गत साता त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोह सम्पन्न भयो । स्नातक, स्नातकोत्तर, एम्फिल्, विद्यावारिधि लगायतका तहहरुका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भए । मानविकी, व्यवस्थापन, विज्ञानलगायत विभिन्न विधाका विद्यार्थीहरुले आफू दीक्षित भएको प्रमाणपत्र लिए । सबैमा एक प्रकारको बेग्लै उत्साहका साथ देश, समाज र परिवारका लागि केही गरौं भन्ने हुटहुटी देखिन्थ्यो । यस्तो दीक्षान्त समारोह त्रिविले वर्षेनी गर्दछ र समय समयमा वर्षको दुई पटक पनि गर्दछ । प्रत्येक पटकका दीक्षित विद्यार्थीहरु यसैगरी खुसीले गद्गद् भएको पाइन्छ ।
त्रिविमात्रै होइन, देशका सबै विश्वविद्यालयहरुले वर्षेनी जस्तै दीक्षान्त समारोहको आयोजना गर्दछन् । नेपाल संस्कृत विश्वविद्यालयले भने कहिले १२ वर्षमा त कहिले चार वर्षमा दीक्षान्त समारोह सम्पन्न गर्दछ । प्रमाणपत्रको अभावमा विद्यार्थीहरु छटपटिएका हुन्छन् तर विश्वविद्यालयका पदाधिकारीहरुमा कुनै संवेदनशीलता देखिने गरेको छैन । नवनियुक्त उपकुलपतिले के गर्छन् भन्ने चाहिँ भोलिका दिनमा हेर्नैपर्दछ । सबै विश्वविद्यालयका दीक्षित विद्यार्थीहरुले प्रमाणपत्र हात पारेका दिनमा भने देशका लागि नै केही गर्छु भन्ने सोच राखेको भेटिन्छ ।
समयको परिवर्तनसँगै पढ्नुको उद्देश्यमा फेरबदल भएको छ । पढाइले खारिएर मान्छे विनयशील हुने, विनयताका कारण सत्पात्र बन्ने, सत्पात्र बनेर धन कमाउने र धनप्राप्ति गरी धर्म कमाउने र सुख प्राप्त गर्ने भन्ने पौरस्त्य ज्ञान परम्परा हराउँदै गएको छ । पढाइको सोझो सम्बन्ध धनसँग जोडिन पुगेको छ ।
दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरुलाई सञ्चारसाधनका प्रतिनिधिहरुले अबको तपाईंको योजना के छ भनेर सोध्ने गर्दछन् । त्रिविको हालै सम्पन्न समारोहका सहभागीलाई पनि उनीहरुको भावी योजनाका बारेमा पत्रकारहरुले सोधेका थिए । एकादुईबाहेक अधिकांशले देशमै बसेर केही गर्ने र नेपाललाई सुन्दर बनाउने बताएका थिए । कोही कोही भने उपल्लो तहको शिक्षाका लागि विदेश जाने योजना बुन्दै थिए । सारमा भन्नुपर्दा मुलुकले अवसर दिएमा स्वदेशमै बसेर काम गर्न रुचाउने अभिव्यक्ति प्रायः दीक्षित विद्यार्थीहरुको थियो ।
समयको परिवर्तनसँगै पढ्नुको उद्देश्यमा फेरबदल भएको छ । पढाइले खारिएर मान्छे विनयशील हुने, विनयताका कारण सत्पात्र बन्ने, सत्पात्र बनेर धन कमाउने र धनप्राप्ति गरी धर्म कमाउने र सुख प्राप्त गर्ने भन्ने पौरस्त्य ज्ञान परम्परा हराउँदै गएको छ । पढाइको सोझो सम्बन्ध धनसंग जोडिन पुगेको छ । पाश्चात्य ज्ञान परम्पराले जरो गाड्दै गएपछि नेपालबाट ज्ञान आर्जनका लागि गरिने अध्ययन अध्यापनमा धमिरा लाग्दै गएको छ । नैतिक मूल्यमान्यता प्रदान गर्ने शिक्षा विद्यालय तहदेखि नै विस्थापन हुँदै गएको छ । पछिल्लो समयमा आएर फेरि केही सकारात्मक परिवर्तनका प्रयास भने गरिएका छन् ।
अध्ययनको सम्बन्धमात्र रोजगारीसँग गाँसिन पुगेको छ । ज्ञान आर्जन गर्ने मान्यतालाई विस्थापित गर्दै सीपमूलक अध्ययनमा जोड दिन थालिएको छ । केही दशकयता पढेका मान्छेले काम गर्न हुँदैन भन्ने मान्यताको विकास गरियो । कुर्सीमा बसेर टेबुलमा आएका फाइल सदर या बदर गरी सही धस्काएर खानका लागि पढ्ने हो भन्ने सोचले सबैको मष्तिष्क खाएको छ । गलत फाइलमा दस्तखत गरेर भए पनि धन कमाउनै पर्छ भन्ने ज्ञान युवाहरुलाई प्रदान गर्दै आइएको छ । धर्म र अधर्मका बीचमा भेद छुट्याउने ज्ञान दिन छाडिएको छ ।
छोराछोरी सानै हुँदादेखि नै बाबु धेरै पढ, पढे सुख पाइन्छ, पढेर जागिर खानु पर्दछ, जागिर खाएर बाबुआमालाई सुख दिनुपर्दछ जस्ता कुराहरु बताइन्छ । ससाना नानीहरुको दिमागमा पढेपछि जागिर खाने भन्नेमात्रै रहेको हुन्छ । त्यसैले पढेर ज्ञान आर्जन गर्नभन्दा पनि चोरेर होस् वा ठगेर, लब्धांक पत्र हासिल गर्नेमात्रै सोच विद्यार्थीहरुमा रहन गएको छ । सरकारी होस् वा निजी सबै निकायले रोजगारी प्रदान गर्दा व्यक्तिमा रहेको ज्ञानलाई भन्दा लब्धांक पत्रलाई नै प्राथमिकता दिने हुँदा पनि ज्ञानको मूल्य घट्दै गएको अवस्था छ ।
हाम्रो वर्तमान शिक्षा पद्धतिले ज्ञानवृद्धि गराउने कुरो गर्दैन । आजभोलिको पठनपाठनले विद्यार्थीहरुलाई स्वरोजगारको शिक्षा दिँदैन । देशमा चलेका पाठ्यक्रमहरुले न अध्यात्मको, न भौतिकताको त न सीप सिकाइको नै अभिवद्र्धन गरिरहेका छन् । किताबमा रहेको कुरालाई कसले कति जस्ताको तस्तै परीक्षाको कापीमा उतार गर्न सक्यो भन्नेमा मात्रै विद्यार्थीहरुको मूल्यांकन हुने गरेको छ । परीक्षा उत्तीर्ण गरेकाहरुको चाहना सरकारले जागिर दिनुपर्दछ भन्ने छ र सरकार पनि रोजगारी वृद्धि गर्ने नाममा निजामतीका दरबन्दी थप्नमा मात्रै सीमित हुने गरेको छ ।
पक्कै पनि रोजगारको अवसर सरकारले सिर्जना गर्नुपर्दछ । अवसर दिनु भनेको आफैंले रोजगार दिने भन्ने किमार्थ होइन । निजी क्षेत्रहरु फस्टाउने अवसर सिर्जना गर्नुपर्दछ । उद्योगधन्दाहरु निर्बाध सञ्चालन हुनसक्ने वातावरण सरकारले तयार गर्नुपर्दछ । स्वरोजगारबाट उत्पादित वस्तुहरुको प्रबद्र्धन, बिक्री वितरण र समुचित व्यवस्थापनको व्यवस्था सरकारले मिलाउनुपर्दछ । ठूलो मिहिनेतबाट थोरै उपलब्धि हुने परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरणतर्फ लैजान सक्नुपर्दछ तर यस्ता कामहरुमा सरकार चुक्दै आएको छ ।
नेपालले दिशा पिसाब सोहोर्दै पढाएर विद्यार्थीलाई दीक्षित गराउँछ । विद्यार्थीलाई योग्य बनाई कर्मक्षेत्रमा प्रवेशयोग्य बनाउने काम अबौं खर्च गरेर नेपाल सरकारले गर्दछ । तिनै विद्यार्थी नेपालमा एक पैसाको पसिना नबगाई विदेशमा गएर विदेशीका लागि आफ्नो ज्ञान र सीप प्रदान गर्दछन् ।
फलतः नेपालमा युवा जनशक्ति अडिने वातावरण निर्माण हुनसकेको छैन । कक्षा १२ उत्तीर्ण गर्न नसकेकाहरु र उत्तीर्ण भए पनि उच्चतहको शिक्षा दिन असमर्थ अभिभावक भएकाहरु १८ बीस वर्षको उमेरमा साउदी, कतार जस्ता खाडी मुलुकतिर हानिन बाध्य भएका छन् । जसका अभिभावकसंग धन र मन छ तिनका सन्ततिहरु अमेरिका, युरोपतिर जान नै लालायित हुने गरेका छन् । देशमै बस्ने वातावरण निर्माण गर्न तम्सिनेहरु भेटिन छाडेका छन् भने देशलाई गाली गर्दै परदेश लम्कनेहरुको संख्या बढ्दै गएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने देशलाई जसले सबैभन्दा बढी दोष दिने गरेका छन् उनैका माता वा पिता नै यो देशलाई कमजोर बनाउने भूमिकामा अग्रस्थानमा रहेका छन् भन्ने ख्याल गर्दैनन् । जसले यो देशको माटोमा रगत पसिना बगाएको छ, उसका सन्तति खाडीतिर गएर रेमिट्यान्स पठाउने गर्दछन् । त्यही रेमिट्यान्सले नै नेपाल चल्दै आएको छ । जसले यो देश चुसेको छ, उनका सन्तति यही देशमा बस्न अनिच्छुक रहेको पाइन्छ । त्यसैले देशलाई दोष दिनुभन्दा पहिला यो देशको सरकार चलाउँदै आएकाहरु, चाहे राजनीतिज्ञ हुन् वा कर्मचारी, लाई नै दोष दिनुपर्ने हो ।
अझ गम्भीर कुरा के छ भने आजका युवाले हजार हेर्नै छाडिसके । लाखभन्दा कमको कुरै गर्न चाहँदैनन् । हाम्रो देशको मुद्रालाई सबल बनाउने दिशातिर भन्दा पनि धेरै कमाउने होडमात्रै देखिन्छ । बेलायतमा मासिक हजार पाउण्ड कमाउनेको जीवनस्तर नेपालमा मासिक लाख कमाउनेको भन्दा उच्च हुन्छ । अमेरिकामा मासिक पन्ध्र सय डलर कमाउँदा चित्त बुझाउनेले नेपालमा मासिक ७५ हजार पाए पनि रमाउँदैन । नेपालमा एक परिवारले सहज जीवनयापन गर्न मासिक लाख कमाउनै पर्ने बाध्यता भइसकेको छ तर त्यो अवसर सितिमितिलाई जुट्दैन । त्यसैले पनि युवाहरु नेपालमा बसेर केही गर्नभन्दा विदेशतिरै जान खोज्दछन् । यस्तो परिस्थिति निर्माण कसले ग¥यो भनेर युवाहरुले आफ्नै अभिभावकलाई सोध्न पर्ने भएको छ ।
यहाँको सहसचिव, उपसचिव भएको मान्छे विदेश गएर डिपार्टमेन्टल स्टोरका भुइँ पुछ्दा रमाउँछ । यहाँको खातापिता परिवारको मान्छे उता गएर रेष्टुरेन्टको भाँडा माझ्दा हर्षित हुन्छ । वेटरको जागिर पाएर ग्राहकले दिएको टिप्स घरमा लैजान पाउनेको त गर्वले छाती फुलेकै हुन्छ । यहाँको टेबुल कुर्सी पाउने जागिरभन्दा उताको औजार समाउने कर्म नै रुचीमा पर्न थालेको छ । यही क्रम चलिरहृयो भने भोलिका दिनमा पनि युवाहरु देशमा अडिन मुस्किल नै पर्दछ ।
नेपालले दिशा पिसाब सोहोर्दै पढाएर विद्यार्थीलाई दीक्षित गराउँछ । विद्यार्थीलाई योग्य बनाई कर्मक्षेत्रमा प्रवेशयोग्य बनाउने काम अर्बौं खर्च गरेर नेपाल सरकारले गर्दछ । तिनै विद्यार्थी नेपालमा एक पैसाको पसिना नबगाई विदेशमा गएर विदेशीका लागि आफ्नो ज्ञान र सीप प्रदान गर्दछन् । मिहिनेत जति नेपाल सरकारले गर्ने गरेको छ भने फल जति अरूलाई नै हुने गरेको छ । यो भन्दा ठूलो विडम्बना के हुन्छ र ? यो अवस्था अन्त्य गर्न सबै सचेत हुन जरुरी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा