सिन्धुली । जब खाजा खाने बेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।
‘आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दुधिलो, मकै
स्वादिलो नुन, खुर्सानी, टिमुर
खाए मकै नखाए, भोकै’
लय हालेर ‘आउनुहोस्, हजुर मार्नुहोस् थकाई, खानुहोस मकै, नजानुस् भोकै’
सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो ध्वनिले पैदल यात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँ-बायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरि झुमिन्छन् । लाग्छ, नीरबहादुरको कुरा सबैले सुनिरहेका छन्, उहाँले भन्नुभएको कुरा मानिरहेका छन् । पोलेको मकैै सडकमा बेच्नु पनि सम्मानीय व्यवसाय गरेको भन्ने बुझाउन तथा व्यसायमा फरकपन र नयाँपन देखाउन यो तरिका अपनाइएको नीरबहादुरले बताउनुभयो ।
बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त हुनुहुन्छ, नीरबहादुरको श्रीमती ४० वर्षीया शान्ता विक । शान्ताभन्दा २२ वर्षले जेठा नीरबहादुरलाई सुगर, प्रेसरसहित पाँचथरीका रोग छन् । उहाँ श्रीमतीलाई हम्र्यानोको रूपमा मात्र सघाउनु हुन्छ ।
दुई छोराछोरीकी आमा शान्तालाई यतिबेला मकै पोलेर बेच्न भ्याईनभ्याई छ । दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिन-पसिन भएर मकै पोल्दै गर्नुभएकी शान्ताले आफूले पोलेको मकै श्रीमानले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताउनुभयो । पसिना पुछ्ने उहाँसँग रुमाल वा सारीको फेरी थिएन । कुर्था पसिनाले निथ्रुक्क भिजेको थियो । मकै पोलेर कालै भएको हातले पसिना पुछ्दा अनुहारमा लागेको कालोले उहाँको सुन्दरतामा कति पनि असर गरेको थिएन । लुगा पुरानै भए पनि सुकिलो, हँसिलो मुहार भएका दम्पतीको सहकार्य उदाहरणीय देखिन्थ्यो ।
धनुषाको मिथुला नगरपालिका-११ कालीखोला छेउमा पुख्र्यौली घर भएका दम्पती सिन्धुलीमा आएर दुई वर्षदेखि मकै बेचेर भएको कमाइले जीविका धान्दै आउनुभएको छ । दैनिक ५० घोगा बढी मकै बिक्री भइरहेको शान्ताले बताउनुभयो । ‘दिउँसो १ बजेबाट साँझसम्म ५० वटाभन्दा पोलेको घोगा बेच्छौँ । प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक पाँच सय आम्दानी भइरहेको छ,’ उहाँले भन्नुभयो ।
मौसम (सिजन) मा प्रतिगोटा १५ रुपैयाँमा पाइने मकै बेमौसम (अफसिजन)मा २० रुपैयाँमा किन्ने गरेको उहाँले सुनाउनुभयो । जतिसुकै चर्को घाम लागोस् वा गर्जेर पानी यसले आफ्नो काममा कुनै प्रवाह नगर्ने तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक र सवारी साधनका धनीहरूको पटक–पटक भनाइ सहनुपरेको उहाँले दुःखेसो गर्नुभयो ।
दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिवर्तन गरेर अन्य जातिको थर बताउनु परेको पीडा पनि दम्पतीले पोख्नुभयो । ‘सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै खाएनन्, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिवर्तन गरेर भन्न थाल्यौँ,’ शान्ताले भन्नुभयो, ‘अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने कुरा थाहा छैन, मकै किन्न आउनेले सोध्दा ‘माझी’ भन्ने गरेका छौँ ।’
मकैको घोगा आफ्नो परिवारको जीवन निर्वाह गर्ने आधार भएको उहाँको भनाइ छ । पोलेको मकै व्यवसायमा शान्ता दम्पतीले १५ हजार ठेलामा लगानी गरेका छन् । १२ रुपैयाँ किलो दाउरा, दुई सय रुपैयाँ बोरा कोइला मकै पोल्न आश्यक पर्छ । उहाँका अनुसार सय रुपैयाँ खर्च गर्दा दुई सय बढी मकै पोल्न सकिन्छ । हरियो मकै किन्न अन्यत्र जानु नपर्ने, ठेकेदारले घरमै ल्याइदिने उहाँले बताउनुभयो ।
मकै पोल्दै गर्नुभएको शान्ताको ठेला वरिपरि बसेर मकै मिठो मानेर खाइरहेका स्थानीबासिन्दाहरू आफूहरूलाई उसिनेको भन्दा पोलेको मकै खान मन लाग्ने र स्वादिष्ट पनि हुने बताउँछन् । मकै चपाउँदै गर्नुभएका युवा किशोर थापाले भन्नुभयो, ‘पोलेको मकै स्वादिलो मात्रै होइन, स्वास्थ्यवर्धक पनि हुन्छ ।’
मकैमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । नीरबहादुरले भन्नुभए जस्तै रसिलो, पोषिलो, दुधिलो मकैमा टिमुर राखेर पिसेको नुन र खुर्सानीले अझ स्वादिलो बनाइदिन्छ । उपभोक्तालाई स्वादिलोसँगै स्वास्थ्यलाई स्वस्थ राख्ने खाजाको रूपमा पोलेको मकै सहज रूपमा उपलब्ध गराउन शान्ता दम्पती यतिबेला सडकमा हाजिर छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts