी जमेको त्यो बेला पनि देखिएको थियो । संक्रमणका कारण उक्त अवस्था सिर्जना भएको देखिएपछि एन्टिबायोटिक चलाइएको थियो ।






