आजको एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन : अध्यक्ष ओली

‘योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौँ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताउनुभएको छ । एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको धारणा राख्नुभएको हो । उहाँले पार्टीका नेताहरूलाई स्वार्थका लागि विवाद नगर्न पनि आग्रह गर्नुभयो । ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि, स्वार्थका लागि यसो गु्रप बनाएझैँ, खेल्न खोजेझैँ, त्यस्तो खालको नगर्नुहोला,’ उहाँले भन्नुभयोे, ‘एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौँ । यसमा तलमाथि हुँदैन ।’

ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको पनि बताउनुभयो । पार्टीमा आबद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रूपमा रहन सकेको उहाँको भनाइ थियो । ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु-आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन् । अनमेसंघ र अरू संगठनहरू सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरि एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरिरभरी घाउ, नीलडाम होलान् तर एमाले फेरि पनि जुरुक्क उठेको छ,’ ओलीले भन्नुभयोे, ‘अरूभन्दा अलि बलियो, अरूभन्दा अलि व्यापक, अरूभन्दा अलि अग्लो त्यसरूपमा एमाले उभिएको छ । यसमा महिलाहरूको निष्ठाले काम गरेको छ ।’

ADVERTISEMENT

अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्नलायक काम गरेको पनि बताउनुभयो । उहाँले पार्टीको उद्देश्य प्राप्त हुने गरी महिला संगठन चलायमान हुनुपर्ने बताउनुभयो ।

मुकुन्द न्यौपानेद्वारा नेकपा एस परित्याग, एमालेमा जाने तयारी
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएकोे छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्नुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) ले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउनुभयो । उहाँले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गर्नुभयो । उहाँले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गर्नुभयो । नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ–नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन पाँच वर्ष नजाने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *