
काठमाडौं । विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘सार्क ट्यांक’को नेपाली संस्करणको सुरुवात हिमालय टेलिभिजनबाट हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा हेमराज ढकाल, आनन्द बगारिया, रितु सिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठलाई सार्क (निर्णायक) घोषणा गर्दै नेपालमा उद्यमशीलताको नयाँ आइडिया प्रवद्र्धन घोषणा गरिएको हो । नवीनता, उद्यमशीलता र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले चर्चित उक्त प्लाटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ ।
बेलायती टिभी कार्यक्रम ‘सार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याएको हो । सार्क ट्यांक सोनी पिक्चर्स टेलिभिजनको स्वामित्वमा छ । शोलाई सिमोस सुनुवारले निर्देशन गर्नुहुनेछ । एउटा एपिसोडमा पाँचजना उद्यमी गरेर कुल २० एपिसोडमा सयजना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने आयोजकको भनाइ छ ।
हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रम छायांकन फागुनदेखि एभरेस्ट होटलमा हुने बताइएको छ । कार्यक्रमले नयाँ प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने बताइएको छ । सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’का रूपमा सुरु भएको उक्त शो हाल विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शोका रूपमा स्थापित भइसकेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको शोको नेपाल संस्करण ५४औँ फ्रेन्चाइज हो ।
कार्यक्रममा हिमालयन टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले तीन वर्षअघि नै सोनीसँग सम्झौता भए पनि कोरोना र आर्थिक मन्दीका कारण शो आउन ढिलाइ भएको बताउनुभयो । नेपालमा व्यवसायको भविष्य सम्भव रहेको, उद्यमशीलताको विकास र सेलिब्रेसन गर्न सकिने सन्देशसहित शो आउन लागेको उहाँको भनाइ थियो ।
सोनी पिक्चर्स टिभीकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिनले भारत, बंगलादेश र पाकिस्तानमा अभूतपूर्व सफलतापछि नेपालमा शो ल्याउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सार्क ट्यांकले अनगिन्ती उद्यमीलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पका कथाद्वारा प्रेरित गरेको छ ।’
नवप्रवर्तन, उद्यमशीलता र लगानी प्रवद्र्धन गर्ने उद्देश्य राखिएको शोले आवेदनसमेत आहृवान गरेको छ । उद्यमीले आफ्नो व्यवसायसँग सम्बन्धित डेटा प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्न सक्ने बताइएको छ । आवेदन जनवरी १५ तारिखसम्म दिइसक्नुपर्नेछ । समारोहमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र सार्कमा अनुबन्धित जजहरूले सहभागीसँग प्रश्नोत्तर गरेका थिए । एक एपिसोडमा पाँच उद्यमी गरेर कुल २० एपिसोडमा सय उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने बताइएको छ । शोका जजमार्फत् ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच