काठमाडौं । निर्माणाधीन समिट रेसिडेन्सी विवादबारे सिजी डेभलपर्सले स्पष्टीकरण दिएको छ । उसले समिट होटल प्रालिले विकास गरिरहेको परियोजनासँग सिजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टिका टिप्पणीप्रति कम्पनीको गभीर ध्यानाकर्षण भएको जनाएको छ ।
समिट होटल प्रालिमा उक्त होटल सञ्चालनमा रहेको समयदेखि हाल समिट रेसिडेन्सीको परियोजनासम्ममा सिजी डेभलपर्स जम्मा ३० प्रतिशत साझेदार रहेको र बाँकी ७० प्रतिशत हिस्साको साझेदारमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, सञ्चित श्रेष्ठ र उनीहरूको परिवार रहेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार समिट होटलले अघि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी सञ्चित श्रेष्ठले लिनुभएको छ । त्यसैले परियोजनाको निर्माणक्रममा सिजी डेभलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको सिजी डेभलपर्सको दाबी छ ।
सिजी डेभलपर्स प्रालिका अध्यक्ष राहुल चौधरीद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन् भन्नेबारेमा हामी विदितै छौँ । सिजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सिजी हिल्स, माउण्ट भ्यु रेसिडेन्सी फेज एक, दुई र तीन विकास गरेको हो । अहिले ललितपुरको भैंसेपाटीमा सिजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाको व्यावसायिक व्यवस्थापन र सञ्चालन सिजी डेभलपर्सले गर्छ ।
समिट होटलको परियोजनाका सम्बन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रूपमा सञ्चित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको विषय हामीलाई पनि जानकारी भएको छ र यस सम्बन्धमा आवश्यक थप जानकारी उहाँमार्फत् नै आउनेछन् भन्नेमा पनि हामी सबैलाई विश्वस्त रहन आग्रह गर्दछौँ ।’ निर्माणाधीन समिट रेसिडेन्सीका कारण आसपासका व्यक्तिगत आवासीय भवनहरू भासिएपछि सिजी डेभलपर्सको चौतर्फी आलोचना भइरहँदा कम्पनीले आफ्नो बचाउ गरेको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts