वैदेशिक रोजगारीमा रहेका पनि सामाजिक सुरक्षामा

Read Time = 6 mins

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरूको सामाजिक सुरक्षा योजना ल्याएको छ । औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रहेको सन्दर्भमा सामाजिक सुरक्षा कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ल्याएको हो । कार्यविधिको बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्नुभयो ।

नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिक कम्तीमा सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई रुपैयाँ मासिकरूपमा र अधिकतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । कार्यविधिले नियमितरूपमा योगदान गर्ने योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजना ल्याएको छ । नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्ति वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहनेका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आबद्ध हुने व्यवस्था गरिएको छ । साथै श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिले कोषको वेबसाइटमार्फत् सूचीकृत हुन सक्ने व्यवस्था गरिएको छ ।

कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको छ ।

ADVERTISEMENT

सूचीकरण तथा योगदान रकम संकलनलगायतका कार्यमा सहजीकरण गर्न २४ सै घण्टा खुला रहने गरी कोषको कल सेन्टर र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ । त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) र कोषबीच सहकार्यका लागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएका एनआरएनए सञ्जालबाट समेत आवश्यक सहयोगको प्रतिबद्धता प्राप्त भएकाले कोषमा आबद्ध हुन थप सहजीकरण हुने कोषले जनाएको छ । सो अवसरमा मुख्यसचिव डा. शंकरदास वैरागीले एनआरएनएहरूको सीप र पुँजी नेपालको समृद्धिमा लगाउन सरकारले सहजीकरण गरेको बताउनुभयो । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुवात भएको उहाँको भनाइ थियो ।

कोष सञ्चालक समिति अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई नयाँ योजनाले समेट्ने बताउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्था स्मरण गराउँदछु र यस योजनामा समावेश गर्दा उक्त अवस्था ध्यानमा राख्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।’

एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताउनुभयो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज