
काठमाडौं । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) तथा ग्लोबल मिट सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा हेल्प नेपालले परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गरेको छ । वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान् कोइरालालाई अभिनन्दन गर्नुभएको हो ।
त्यसैगरी डा. रुइतले ‘मानव सेवा आश्रम’ हेटौंडाका समाजसेवीहरू रामजी अधिकारी तथा सुशीला (रूपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित ‘विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसी)’ की संस्थापक सविता उप्रेतीलाई पनि सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा हेल्प नेपालले समाजसेवी बिर्खबहादुर रोकाया, कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदरपत्र प्रदान गरेको थियो ।
साथै संस्थालाई नेटवर्कका लागि अक्षय कोष स्थापना गर्न नगद राशि सहयोग गर्ने सिद्धार्थ राणा, डा. रुद्र पाण्डे, डा. उपेन्द्र महतो, जीवा लामिछाने, महन्त श्रेष्ठ, एलिसन, स्व. मनोज बस्नेत, भण्डारी ब्रदर्स, डा. स्वर्णिम वाग्ले, सारिका मिश्र, रवीन्द्र मिश्र, अनिल थापा, डा. सुन्दरमणि दीक्षित, चन्द्र योञ्जन, वीरेन्द्रबहादुर बस्न्यात, स्व. पूर्णमानसिंह बस्नेत, सुविन बराल, श्रद्धा टण्डन, बद्रीप्रसाद पाण्डे, डा. प्रणव ज्ञवाली, शम्भु दाहाल, शिव सैंजु, रोशन सापकोटा, चिरञ्जीवी ढकाल, उद्धव भट्टराईसमेत २५ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
डा. रुइतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गर्दै संस्थाले डायस्पोरालाई फूलको मालाझैँ बनाएर राखेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘आज नेपालीहरू संसारको कुना–कुनामा पुग्नुभएको छ । तपाईंहरू नेपालको बौद्धिक सम्पत्ति हुनुहुन्छ । हामीलाई सुशासन साथै सुसंस्कार पनि सिकाउनु होला ।’ नेटवर्क अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म साथीहरूबाट मिलेको सहयोग र सद्भावको चर्चा गर्दै आगामी दिनमा पनि त्यही गतिमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
विगत २५ वर्षदेखि क्रियाशील हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा हेल्थ पोस्ट, धुलिखेलमा बालगृह सञ्चालन गर्दै आएको छ भने शिक्षा, स्वास्थ्य र आपत्कालीन विपद्को परिस्थितिमा सेवा र सहयोग गर्दै आएको छ । नेटवर्कले ग्लोबल को-अर्डिनेसन समिति पनि गठन गरेको छ । समितिको संयोजकमा अष्ट्रेलियाका डिला खरेलका साथै भगीरथ योगी, डा. राजु अधिकारी र रोशेन्द्रध्वज खड्का रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच