काठमाडौं । भारतको प्रसिद्ध सीपमेन्ट, कार्गो तथा ट्रान्सपोर्टेसन ग्रुप भी-ट्रान्सले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । भी-ट्रान्स ग्रुपले मंगलबार पूजा विधिसहित औपचारिकरूपमा ललितपुरको ज्वागलमा कार्यालयको शुभारम्भ गरेको हो ।
भी-ट्रान्स ग्रुपका नोर्दन एण्ड इष्टर्न इण्डियाका जनरल म्यानेजर विकास शेखरले भारतका ६० वर्षदेखि सीपमेन्ट तथा ट्रान्सपोर्टेसन सेवा प्रदान गर्दै आएको कम्पनीले नेपालमा पनि राम्रो व्यावसायिक सम्भावना देखेर कार्यालय स्थापना गरी सेवा सुरु गरिएको बताउनुभयो ।
कम्पनीले भारत, बंगलादेश र भुटानबाट समेत सेवा प्रदान गर्ने जनाएको छ । विकास शेखरले भन्नुभयो, ‘भी-ट्रान्सको भारतमात्र नभई दक्षिण एसियाभरि नै आफ्नो विस्तार गरेको छ । भारतका अधिकांश शहरमा हाम्रो उपस्थिति रहेको छ, जहाँ दुई हजार पाँच सय कर्मचारी कार्यरत छन् । नेपालमा अधिकांश उपभोग्य वस्तु भारतबाट आउने गरेकाले यहाँ हामीले व्यवसाय विस्तारको राम्रो सम्भावना देखेका छौँ ।’
उहाँले निकट भविष्यमै नेपालभर सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको पनि बताउनुभएको छ । सो अवसरमा कम्पनीका एसिया म्यानेजर कुन्दनप्रसाद साह र सिनियर म्यानेजर केएस दासलगायतको उपस्थिति रहेको थियो । भी-ट्रान्स ग्रुपअन्तर्गत भी एक्सप्रेस र भी लजिकलगायत रहेका छन् ।







Breaking news with related posts