अनियमितता, घोटाला समग्रमा भन्दा कुशासन र विधिविहीनताको पसारोलाई कसरी, किन ? के आधारमा लोकतान्त्रिक शासन भनियो ? यस्ता शासकलाई कसरी लोकतान्त्रिक शासक भन्ने ? लिखितममा लोकतान्त्रिक व्यवहारमा अलोकतान्त्रिक शासन, क्रुर शासकहरूको सिकार नेपाली जनता कहिलेसम्म हुने ? यो युगको कहिल्यै नबिर्सने, कहिल्यै नसच्चिने कुशासन, अनियमितता, भ्रष्टाचार, नातावाद, परिवारवादको विषाक्त उपहार दिने नेपाली राजनीतिका षड्यन्त्रकारी खेलाडीमात्रै छैनन् अभ्यस्त पनि छन् । दुर्भाग्य यस्ता विकृतिलाई नेतृत्वले जीवन पद्धति बनाएको छ । विकृतिको विगत दुई-तीन दशकदेखि निरन्तर नेतृत्व गर्नेमध्ये ओली, दाहाल, देउवा प्रमुखमध्येका हुन् ।
यिनीहरूले न कुर्सीमोह त्याग्छन् न सुशासनको बाहली गर्न सक्छन् । व्यक्तिगत समृद्धिका दृष्टिकोणले आफूहरूलाई सफल प्रमाणित गरे भने देशको समृद्धि र विकासमा यिनीहरू पूर्णतः अक्षम प्रमाणित भए । यिनीहरूले आलोपालो प्रधानमन्त्रीको कुर्सी ओगट्दा देशले निकास पाएन । विकल्प यिनीहरूले कि कुर्सीमोह त्याग्नुपर्छ कि सुशासन बहाली गर्न सफल भएको प्रमाण जनतासमक्ष तत्काल पेस गर्नैपर्छ । भाषणको सुशासनको जगमा उभिएको कुशासनरूपी अत्याचार असहृय भयो । अब कि सुशासन व्यवहारमा बहाली गर कि कुर्सी छोड भन्ने आन्दोलन अपरिहार्य बन्यो । अझ खतरनाक विषय के भएको छ भने एकदलको बहुमत हुने अवस्था समानुपातिक पद्धतिले सधैं छेक्दा गठबन्धन सरकारको चाबी शेरबहादुर, पुष्पकमल र खड्गप्रसादहरूको हातमा घुमी रहने अवस्था छ ।
नेतृत्वले विकृतिहरूको डंगुर थुपारे । परिणामस्वरूप अब दलीय व्यवस्था नै बेठीक हो भन्ने परिस्थितिमा जनतालाई पुर्याइयो । हाम्रो समस्या भनेको एउटा दलले गरेको कमजोरी र विकृतिको भण्डाफोर अन्य दलबाट हुने अवस्था छैन ।
सायद समानुपातिक पद्धतिले सधैं हामी सँगसँगै सत्ताको कुर्सी नाचिरहन्छ भन्ने पूर्वानुमानले समानुपातिक पद्धति अवलम्बन गरिएको हो । समानुपातिक व्यवस्था नेताहरूले चरम भ्रष्टाचार गर्ने र नातावाद, फरियावाद जस्ता विकृतिहरूका कारण व्यवस्था नै बदनाम भयो । एउटा दलले समानुपातिकको मर्म र धर्ममा प्रहार गर्दा अन्य दल तैँ चुप मै चुप किन ? एउटा दलले गरेको अनियमितता, भ्रष्टाचार, विकृतिलाई अन्य दलहरूले तत्काल सशक्त विरोधका माध्यमले सुध्रने र सुधार्ने परिस्थिति बन्छ भन्ने दलीय शासनको मान्यता हो । एउटा दलले गरेका कुकर्मलाई अन्य दलले टुलुटुलु हेर्ने र मौका पर्दा त्यो विकृतिको नेतृत्व गर्न अन्य दलहरू पछि नपर्ने अवस्थाले दलहरूले नै दलको धर्म र मर्मविपरीत काम गरे ।
नेतृत्वले विकृतिहरूको डंगुर थुपारे । परिणामस्वरूप अब दलीय व्यवस्था नै बेठीक हो भन्ने परिस्थितिमा जनतालाई पु¥याइयो । हाम्रो समस्या भनेको एउटा दलले गरेको कमजोरी र विकृतिको भण्डाफोर अन्य दलबाट हुने अवस्था छैन । मुख्य तीन दलहरूको हातमा सत्ताको साँचो छ । तीन दल झगडा गरेजस्तो देखाउने र अन्त्यमा सत्ताको सम्भावना जता हुन्छ त्यतै मिल्ने र स्वार्थ पूरा गर्ने चरित्रले राजनीतिक रूपमा दल र अहिलेसम्म दलको नेतृत्व गर्ने अक्षम प्रमाणित भए । यो दलीय व्यवस्था र दलीय शासनको दुर्भाग्यपूर्ण यात्रा हो । सबै दलहरूले आफ्नो सिद्धान्त र निष्ठालाई व्यवहारमा त्यागे । परिणामस्वरूप दलका नेताप्रति जनताको भरोसा र विश्वास शून्य प्रायः छ ।
नेपाली लोकतन्त्रको विषयमा राजनीति विज्ञानका अनुसन्धाताले अनुसन्धान गर्ने राम्रो विषयवस्तु हो । हिजो गरिबलाई आय तथा निमुखालाई न्याय भन्न नथाक्नेहरू अहिले धनीलाई आय र निमुखालाई अन्याय गर्न तल्लीन छन् । विवेकलाई पद र धनका लागि ठेक्का दिएपछि उसले गर्ने अन्याय, अत्याचार असहनीय हुन्छ । सत्तालाई सधैं कमाउ धन्दा बनाउने, सत्ताबाहिर हुँदा बिलौना गर्ने प्रवृत्ति र संस्कृतिले राजनीतिमा सिद्धान्त र निष्ठाको नितान्त खडेरी भयो ।
सत्तामा हुँदा उत्पीडनको हतियार चलाउने र सत्ताबाहिर हुँदा जनताको गरिबी, अभावका विषयमा गोहीको आँसु झार्ने तर सत्तामा पुगेपछि कामचोर कर्मचारी, घोटाला विज्ञ, ठेकेदार, तस्कर, बिचौलियाका चाहना र भावनालाई प्रतिनिधित्व गर्ने, सत्ताबाहिर हुँदा जनताको गरिबी, अभाव, बेरोजगारी, व्यापार घाटा, परनिर्भरताको चासो-चिन्ताको बहाना गर्ने तस्कर, मुनाफाखोर, बिचौलिया राजनीतिक नेतृत्वको जनताले जति धिक्कार्दा पनि कम हुन्छ । कुशासनका र भ्रष्टाचारका नाइकेहरूको पालैपालो शासन नै हाम्रा आन्दोलनहरू र परिवर्तनको उपलब्धि भएको छ । काठमाडौं विश्वविद्यालयलाई नेपालका विश्वविद्यालयहरूमा गुणस्तरीय, व्यवस्थित विश्वविद्यालयको रूपमा व्याख्या गर्ने गरिन्छ तर भरखरै भएको दीक्षान्त समारोहमा परीक्षा अनुत्तीर्ण विद्यार्थीहरू दीक्षित भए ।
यसले विश्वविद्यालयको गुणस्तरको नांगेझार गर्यो । त्रिभुवन विश्वविद्यालयको परीक्षामा प्रथम हुनभएको घोटालाको कारबाही नटुंगिँदै काठमाडौं विश्वविद्यालयमा भएको घटनाले हामीले घटनाबाट सिक्न र सुधन किन सिकेनौं ? नेपाल विकृतिहरूको डुंगुर थुप्रिएको देश हो भनेर कसैले भन्यो भने हामीले होइन भन्ने आधार विश्वविद्यालहरूको परीक्षाका घटनाले नामेट पारेका छन् । यी घटनाले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयहरूले हालसम्म आर्जन गरेको प्रतिष्ठा र इज्जतको सिरीखुरी भएको छ । अहिलेसम्म हामीले गुणस्तरीय शिक्षाको धरोहर भनेर विश्वास गरेका विश्वविद्यालयहरूको अवस्था त यति जरजर रहेछ भने अब अन्य विश्वविद्यालयको अवस्था कति दयनीय होला ? विश्वविद्यालयले परीक्षा उत्तीर्ण नै नभएको विद्यार्थीलाई दीक्षित गर्ने विषय लाजमर्दो तथा निन्दनीय हो ।
बहुदलीय शासन व्यवस्थालाई असफल बनाउने सूत्र भनेकै नपढेका प्रधानमन्त्री, मन्त्री, परीक्षा नै पास नगरिकन दीक्षित र शिक्षितहरू अर्थमन्त्री, मन्त्री, कर्मचारी छन् भने त्यो देशमा विकास, समृद्धि र सुशासनको आशा गर्नु भनेको सोम शर्माले मागेर ल्याएको दुईचार मुठ्ठी सातुबाट सम्पन्नताको कल्पना गरेजस्तै हो ।
यस्तो घटनाले विश्वविद्यालयहरूको प्रतिष्ठा कहिल्यै उठ्न नसक्ने गरी धस्सिएको छ । देशको प्रतिष्ठित र गुणस्तरीय भनेर बखान गर्दै आएका विश्वविद्यालयको अवस्था सुन्दा र पढ्दा यो देश सुध्रँदैन बरू बिग्रने ठाउँहरूको अझै कमी छैनजस्तो लाग्यो । यस्तै विश्वविद्यालयमा हल्लिएका, परीक्षामा चिट चोरेर पास गरेका, विश्वविद्यालयमा भर्नासम्मको शैक्षिक योग्यता नभएका, विश्वविद्यालयको परिसरमा कहिल्यै पनि खुट्टासम्म नटेकेका व्यक्तिहरू विश्वविद्यालयको कुलपति जस्तो सर्वोच्च पदमा बहाल हुन पाउने संवैधानिक व्यवस्थाका कारण विश्वविद्यालयलाई लथालिंगमात्रै होइन भताभुंग पारे ।
विश्वविद्यालय कुन चिडियाको नाम हो भन्ने थाहा नपाउने व्यक्ति विश्वविद्यालयको कुलपति र जीवनमा अर्थशास्त्रको सिद्धान्तको कखरा पनि नचिनेकाहरू अर्थमन्त्री हुने पद्धतिले देश विकसित र समृद्ध हुन्छ भन्ने संवैधानिक व्यवस्था र अवस्थाले देश दिनप्रतिदिन सबै आर्थिक, सामाजिक सूचकांकमा ओरालो लागेको छ । ओरालो लागेको देशको अवस्थालाई उकालो लागेको देख्नेहरूको नेतृत्वमा प्रजातन्त्र सुदृढ हुन्छ र विकास र समृद्धिसमेत आउँछ भनेर विश्वास गर्दा देशले इतिहासमै नभोगेको परनिर्भरता, गरिबी, अभाव र बेरोजगारी जस्ता समस्यामा जाक्किएको छ ।
प्रधानमन्त्री र अर्थमन्त्रीको योग्यता र चरित्रले देश सुध्रने बाटोमा होइन बिग्रने, भत्कने र सक्किने बाटोमा अझै बुर्कुसी मार्दछ भन्दा अत्युक्ति हुँदैन । यस्तो अवस्थामा विकास र समृद्धिका गफ हान्नेहरू ठग हुन् । बहुदलीय शासन व्यवस्थालाई असफल बनाउने सूत्र भनेकै नपढेका प्रधानमन्त्री, मन्त्री र परीक्षा नै पास नगरिकन दीक्षित र शिक्षितहरू अर्थमन्त्री, मन्त्री र कर्मचारीहरू छन् भने त्यो देशमा विकास, समृद्धि र सुशासनको आशा गर्नुभनेको सोम शर्माले मागेर ल्याएको दुई–चार मुठ्ठी सातुबाट सम्पन्नताको कल्पना गरेजस्तै हो । काठमाडौं विश्वविद्यालयको यस घटनाले पियनदेखि राष्ट्रपतिसम्मको प्रमाणपत्रहरूको छानविन गर्नुपर्ने चुनौती थपिदिएको छ ।
सबै जिम्मेवारहरूको सम्पत्ति छानविन, त्यसको राष्ट्रियकरणबाट मात्रै समृद्धि र विकासको चरण बल्ल सुरु हुन्छ । यसअघि विकास र समृद्धिका भाषण फगत भ्रष्टाचार गर्ने बहाना हुन् कि चाहाना ? विकृतिहरूको निवारणका लागि नैतिकता, आचरण, इमानदारी र इन्टिग्रिटीलाई अभिवृद्धि गर्ने शिक्षा पद्धतिको कठोरतापूर्वक अवलम्बन गर्ने प्रतिबद्धताविना समाधान निस्कँदैन । संसारका देशहरूको विकास भ्रष्टहरूको शासन र अनपढ बेतुकका भाषणले भएको होइन । विकास समृद्धि र सुशासनको प्रत्याभूति गर्ने संकल्प भएको योग्य, सादगी र सदाचारी नेतृत्वले गर्छ न कि विकृति उत्पादन गर्ने वर्तमान नेतृत्वले ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा