
काठमाडौं । सर्वोच्च अदालतले फैसलामा भाषिक शुद्धता खोज्ने कार्य प्रारम्भ गरेको छ । फैसला लेखनमा हुने त्रुटिहरू न्यूनीकरणका लागि सर्वोच्चले फैसलामा शुद्धता खोज्न थालेको हो । पछिल्लो समय न्यायालयका फैसलाहरूमा अशुद्धता बढ्न थालेपछि सर्वोच्चले भाषिक शुद्धता खोज्ने कार्यलाई प्राथमिकता दिएको हो । सर्वोच्च अदालतले फैसलामा भाषिक शुद्धता कसरी ल्याउने ? भन्ने विषयमा उपत्यकाका न्यायाधीशहरूको सहभागितामा गोष्ठी नै आयोजना गरेको थियो । भाषाविज्ञ शरच्चन्द्र वस्तीलाई प्रशिक्षकको रूपमा सर्वोच्च अदालत, उपत्यकाका उच्च एवं जिल्ला अदालतका न्यायाधीशहरूलाई अदालतका लेखनीहरूमा भइरहेको भाषागत त्रुटिहरूबारे जानकारी दिँदै सच्याउने उपायका विषयमा प्रशिक्षण गराउनुभएको थियो । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिको आयोजनामा सर्वोच्च अदालतले आयोजना गरेको उक्त गोष्ठीमा ४० जनाभन्दा बढी न्यायाधीशहरूको उपस्थिति थियो । गोष्ठीमा अदालती लेखनमा देखिने त्रुटिहरूको विषयमा चर्चा गर्दै ती त्रुटिहरू कसरी कम गर्ने भन्ने विषयमा भाषाविज्ञ वस्तीले प्रशिक्षण गराउनुभएको हो ।
नजानेर भन्दा हेक्का नराखेर लेखनीमा त्रुटि भएका हुन् : भाषाविज्ञ वस्ती
भाषाविज्ञ वस्तीले अदालतमा प्रयोग हुने मस्यौदाहरूमा कानुन तथा न्यायकर्मीको ज्ञानको अभावमा नभएर लेखनीप्रति हेक्का नराखेर त्रुटि हुने गरेको बताउनुभयो । भाषामा जानकार रहने भए पनि लेखाइमा विचार नपुर्याउँदा कहिलेकाहीँ त्रुटिहरू हुने गरेको उहाँको भनाइ थियो । वस्तीले भन्नुभयो, ‘हामीलाई भाषा र लेखनीको ज्ञान नभएको होइन । तर, हामीले लेख्ने लिखौटहरूमा प्रयोग हुने हिज्जेहरू, ह्रस्वदीर्घका विषयमा हामीले ख्याल नगर्दा त्रुटि हुने गरेका छन् ।’ सर्वोच्च अदालत, उच्च अदालत एवं जिल्ला अदालतले गरेका केही फैसलाहरूको नमुना अध्ययन गरी वस्तीले भाषिक त्रुटिहरू पहिचान गर्नुभएको थियो । त्यसरी अदालतबाट हुने त्रुटिहरूको पहिचान गरी शुद्ध कसरी लेख्ने ? भन्ने विषयमा वस्तीले सुझाव दिनुभएको छ । एउटै फैसलामा पनि कुनै शब्दको ह्रस्व दीर्घ एउटा र त्यही शब्दको ठहर खण्डमा फरक पर्ने गरेको उहाँको भनाइ थियो । कतिपय शब्दहरू पहिलेदेखि प्रयोग हुँदै आए पनि समयक्रमसँगै तिनलाई बुझ्न सजिलो कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल गर्नुपर्ने उहाँको भनाइ थियो । कर्तव्य ज्यान जस्ता शब्दहरूमा कर्तव्य भन्नाले उत्तरदायित्व अर्थ दिने भएकाले यसमाथि पुनर्विचार गर्नुपर्ने उहाँको आग्रह थियो । रोहमा भन्ने शब्दको सट्टा आधारमा जस्ता शब्दहरू प्रयोग गर्दा भाषामा सरलता आउँछ कि ? भन्ने उहाँको जिज्ञासा थियो । त्यस्तै, भाषाविज्ञ वस्तीले कानुनी लेखनहरूमा लामोलामो वाक्यहरूको प्रयोगलाई छोट्याउन सकिन्छ कि ? भन्ने विषयमा आफ्नो राय दिनुभएको थियो । कानुनी लेखनमा लामालामा वाक्यहरू प्रयोग गर्दा तिनको अर्थ लाउन मुस्किल पर्ने र कानुनी भाषा नै जटिल बन्ने भएकाले तिनलाई सरल बनाउन उपायहरू बनाउन सकिने विषयमा सुझाव दिनुभएको थियो । सरल भाषाले कानुनी भाषाको महत्व गिराउने नभएर सबैले पढ्न सक्ने हुँदा यसको ओज बढ्ने उहाँको तर्क थियो । भाषाविज्ञ वस्तीले कानुनी भाषा आफँैमा केही प्राविधिक भाषासमेत भएकाले पनि यसमा सबैथोकलाई सरल बनाउनेभन्दा पनि केही जटिलतालाई घटाउन के गर्न सकिन्छ ? भन्ने विषयमा जिज्ञासा व्यक्त गर्नुभएको हो ।
सर्वोच्चले भाषामा एकरूपता ल्याउनुपर्ने न्यायाधीश फुँयालको भनाइ
सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष हरिप्रसाद फुँयालले सर्वोच्च अदालतले अदालती भाषामा एकरूपता ल्याउन भाषामा शुद्धताको खोजी गरेको बताउनुभयो । न्यायाधीशले फैसलामा प्रयोग गर्ने भाषिक शुद्धतामा केही भिन्नता देखिने भएकाले फैसलामा भाषिक शुद्धता कायम गर्नका लागि उक्त गोष्ठीको आयोजना गरेको बताउनुभयो । न्यायाधीश फुँयालले भन्नुभयो, ‘न्यायाधीशका फैसलाहरू सार्वजनिक रूपमा रहने भएकाले तिनमा देखिने भिन्नताले तिनको व्याख्यामा समेत प्रभाव पर्ने भएकाले भाषिक शुद्धता न्यायाधीशका लागि पनि आवश्यक छ । न्यायाधीशले लेख्ने लेखनहरूमा भाषिक अशुद्धतामा घट्दै जाओस् भन्नका लागि यस्ता गोष्ठीहरूको आयोजना आवश्यक परेको हो ।’ सर्वोच्चको न्यायाधीशसमेत रहनुभएका फुँयालले सर्वोच्चको सम्पादन शाखाबाट भाषिक शुद्धता हेरेर मात्रै फैसलाहरू सार्वजनिक गर्ने गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच