काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्गृहमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोजको वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचना आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरूपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।
गोङ्गरस्थित विद्युत्गृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थको प्रयोग गरी ढुंगालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर-खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । दुर्ईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिकरूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलान भत्काएर मर्मत गरिएको छ । त्यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गरी मर्मत गरिएको छ । पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्र पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ । अपर तामाकोशी हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले मंसिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाइबाट माथिल्लो तामाकोशीको मर्मतसम्भार सम्पन्न भई तालिकाभन्दा एक दिनअघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिस्याण्डरमा ढुंगा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुर्ईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुर्ईजना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अघि बढाउनु ज्यादै चुनौतीपूर्ण थियो तर चुनौतीलाई सबैको साथ र सहयोगबाट सामना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिकरूपमा विद्युत् उत्पादन गर्न सफल भएका छौँ । देशकै ठूलो विद्युत्गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरुसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञ समूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझाव समेटेर मर्मतसम्भारका उपायहरू अवलम्बन गरी कार्ययोजनासाथ काम अघि बढाइएको र त्यसको नियमित अनुगमनबाट तोकिएको दिनभन्दा अगाडि नै विद्युत् उत्पादन गर्न सफल भएको बताउनुभयो । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आहृवान भइसकेको उहाँले उल्लेख गर्नुभयो ।
जलविद्युत् केन्द्रका सम्पूर्ण संरचनाको बिमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बिमाबाट प्राप्त रकमबाट बेहोरिनेछ । कम्पनीले पहिरोले पु¥याएको क्षतिको एक अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बिमा दाबी गरेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा