काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्षहरूले विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् । आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेशको रिर्पोर्टिङ प्रस्तुत गर्दै अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका हुन् । पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव तल्लो तहबाट आएको उनीहरूले रिपोर्टिङ गरेका छन् । पार्टीको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाटै हल गर्नुपर्ने उनीहरूको सुझाव छ ।
प्रदेश अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिए पनि यसबारे निर्णय भने अर्को बैठकले मात्रै गर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको आधार तय गर्ने र अर्को केन्द्रीय समिति बैठकले आयोजक समिति बनाउने उपमहासचिव हरिबोल गजुरेलले बताउनुभयो । अहिले संगठन निर्माणका लागि बढी ध्यान केन्द्रित गर्नेगरी छलफल भएको उहाँले बताउनुभयो । ‘अहिले संक्रमणकालीन अवस्था छ । पार्टीप्रति जनताको आकर्षण बढ्दै गइरहेको बेला यो केन्द्रीय समितिले महाधिवेशनको आधार तयार गर्ने र अर्को केन्द्रीय समिति बैठकले आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनको मिति तय गर्छ । अहिले संगठन निर्माणका लागि बढी ध्यान केन्द्रित गर्नेगरी छलफल भएको छ,’ उहाँले भन्नुभयो ।
केन्द्रीय समिति बैठकअघि माओवादी स्थायी समिति बैठक बसेको थियो । बैठकमा विशेष महाधिवेशनमा जाने वा नियमित महाधिवेशनमा जाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको उहाँले बताउनुभयो । बैठकमा संक्रमणकालीन अवस्थामा कार्यविभाजनका लागि संयन्त्र बनाएर जानेबारे प्रस्ताव गरिएको थियो । जिल्लाको जिम्मेवारी प्रदेशले र इन्चार्ज केन्द्रले तोक्दा जिम्मेवारी बाँडफाँटमा समस्या देखिएकाले संयन्त्र बनाएर हल खोजिनुपर्ने प्रस्ताव आएको गजुरेलले जानकारी दिनुभयो । यस्तै, अहिले पार्टी संगठनमा देखिएको भद्रगोल अवस्थालाई अन्त्य गर्न संयन्त्र बनाएर जानेबारे छलफल भएको सचिव देवेन्द्र पौडेलले बताउनुभयो । केन्द्रीय समिति बैठकको पहिलो दिन सातवटा भूगोल, उपत्यका विशेष, सम्पर्क र प्रवास प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरेका हुन् ।
प्रदेश अध्यक्षको ब्रिफिङ : पार्टीमा उत्साह देखियो, मूल नेतृत्व गाउँ टोलसम्म पुर्याऊँ
माओवादी केन्द्रका प्रदेशगत कमिटीहरूले पार्टीको मूल नेतृत्व गाउँ-टोलसम्म पुग्नुपर्ने माग राखेका छन् । केन्द्रीय समिति बैठकमा आ-आफ्नो प्रदेशको रिपोर्टिङ गर्दै प्रदेश अध्यक्षहरूले पार्टीको मूल नेतृत्व गाउँ-टोलसम्म पुग्नुपर्ने बताएका हुन् । सिंगो पार्टी कमिटी, नेतृत्व वडा र टोलमा केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ थियो । यसरी पार्टी निर्माणमा जोडिएमात्रै जनतासँग जोडिन सकिने उनीहरूले बताए । रिपोर्टिङमा क्रममा अधिकांशले पार्टीमा पहिलोपटक आएको उत्साह जोगाउनुपर्ने बताएका थिए । अधिकांशले १८/२० वर्षपछि पार्टीमा उत्साहको एउटा चरण आएको बताएका थिए । यस्तो बेला आन्तरिक संघर्षभन्दा सम्हालिएर अगाडि बढ्नुपर्नेमा धेरैको जोड थियो । पछिल्लोपटक सरकारमा जाँदा गरेको सुशासनको काम, उपनिर्वाचनको नतिजाजस्ता पक्ष माओवादीका लागि सकारात्मक कदम भएको उनीहरूको भनाइ थियो ।
केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने
माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प : आजको आवश्यकता’ शीर्षकको प्रतिवेदनमा केन्द्रदेखि प्रदेशसम्मका नेताहरूलाई सम्पत्ति विवरण बुझाउन भनिएको हो । सम्पत्ति विवरण बुझाउन नेताहरूलाई फागुन १ गतेसम्मको समयसीमा दिइएको छ । ‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सबै नेता कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेस गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ । नेताहरूको जीवनशैली बदलिएकोप्रति आमनागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । माओवादीमा १० वर्षे सशस्त्र र २०६४ को संविधानसभा निर्वाचन अघिसम्म नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे ।
केन्द्रीय कमिटीमा फरक मत लैजाने शर्माको तयारी
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केन्द्रीय समिति बैठकमा फरक मत लैजाने हुनुभएको छ । उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले स्थायी कमिटीको निर्णय भनेर दिएको वक्तव्यप्रति आपत्ति जनाउँदै उहाँले फरक मत लैजाने तयारी गर्नुभएको हो । सापकोटाले स्थायी कमिटी बैठकले अहिले विवाद र फरक मतका विषय बैठकमा नलगी अभियानमा एकताबद्ध भएर तलसम्म जाने निर्णय भएको बताउनुभएको थियो । तर, शर्माले सामाजिक सञ्जालमार्फत् सापकोटाको भनाइको खण्डन गर्नुभएको हो । शर्माले गत स्थायी कमिटी बैठकमा कार्यविभाजनलगायत अध्यक्ष प्रचण्डको कार्यशैलीविरुद्ध लिखित रूपमा फरक मत राख्नुभएको थियो । अध्यक्ष प्रचण्डको सचिवालयबाटै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्ला फैलाएको आरोप उहाँले लगाउनुभएको थियो ।
पार्टीमा चरम व्यक्तिवादी अराजकता मौलायो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताउनुभएको छ । केन्द्रीय समिति बैठक उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताउनुभयो । नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प नरहेको उहाँले बताउनुभयो । पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकाले सच्चिने र सच्याउनेगरी कार्ययोजना बनाएर जानुपर्ने उहाँले बताउनुभयो । नेता कार्यकर्तालाई उत्पादनसँग जोड्दै उनीहरूको आम्दानीसमेत पारदर्शी गर्ने नीति लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने भन्दै आम्दानी र व्यवसाय पनि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । प्रचण्डले जनतासँग जोडिने अभियानलाई महत्व दिँदै महाधिवेशनसम्म जाने तथा त्यसरी जनतामा जाँदा भ्रष्टाचारलगायत काण्डमा पार्टीले लिएका पहलकदमीलाई जनताको तहसम्म पु¥याउने बताउनुभयो । प्रचण्डले केन्द्रीय कमिटीको आकार ‘विशाल’ भएको टिप्पणी गर्नुभयो । विशाल कमिटी पार्टीका लागि अवसर र चुनौती दुवै भएको उहाँले बताउनुभएको थियो । ‘हाम्रो विशाल केन्द्रीय समिति आफैंमा चुनौती हो र आफैंमा एउटा अवसर पनि हो’, बैठकमा प्रचण्डले भन्नुभयो ।
पार्टीमा पुनको पुनरागमन
माओवादीको जारी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी हुनुभएको छ । यसअघि स्थायी कमिटी बैठकमा पुग्नुभएका पुन केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बस्नुभएको हो । पासाङ केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बस्नुभएको हो । तर, बैठकमा सहभागी नेताहरूका अनुसार अहिलेसम्म पुनको वरीयता टुंगिएको छैन । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर श्रेष्ठ र बायाँतिर पुन रहनेगरी आसन व्यवस्थापन गरिएको हो । पुनसहित अघिल्लो लहरमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ हुनुहुन्छ । यसअघि माओवादीको पहिलो वरीयतामा प्रचण्ड र दोस्रोमा श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै, तेस्रो महरा, चौथो सापकोटा, पाँचौं वरीयतामा भुसाल हुनुहुन्छ । महासचिव गुरुङ माओवादीको छैटौं वरीयतामा हुनुहुन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो हो । विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुन पार्टीको जिम्मेवारीमा फर्किनुभएको हो । नेपालमा हालसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा हुनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा