१७. जेलबाट छुटेपछिको जुलुस र कम्युनिष्ट क्रान्तिकारी रूप :
धरहरा छेउबाट जुलुस प्रदर्शनको तयारी भयो । जेलबाट छुटेका हामी सबै जम्मा भयौं । अरू पनि आए । करिब तीन चार हजारको समूह जुट्यो । त्यही भीडमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आनन्द आचार्य (धरान) हुनुहुँदो रहेछ । उहाँले नै भाषण गर्नुभयो र जुलुसको नेतृत्व गर्नुभयो । असाध्य प्रभावकारी भाषण थियो त्यो । हामीले त्यसपछि नयाँ सडक, इन्द्रचोक, असन, रत्नपार्क हुँदै सभा आयोजन गर्यौं ।
त्यो जुलुसका विरुद्ध मसालसँग आबद्ध हो वा कता हो बालकृष्ण पौडेलको नेतृत्वमा एक सय जतिको जुलुस निस्कियो र नेविसंघले विद्यार्थीका मागलाई कांग्रेसीकरण, राजनीतीकरण गरेको आरोप लगाउँदै चर्को स्वरमा विद्यार्थीले राजनीति गर्न पाइँदैन भन्ने नारा लगायो । बालकृष्ण पौडेल नेतृत्वको त्यो जुलुुसलाई लिएर प्रमुखताका साथ रेडियो नेपालले समाचार प्रसारण गर्यो । चितवनका ती बालकृष्णपछि मसाल, माओवादी हुँदै के भए थाहा भएन । कलेज पनि पढाउँथे ।
बहुदलीय व्यवस्थाका पक्षमा प्रचार गर्न पाइने भएपछि हामीले संस्कृत छात्रावासमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई र कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई संयुक्त रूपमा बहुदलका लागि आमसभा आयोजन गर्यौं । मलाई साथीहरूले स्वागत भाषणसहित मन्तव्यको जिम्मेवारी दिएका थिए । मैले निर्धक्क बहुदलका पक्षमा यसको आवश्यकताका पक्षमा सम्बोधन गरेँ ।
म लगत्तै चितवनको चौबीस कोठी काण्डबारे समाचार तयार पार्न जानुपर्यो नेपाल टाइम्स राष्ट्रिय दैनिकबाट । फर्केर आउँदा विद्यार्थीहरू र राजाले गठन गरेको शाही आयोगबीच सम्वाद सुरु भएको थियो । कांग्रेस नेतृत्वले कुन कारण हो थाहा भएन नेपाल विद्यार्थी संघको नेतृत्व गर्दै गरेका बेनुपराज प्रसाईं र शिव भूर्तेललाई हटाएर बलबहादुर केसीको नेतृत्वमा वार्तामा पठाएछ । बेनुप र शिवजीको आन्दोलन परिचालन समितिमा म पनि सदस्य भएर काम गरिरहेको थिएँ ।
वार्तामा नेविसंघका बलबहादुर केसीसहित प्रगतिशीलबाट शरणविक्रम मल्ल र फेडरेसनबाट कैलाश कार्की सहभागी थिए । वार्ता सफल भयो, सबै मागहरू पूरा भए तर खारेजीमा परेका मण्डलेहरू र कथित क्रान्तिकारी कम्युनिष्टहरू सम्झौताविरुद्ध आक्रामक देखिए । मण्डले र मसाल वा मशाल आदिको सहकार्य बेजोड देखियो । अखिल पाँचौंका नाममा माले समूह पनि फरक अस्तित्वमा देखापर्यो ।
सम्झौताको दोस्रो दिन कीर्तिपुरमा मण्डले, माले, मसाल समर्थक, पाँचौं छैटौंसम्बद्ध असहमतहरूको ठूलो जुलुस जम्मा भएर बलबहादुर केसी, कैलाश कार्की र शरणविक्रम मल्ललाई घेराउ गरी मोसो पोत्ने, जुत्ताको माला लगाउने र ठेलगाडामा राखेर मार्ने उद्देश्यका साथ शहर घुमाउने काम थालेपछि कैलाश कार्की उम्किएछन् तर शरणविक्रम र बलबहादुर केसीलाई भने ठेलागाडामा राखेर पिट्दै कीर्तिपुरबाट शहरतिर ल्याइएको खबर आयो । हामी त्यसबेला नयाँबजारस्थित गंगाधर लम्सालको डेरामा थियौं । खबर गर्ने साथीहरूले कोठाबाट कोही पनि ननिस्कन चेतावनी दिए ।
पछि थाहा भयो ठेलागाडामा कतै लगेर बलबहादुरजीलाई मार्ने तय भएको थाहा भएपछि प्रदीपमान सिंह, हरिश्चन्द्र पिया, तिलक कुँवर, वसन्त बुढाथोकी, अर्जुनप्रसाद जोशी जस्ता नेविसंघका साथीहरूले नै ठेलागाडा ठेल्दै ल्याएर सुरक्षित गरेछन् । त्यो काण्ड बडो रहस्यपूर्ण देखियो । रसियन कम्युनिष्ट समूह, कांग्रेसभित्रैका केही मानिसहरू पनि त्यस काण्डमा सहभागी भएको चर्चा चल्यो । यो घटनापछि काठमाडौंमा नेविसंघमा बल्लभ प्रधान जस्ता आक्रामक विद्यार्थी नेताहरूको उदय भयो ।
ओखलढुंगामा पुगेपछि चन्द्रकान्त दाइले मलाई नेपाली कांग्रेस पार्टीको सदस्यता दिनुभयो । सायद त्यसबेला चन्द्रकान्त दाजु सभापति वा सचिव केही हुनुहुन्थ्यो कांग्रेसको । ओखलढुंगाको इतिहासमा निउँँदो शहीद भनेर बलबहादुर राई, चन्द्रकान्त दाहाल, लोकबहादुर गुरुङहरूको नाम लिइने गरिन्छ ।
त्यो अराजक जुलुस नयाँसडकको ढोकामा पुगेर आरएनएसी (हाल एनएसी) मा आगजनी गर्दै गोरखापत्र संस्थानमा समेत आगो लगाउन पुगेछ । त्यही साँझ अर्थात् २०३६ जेठ १० गते राजा वीरेन्द्रको जनमतसंग्रह गर्ने घोषणा आयो : निर्दलीय पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय शासन व्यवस्था भनेर । निर्दलीय, निर्विकल्प भनिएको व्यवस्थामा पहिलो पटक राजाले विकल्प बहुदलीय व्यवस्था भनेर स्वीकार गरेको हुनाले त्यसपछिको एक वर्ष यो अवसरको उपयोग गर्ने विषय प्रमुख भयो । टंकप्रसाद आचार्य, ऋषिकेश शाह, डिल्लीरमण रेग्मी, डा.केआई सिंहसहित मनमोहनजीहरूले पाँचोटा विषय उठान गरी पूर्वसर्त पूरा गर्न माग गर्नुपर्ने आग्रह गरे पनि बीपीले पूर्वसर्तको विषयमा भन्दा जनमतसंग्रहलाई प्रमुखता दिनुभयो ।
१८ पहिलो संयुक्त सभा किशुनजी र मनमोहनको :
बहुदलीय व्यवस्थाका पक्षमा प्रचार गर्न पाइने भएपछि हामीले संस्कृत छात्रावासमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई र कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई संयुक्त रूपमा बहुदलका लागि आमसभा आयोजन गर्यौं । फुटबल र भलिबल खेल्ने ठूलो चउर थियो छात्रावासभित्र । मञ्च पनि थियो । मलाई साथीहरूले स्वागत भाषणसहित मन्तव्यको जिम्मेवारी दिएका थिए । मैले निर्धक्क बहुदलका पक्षमा यसको आवश्यकताका पक्षमा सम्बोधन गरेँ ।
२०३६ जेठ २७ गतेको त्यो सभा कांग्रेस कम्युनिष्ट संयुक्त अभियान आरम्भको दिनका रूपमा आयोजित थियो । एक वर्षभरि बीपीकै निर्देशन अनुसार मनमोहनका सभामा नेपाल विद्यार्थी संघले सहयोग गरेको थियो । मनमोहनजी, नेकपा संयुक्तका विष्णुबहादुर मानन्धर समूह, नेमकिपाका नारायणमान बिजुक्छे, पुष्पलाल समूह, बाहेक माले, मशाल, चौम आदि बहुदलका विरुद्ध थिए । कम्युनिष्ट पनि बहुदलका पक्षमा रहेको सन्देश मनमोहन अधिकारी, सहाना प्रधान, विष्णुबहादुरहरू उभिएपछि मात्रै जान्थ्यो ।
१८. ओखलढुंगामा नेपाल विद्यार्थी संघको प्रथम सम्मेलन :
बहुदलीय प्रचारक्रममा म २०३६ भदौमा ओखलढुंगा गएँ । मैले आफ्नै गाउँ बिगुटारमा गण्यमाण्यहरूसँग बैठक बसेर बहुदलका पक्षमा लाग्न आग्रह गरेँ । पञ्चायतको नेतृत्वमा रहनुभएका पण्डित फणीन्द्रमणि दाहाल (काका) तत्काल सहमत हुनुभयो र बहुदल प्रचार समिति गठन भयो । चन्द्रलाल दाहालको सहयोग र समर्थन थियो तर उहाँ शिक्षक भएको हुनाले प्रचारमा बस्न नहुने भनिएको थियो । बिगुटारको पहिलो स्नातकसम्म अध्ययन गर्ने मानिनुहुन्थ्यो चन्द्रलाल काका । यसब बेलासम्म सुरेन्द्रप्रसाद दाहाल, ढुण्डीराज दाहाल, गोपीकृष्ण सापकोटा, बुद्धिनाथ दाहाल, गिरिराज खतिवडा र चोलाराज दाहाल स्नातक पूरा गरेको वा गर्दै गरेको हुनुहुन्थ्यो । पीताम्बर दाहालका भाइ पुण्यप्रसाद जेटिए थिए । कर्मचारी भएको हुनाले उनी पनि प्रचारमा बस्न मिलेन ।
फणीन्द्रमणि दाहालको सभापतित्वमा गठित प्रचार समितिमा विष्णुप्रसाद दाहाल (महाजन जेठा), विष्णुप्रसाद दाहाल (नन्दलालका छोरा), तेजप्रसाद दाहाल (ठूलाघरे साइला), पुरुषोत्तम दाहाल ( सिरानघरे साइला), पीताम्बर दाहाल, सीताराम दाहाल, देवीप्रसाद दाहाल (पैरेली), मोती दाहाल, लोकनाथ खतिवडा, कल्याण साप्कोटा, गोपी घिमिरे, फणीन्द्र राई, ध्वजबहादुर कटवाल, तोयनाथ दाहाल, बाबुराम दाहाल, दाताराम दाहाल, टेकबहादुर भुजेल, जुद्धबहादुर भुजेलहरू समाबिष्ट हुनुभयो । फणीन्द्रमणि दाहाल प्रचार संयोजक हुनुभए पनि हरिलाल दाहाल र भोलानाथ दाहाल समितिमा बस्न मान्नुभएन ।
बहुदलका पक्षमा चन्द्रकान्त दाहालसँग म वरुणेश्वर, कुन्तादेवी गाउँमा पुगेँ । पहिले शहीद परिवारसँग भेट गर्ने कार्यक्रम थियो । गैरीगाउँस्थित ठगीराज दाहालकी पत्नी र परिवारका सदस्यसँग भेट गर्दा उहाँहरू खुलेर बहुदलमा लाग्ने तयारीमा देखिनुभयो । त्यसपछि झगरपुर पेशल दाहालका घरमा पुग्यौं तर उहाँहरूमा भय व्याप्त देखियो ।
मधेसबाट चन्द्रकान्त दाहाल पनि आउनुभएछ । बलबहादुर राई, प्रा.पीताम्बर दाहालसहित उहाँहरू कतिपयले राजनीति पीडितका नाममा जग्गा पाउनुभएको हुनाले मोरङ कि मूर्तियातिर खेतीमा पुग्ने गर्नुभएको थियो । तर, बहुदलका पक्षमा काम गर्नुपर्ने भएको हुनाले तुरुन्त जिल्ला फर्कनुभयो ।
ओखलढुंगामा पुगेपछि चन्द्रकान्त दाइले मलाई नेपाली कांग्रेस पार्टीको सदस्यता दिनुभयो । सायद त्यसबेला चन्द्रकान्त दाजु सभापति वा सचिव केही हुनुहुन्थ्यो कांग्रेसको । ओखलढुंगाको इतिहासमा निउँँदो शहीद भनेर बलबहादुर राई, चन्द्रकान्त दाहाल, लोकबहादुर गुरुङहरूको नाम लिइने गरिन्छ । यद्यपि सशस्त्र आन्दोलनका सन्दर्भमा भैरब राई, गोपाल राई, बालाराज कार्की, महेश कोर्मोचा, पृथ्वीबहादुर कार्की (पाखे), भीमबहादुर अधिकारी, परशुराम अधिकारी, रुद्र दाहाल, हेमप्रसाद दाहाल, पृथ्वीबहादुर कार्की (चौलाबोट), टंक कार्कीहरूको नाम अविस्मरणीय मानिन्छ । म चाहिँ २०३१ मा नेपाल विद्यार्थी संघ हुँदै २०३६ देखि औपचारिक रूपमा कांग्रेसको पनि सदस्य हुनपुगेँ ।
२०२७ साल वैशाख ६ गते नेपाली कांग्रेसका नेता पछि सभापति र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उद्घाटन गरी आरम्भ नेपाल विद्यार्थी संघमा पहिलो सभापति बिपिन कोइराला, दोस्रो सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो भने दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, पीताम्बर दाहाल, अर्जुन नरसिंह केसी, वीरेन्द्रभक्त श्रेष्ठ, राजेन्द्र खरेल, शेषनाथ अधिकारी, मार्शलजुलुम शाक्य, होमनाथ दाहाल, प्रेमनाथ अर्याल, देवेन्द्र नेपाली, राजेश्वर आचार्य, दुर्गा पोख्रेल, दुर्गा आचार्य (घमिरे), अर्जुनबहादुर खड्का (उदयपुर), रामशरण महतसहित धेरै जना सक्रिय संस्थापकहरू हुनुहुन्थ्यो । मेरो स्मृतिमा आएका र पढे अनुसारका नामहरू हुन् यी । कतिपय छुटेका पनि होलान् ।
२०३६ को बडादशैंताका म बहुदलका पक्षमा प्रचारकै क्रममा बिरामी परेँ । अस्पताल पनि पुगेँ । बिरामी हुनुपूर्व ओखलढुंगा जिल्लामा औपचारिक रूपले नेपाल विद्यार्थी संघको भेला सम्पन्न भयो रुम्जाटार माविमा । चन्द्रकान्त दाहाल, तीर्थराज थापादेखि भोजराज खनाल, देवीबहादुर केसी, लक्ष्मीप्रसाद पोख्रेल, भीमबहादुर गुरुड (आरएसम)हरू समेत सहभागी हुनुहुन्थ्यो । त्यो समय विभिन्न माविमा पढाउँदै ओखलढुंगामा कांग्रेस र प्रजातान्त्रिक आन्दोलन बँचाउने शिक्षकहरू : निर्वाणकुमार दाहाल, उत्तरकुमार कटवाल, केदार पोख्रेल, मेघजंग कार्की, मधु ओझा, विश्वराज कोइरालाहरूको योगदान स्मरणीय छ ।
रुम्जाटार माविका प्रधानाध्यापक दीलराम लामिछाने, शिक्षक कर्णसिंह गुरुङ, च्यानमका प्रधानाध्यापक सोमनाथ घिमिरे, रामपुरका बलभद्र दाहाल, लीलाबल्लभ दाहाल, पुष्पराज दाहाल (भुसुनेली)हरूको पनि सहयोग रहेको थियो । रुद्र दाहाल (राम्पुर) टंकबहादुर कार्की (जरंगे) पृथ्वीबहादुर कार्की (लामीडाँडा चौलाबोट), सीताराम श्रेष्ठ, गौरीनारायण बास्कोटा, मेरो स्मृतिमा रहनुभएको छ । दुर्योधन गिरि भने सायद उपस्थित हुनसक्नु भएन । ओखलढुंगाको लोकतान्त्रिक आन्दोलनमा उहाँ स्मरणीय हुनुहुन्छ ।
ओखलढुंगा जिल्लामा नेपाल विद्यार्थी संघको औपचारिक पहिलो संस्थापक सभापति भए रुम्जाटार माविमा पढ्दै गरेका छात्र द्रोणप्रसाद पोख्रेल (उनी पछि सहसचिव भएर सरकारी सेवाबाट निवृत्त भए) । सदस्य र पदाधिकारीमा महेन्द्र पोख्रेल (पछि प्रहरीसेवामा डिआइजी भएर निवृत्त भए), विनोद दाहाल (वत्स), धर्म खनाल (नारायणस्थान), रामप्रसाद दाहाल (बिगुटार) । फणीन्द्र दाहाल (राम्पुर), मित्रसेन दाहाल (लामिडाँडा), राजन दाहाल (रामपुर)हरू रहेको सम्झना छ । बरुणेश्वर मावि राम्पुर, रुम्जाटार मावि, ओखलढुंगा मावि, तलुवा, माम्खा, खानीभञ्ज्याङ, च्यानम आदिका विद्यालयको सहभागिता थियो । मसहित अरू साथीहरूको नै सक्रियतामा यसरी पहिलो सम्मेलन गराई नेविसंघ ओखलढुंगा स्थापना भएको हो ।
बिगुटारमा म बिरामी परेको समयमा ओखलढुंगामा कांग्रेसहरूलाई कालोमोसो पोतेको खबर आयो । बहुदलका पक्षमा प्रचार अभियानमा जानुभएका प्रा.पीताम्बर दाहाल (प्राप्चा), भोजराज खनालहरू सहतिका नेताहरूलाई बजारमा निर्दलवादीहरूले कुटपिट गर्ने, कालोमोसो घस्तै जुत्ताको माला लगाउने काम गरेको थाहा भयो । उहाँहरू तैपनि डराउनु भएन । पीताम्बर दाजु केही दिन बसेर वीरगञ्ज फर्किनुभएछ ।
१९. शहीद परिवारसँग :
बहुदलका पक्षमा चन्द्रकान्त दाहालसँग म वरुणेश्वर, कुन्तादेवी गाउँमा पुगेँ । पहिले शहीद परिवारसँग भेट गर्ने कार्यक्रम थियो । गैरीगाउँस्थित ठगीराज दाहालकी पत्नी र परिवारका सदस्यसँग भेट गर्दा उहाँहरू खुलेर बहुदलमा लाग्ने तयारीमा देखिनुभयो । त्यसपछि झगरपुर पेशल दाहालका घरमा पुग्यौं र परिवारका सदस्यहरूसँग सम्वाद भयो । बहुदलका विषयमा चर्चा गर्यौं, उहाँहरूमा भय व्याप्त देखियो ।
त्यसलगत्तै हामी रामपुर खगेन्द्र दाहालका पिताजी डिल्लीप्रसाद दाहाल र लीला दाहालकी पत्नी यशोदा दाहाललाई भेट्न पुग्यौं । उहाँहरू दुवैजना डरले नै होला पञ्चायतको कुनै तहमा हुनुहुन्थ्यो । चन्द्रकान्त दाजु र मैले अनेक कोणबाट सम्झाउँदै पदबाट राजीनामा दिएर बहुदलमा लाग्न उहाँहरू दुवैजनासँग अनुरोध गरे पनि निकै आनाकानी गरिरहनुभयो । अन्तिम चरणमा भने पदबाट राजीनामा गर्नुभए जस्तो लाग्छ । क्रमशः

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा