
✍️ प्रा.डा.माधवप्रसाद लामिछाने
१. विषय प्रवेश
विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चित हिंसा र अहिंसाका विषयले अधिकाधिक महत्व पाएका छन् । सदातनदेखि मनुष्य-समाज क्रमशः हिंसाबाट अहिंसातर्फ उन्मुख हुने जमर्को गरिरहेको छ । तर कुनै पनि विषय वाद र सिद्धान्तका रूपमा स्थापित हुन सहजै सम्भव हुँदैन । हिंसा र अहिंसाको प्रयोगलाई पनि देश, काल तथा परिवेशले डोर्याइरहेको हुन्छ । समाजमा चलिरहने विविध बहसमध्ये मासु खान हुने कि नहुने ? भन्ने विषय पनि एक हो । हाम्रो विद्वत् परम्परामा पनि मासु खान हुने र नहुने विषयमा ठूलो विवाद चलिआएको छ । नेपाली समाजमा कुलायन तथा देवीहरूलाई बलि दिने गरेको पाइन्छ, यस परम्पराको विरोध र समर्थनमा ठूलै विवाद चलिआएको छ । अतः संक्षेपमै भए पनि यस लेखमार्फत् मानवादि धर्मशास्त्रहरूमा यस विषयमा केकस्तो उल्लेख गरिएको रहेछ र यस विषयलाई कसरी उपसंहार गर्न सकिन्छ भनी चर्चा गर्न खोजिएको हो ।
१.१ पूर्वपक्ष
हाम्रा धार्मिक ग्रन्थहरूमा पशुहिंसा तथा मांसभोजनका विषयमा चर्चा गर्दा अत्यन्त सावधानी अपनाइएको पाइन्छ । सिधैं पशुहिंसा र मांसभोजनलाई स्वीकार गरिएको देखिँदैन तथापि घुमाइफिराइ बलि चढाइएको मासु खान हुने वा खानै पर्ने कुरासमेत उल्लेख गरिएको पाइन्छ । तर बलि न चढाइएको तथा मासु नखाँदा पनि सुरक्षित हुनसकिने परिस्थितिमा मासु खाँदा दोष लाग्ने कुराको चर्चा पनि ऋषिहरूले गरेका छन् । अर्चना न गरिएको अर्थात् बलि नचढाइएको मासु खानु हुँदैन भनी लेखिएको पाइन्छ, यसको मतलब विधि पुर्याएर मासु खान हुने देखिन्छ । धर्मशास्त्रमा के उल्लेख गरिएको छ भने,
‘न भक्षयति यो मांसं विधिं हित्वा पिशाचवत् ।
स लोके प्रियतां याति व्याधिभिश्च न पीड्यते ।।’
अर्थात् ‘अवैध मांसभक्षणले लोकनिन्दा र रोगव्याधिको भय हुन्छ । यस प्रकारको अवैध मांसभक्षण गर्ने कार्य पिशाचहरूको हो, मानवको होइन ।’ यसको तात्पर्य विधिपूर्वक बलि चढाएको मासु भने खान सकिने कुरामा शास्त्रसम्मति देखिन्छ । जिब्भ्राको वशमा नपरी विशिष्ट कर्मद्वारा प्राप्त मांसभोजनले फरक नपार्ने कुरालाई मनन गर्न योग्य देखिन्छ । ब्रहृमचारीले विशेषगरी मधु-मांसादिको सेवन गर्न नहुने शास्त्रीय वचनहरू धेरै ठाउँमा पाइन्छ, ब्रहृमचर्य ग्रहण गरेर पनि शास्त्रनिषिद्ध मधु-मांसादिको भोजन गर्ने मनुष्यले प्रायश्चित्तस्वरूप ‘कृच्छ’ नामक कष्टसाध्य व्रत गरी ब्रहृचर्याश्रम समाप्त गर्नुपर्छ भन्ने उल्लेख गरिनुले ब्रहृमचारी बाहेकका गृहस्थहरूले मांसभक्षण गर्नहुने कुरालाई समर्थन गर्न खोजेको देखिन्छ ।
वेदनिरपेक्ष रही हिंसा र अहिंसाको परिभाषाको पहिचान गर्न असम्भव छ । हिंसाजस्तो देखिने कर्म जुन वेदानुसारी छ, त्यो वास्तवमा हिंसा नभई अहिंसा नै हो । वेदविहित नियत किसिमका हिंसा भनेका शाब्दिक हुन् आर्थिक होइनन्, त्यसैले यस प्रकारका हिंसालाई अहिंसा नै भन्नुपर्छ । शास्त्रको प्रतिपादन भनेको धर्मको प्रकाशन हो ।
धर्मशास्त्रमा आएका मासु खानहुने वचनहरू अलि क्लिष्ट छन् । एक ठाउँमा के भनिएको छ भने, ‘स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति । अनभ्यच्र्य पितृन् देवान् ततोद्रन्यो नास्त्यपुण्यकृत् ।।’ अर्थात् देवता तथा पितृहरूलाई वास्तै नगरी केवल पशुमांस भक्षण गरी आफ्नो मासु बढाउने काम निन्दित छ, यसप्रकार कसैले मासु खान्छ भने त्यो अपराधी हो भनिएको छ । तर यस यस उक्तिबाट पनि तत्वतः मासु खानु हुँदै हुँदैन भन्ने कुरा सिद्ध हुँदैन । वास्तवमा यो संसारमा कि हिंसा छ, कि अहिंसा छ । अर्थात् हिंसा र अहिंसामय द्वन्द्वका बीचमा सृष्टिको अस्तित्व विद्यमान रहेझैँ प्रतीत हुन्छ । मानव धर्मशास्त्रका प्रवर्तक मनुले हिंसा र अहिंसाका विषयमा एक विलक्षण वाणी बोलेका छन् । उनले स्पष्ट शब्दमा भनेका छन् ।
‘या वेदविहिता हिंसा नियतास्मिँश्चराचरे ।
अहिंसामेव तां विद्यात् वेदाद्धर्मो हि निर्बभौ ।।’
अर्थात् हिंसा र अहिंसाको निर्धारण गर्ने विधायक शास्त्र भनेको वेद नै हो । वेदनिरपेक्ष रही हिंसा र अहिंसाको परिभाषाको पहिचान गर्न असम्भव छ । हिंसाजस्तो देखिने कर्म जुन वेदानुसारी छ, त्यो वास्तवमा हिंसा नभई अहिंसा नै हो । वेदविहित नियत किसिमका हिंसा भनेका शाब्दिक हुन् आर्थिक होइनन्, त्यसैले यस प्रकारका हिंसालाई अहिंसा नै भन्नुपर्छ । शास्त्रको प्रतिपादन भनेको धर्मको प्रकाशन हो । वेदको काम भनेको धर्मको प्रतिपादन प्रकाशन हो, अतः वेदको आदेश नै धर्म भएकोले वेदको आदेशलाई हिंसा ठान्ने अधिकार कसैलाई पनि छैन ।
१.२ उत्तरपक्ष
माथि जेजस्ता तर्क अघि सारी मांसभोजन वा पशुहिंसालाई सामान्यीकरण गर्न खोजिएको छ, त्यो भ्रमपूर्ण छ । वर्णधर्मका आधारमा हेर्दा अहिंसालाई चारैवटा वर्णका मानिसहरूको साझा धर्मका रूपमा ग्रहण गरिएको छ । ‘अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः । एतं सामासिकं धर्मं चातुर्वण्र्ये ब्रवीन्मनुः।।’ अहिंसा, सत्यवचन, अचौर्य, स्नानादिद्वारा शरीर-शुद्धि तथा इन्द्रिय-निग्रह जस्ता मानव-धर्ममध्ये अहिंसालाई मनुस्मृतिले अग्रस्थानमा राखेको छ । यसरी अहिंसालाई मानव मात्रको साझा धर्मका रूपमा ग्रहण गरिएको छ ।
समाजमा मासु खान हुन्छ भन्ने मानिसहरूले पनि प्राणीहिंसालाई भने अधम्र्य नै मानेको देखिन्छ । ठीक छ, प्राणीहिंसा अधम्र्य भन्ने कुरामा विवाद भएन तर मांसभोजन चाहिँ कसरी धम्र्य भयो त ? के प्राणीहिंसा नगरी मांसभोजन सम्भव छ त ? छैन । मासु आफैं उत्पन्न हुने वस्तु होइन । यसका लागि पशुहिंसा गर्नै पर्छ । प्राणीवध पाप हो, यो स्वर्गमार्गको अवरोध पनि हो । अतः मांसभोजन गर्ने कार्य त्याग्न जरुरी छ । यही कुरालाई शास्त्रप्रयोजक मनीषिहरूले यसप्रकार उठाएका छन् :
‘नाकृत्वा प्राणिनां हिंसां मांसमुत्पद्यते क्वचित् ।
न च प्राणिवधः स्वग्र्यस्तस्मान्मांसं विवर्जयेत् ।।’
अतः मासु खानु हुँदैन । शुक्र तथा शोणित (रगत) को अन्तिम परिणति भनेको मांसोत्पत्तिको कारक हो । गहिरिएर विचार गर्दा यो घृणास्पद पनि छ अनि निर्दोष प्राणीलाई बन्धनमा पार्ने र मार्ने जस्ता जघन्य कर्मबाट यो प्राप्त हुन्छ । अतः यसलाई ‘शास्त्रनिर्दिष्ट’ भन्दै भोजन गर्नु स्वयंमा दोषपूर्ण कार्य भएकोले शास्त्रको दुहाइ दिँदै मासुले उदरपूर्ति गर्ने कार्य त्यागी सात्विक जीवन यापन गर्नुपर्छ भन्ने तथ्य देखा पर्दछ ।
माथि जुन स्रोतहरूको चर्चा गर्दै विधिपूर्वक मांसभोजन गर्न सकिने भनी जुन आधार प्रस्तुत गरिएको थियो त्यो पनि द्रविण प्राणायाम झैँ कष्टसाध्य छ । त्यसमा त्रास छ । मांस शब्दको व्युत्पत्तिगत अर्थलाई मनन गर्दा पनि मांसभोजन जघन्य र परं कल्याणको प्रतिरोधक छ भन्ने कुरा ज्ञात हुनआउँछ ।
‘मां स भक्षयिताद्रमुत्र यस्य मांसमिहाद्म्यहम् ।
एतन्मांसस्य मांसत्वं प्रवदन्ति मनीषिणः ।।’
अर्थात् जुन प्राणीलाई आज म भोजन गर्दैछु, त्यस प्राणीले अर्को जुनीमा ‘मां सः’ अर्थात् मलाई त्यसले भोजन गर्नेछ, यस प्रकारको व्युत्पत्ति ‘मांस’ शब्दको रहेको छ । अतः शास्त्रले अस्पष्ट रूपमा दिएको निर्देशलाई राम्ररी नबुझी मासु खानैपर्छ भनेर रट लगाउनु त्यति मनासिब देखिँदैन । एक त निर्दोष प्राणीहरूको हिंसा गर्ने कार्य स्वभावैले निकृष्ट छँदैछ, त्यसमाथि पनि प्राणीहिंसा गरी आत्मतृप्ति लिनखोज्ने मनुष्यको यसलोक र परलोक दुवैमा हित हुँदैन भन्ने शास्त्रीय धारणा रहेको कुरा स्पष्टै छ भन्ने जान्दाजान्दै पनि मांसभोजनको पक्षपोषण गर्नु शास्त्रको आशय नबुझ्नु हो । यस दुनियाँमा सबैलाई सुख नै चाहिएको छ । दुःख, द्वन्द्व र लफडामा को पर्न चाहन्छ र ? आफू सुखप्राप्त गर्न चाहने व्यक्तिले अरूलाई पनि दुःख दिनु हुँदैन ।
‘यो बन्धनवधक्लेशान् प्राणीनां न चिकीर्षति ।
स सर्वस्य हितप्रेप्सुः सुखमत्यन्तमश्नुते ।।’
अर्थात् जसले कुनै प्राणीलाई बन्धनमा पार्ने र मार्ने दुबै काम गर्दैन अर्थात् त्यस्तो नियत पनि राख्तैन भने त्यस्तो व्यक्तिले वास्तवमा आत्यन्तिक सुख प्राप्त गर्दछ । धर्मग्रन्थहरूमा विशेषतः युगान्तरका लागि गरिएका मांस–बलिका विषयलाई लिएर कलि-कालका मनुष्यले ज्यादा होहल्ला गर्ने गरेको देख्दा कतै धर्मको आडमा मांसभोजनलाई बढावा दिनखोजिएको त होइन भनी शंका गर्न पनि सकिने स्थिति देखापर्छ । सत्यादि तीन युगमा अश्वमेध यज्ञको ठूलो गुणगान गरिए पनि सय अश्वमेध यज्ञ गर्ने धार्मिक जन र केवल मांसभोजन नगर्ने मनुष्यलाई समान किसिमको पुण्यफल प्राप्त हुने कुरालाई मनुस्मृति नामक गन्थमा स्पष्ट पारिएको छ ।
शास्त्रमा वर्णित अश्वमेधादि यज्ञहरू कलियुगका निमित्त प्रशंसार्थवादका रूपमा रहेका देखिन्छन् । शास्त्रले विशिष्ट परिस्थितिमा विशिष्ट कर्मद्वारा विशिष्ट संकल्प लिएका व्यक्तिले मात्र विधिपूर्वक मांसभोजन गर्नसक्ने भनी गरेको संकेतलाई आजको पदार्थवादी समाजमा समान्य नियमका रूपमा अथ्र्याई ग्रहण गर्नसक्ने वा ग्रहण गर्नुपर्ने भनी व्याख्या गर्दा धर्महानि हुने देखिन्छ ।
वैदिक शास्त्रको गम्भीर आलोडन गरी त्यसैको व्याख्याका रूपमा अठार पुराणको रचना गर्ने महर्षि वेदव्यासले ‘अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् ।।’ भन्दै परोपकारलाई धर्म र परपीडालाई अधर्म हो भनी निष्कर्ष निकालेका छन् । यहाँ स्मरणीय के छ भने चाहे त्यो याज्ञिक हिंसा होस् चाहे यज्ञेतर हिंसा नै किन नहोस्, काट्दै गरिएको पशुलाई अवश्य पीडा हुन्छ र पीडकलाई अधर्म । सन्त तुलसीदास यही कुरालाई समर्थन गर्छन् । उनी भन्छन्, ‘परहित सरिस धर्म नही भाई, परपीडा सम नही अघमाई’ अर्थात् परोपकार जति महान् अर्को कुनै धर्म छैन र परपीडा झैं जघन्य अपराध पनि छैन । काटमार मात्र नभई कसैमाथि सांघातिक हमला गर्नु, चोटपटक लगाइदिनु र मानसिक रूपमा अरुलाई पीडित बनाइदिनु पनि जघन्य अपराध ठहर्छ ।
१.३ उपसंहार
माथि पूर्वपक्षमा उल्लिखित तर्कका आधारमा पशुहिंसा गर्नुपर्ने र मांसभोजन गर्नहुने अर्थात् गर्नैपर्ने भन्ने कुरालाई उत्तर पक्षमा राखिएका शास्त्रीय प्रमाणहरूले खण्डित गरिदिएका छन् । धर्मशास्त्रले कहिल्यै हिंसाको पक्षपोषण नगर्ने र गर्नै परे पनि लोककल्याण र समाज हितलाई ध्यानमा राखेर अनि अहिंसाकै पक्षपोषणका लागि हिंसाको छिटपुट विधान गरेको देखिन्छ । शास्त्रमा वर्णित अश्वमेधादि यज्ञहरू कलियुगका निमित्त प्रशंसार्थवादका रूपमा रहेका देखिन्छन् । शास्त्रले विशिष्ट परिस्थितिमा विशिष्ट कर्मद्वारा विशिष्ट संकल्प लिएका व्यक्तिले मात्र विधिपूर्वक मांसभोजन गर्नसक्ने भनी गरेको संकेतलाई आजको पदार्थवादी समाजमा समान्य नियमका रूपमा अथ्र्याई ग्रहण गर्नसक्ने वा ग्रहण गर्नुपर्ने भनी व्याख्या गर्दा धर्महानि हुने देखिन्छ । कहिले काँहि शास्त्रले घुमाउरो पारामा दिएको गूढार्थवाहक निर्देशलाई सिधै व्यवहारमा उतार्न खोज्दा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ हुने कुरा व्याख्या गरिरहनु नपर्ला ।
शास्त्रले सर्वत्र अहिंसालाई नै साध्य विषय बनाई त्यसैलाई नै परिपुष्ट गर्न छिटपुट रूपमा हिंसा गर्ने छुट दिएको विषयलाई पशुहिंसा गर्ने र मासु खाने अनुमतिका रूपमा लिन नहुने देखिन्छ । समग्रमा ‘अहिंसा परमो धर्मः’ भन्ने हाम्रो वैदिक संस्कृतिको मूल सिद्धान्त रहेको र आजको जटिल भौतिकवादी समाजले पनि यसलाई नै मूल धर्मका रूपमा ग्रहण गरिसकेको सन्दर्भमा हामीले चाहिँ केवल काटमारकै पक्षपोषण गरिरहनु शास्त्रको सारलाई पर्गेल्न नसक्नु हो भन्ने मेरो ठम्याइ रहेको छ । अस्तु
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच