काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा ६ दशक बढी समय बिताउनुभएका वामदेव गौतमसँग अहिले ‘गतिलो दल’ छैन । उमेरले साढे सात दशक पार गर्नुभएका गौतम ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’का संयोजक हुनुहुन्छ । तर, उहाँको दलमा न नेता छन् न कार्यकर्ता । नेता भने पनि कार्यकर्ता भने पनि उहाँ आफैँ हो । उहाँको ‘अस्थिर राजनीतिक चरित्र’का कारण धेरैले क्रमशः साथ छोड्दै गए । उहाँ ‘दलविहीन’ मात्रै होइन कार्यकर्ताविहीनसमेत हुनुभएको छ । कुनै बेला नेकपा (एमाले) र तत्कालीन नेकपामा समेत उहाँको बलियो पकड थियो । तत्कालीन नेकपा विवाद र एमालेको विभाजन अघिसम्म वामदेव ‘निर्णायक मोड’मै हुनुहुन्थ्यो । उहाँको अस्थिर चरित्रको फाइदा केपी ओलीदेखि ‘प्रचण्ड’ र माधव नेपालसम्मले उठाउनुभयो । ओली र प्रचण्ड-नेपालले पार्टीभित्रको गुट लडाइँमा वामदेवलाई बारम्बार प्रयोग गरियो । नेकपा विवादमा पार्टी एकता अभियान चलाउने उहाँले एउटा समूहले पार्टी खोले त्यतै लाग्छु भनेर सबैभन्दा पहिले वक्तव्य निकाल्नुभयो । पार्टी विभाजन भयो । तर, उहाँ कतै लाग्नुभएन । एमालेको नवौँ महाधिवेशनका ‘किङ मेकर’ गौतमको शक्ति क्षयीकरण मात्र भएन, राजनीतिक रूपमा पनि एक्लिनुभयो ।
अहिले उहाँ दल खोज्दै हिँड्नुभएको छ । ‘मलाई काम चाहियो’ भन्दै एमालेको मुख्यालय च्यासलसम्म पुग्नुभएको थियो । तर, एमाले अध्यक्ष ओलीले कुनै चासो दिनुभएन । एमालेले भाउ नदिएपछि अहिले उहाँ दल प्रवेशका लागि नेकपा (एकीकृत समाजवादी)सँग संवादमा हुनुहुन्छ ।
अर्का एक कम्युनिष्ट नेताको नियति पनि लगभग उस्तै छ । नेपाली राजनीतिमा पाँच दशक समय बिताउनुभएका रावल पनि पछिल्लो तीन वर्षदेखि अघोषित रूपमा ‘दलविहीन’ हुनुहुन्छ । औपचारिक रूपमा एमालेकै सदस्य रहनुभएका उहाँ उमेरले सात दशक लाग्दै गर्दा जिम्मेवारीविहीन हुनुहुन्छ ।
तत्कालीन नेकपा विवादअघि उहाँ राजनीतिको केन्द्रीय पात्र नै हुनुहुन्थ्यो । एमाले विभाजनसम्म आइपुग्दा ओलीकै कित्तामा पुग्नुभएका रावल २०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनपछि भूमिकाविहीन बन्ने परिस्थिति आएको हो । दशौँ महाधिवेशनमा रावलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । अध्यक्षमा लड्ने रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष निर्वाचित हुने ओलीको चाहनामा ठेस लागेको थियो । महाधिवेशनमा ओलीलाई निर्विरोध हुन रोक्नुभएका उहाँले त्यसपछि आफ्नो अडान लिन थाल्नुभयो । सुरुमा केन्द्र्रीय सदस्यको शपथ नै लिनुभएन । राजनीतिक निर्णयमा पनि रावल अलग भूमिकामा देखिनुभयो । प्रतिनिधि सभामा एमसिसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेले तटस्थ बस्ने निर्णय लिएको थियो । तर, रावलले विपक्षमा मतदान गर्नुभयो । त्यसपछि उहाँ एमालेमै रहे पनि किनारमा रहनुभयो । रावललाई गत चुनावमा अछाम-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको थियो । तर, ओलीले टिकट दिनुभएन । टिकट खोसिँदा रावलको संसदीय बाटो मात्रै बन्द भएन एमालेको सक्रिय राजनीतिक करिअर पनि बन्दजस्तै भयो । त्यसपछि एमालेले उहाँलाई कुनै जिम्मेवारी दिएको छैन ।
रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताउँदै आउनुभएको छ । तर, अब कता मोडिने भन्नेबारे कुनै निर्णय गर्नुभएको छैन । पहिलो त उहाँले दल (एमाले)मै जिम्मेवारी खोजिरहनु भएको थियो/छ । तर, त्यो सम्भावना अत्यन्तै न्यून भइसकेको छ ।
दुवैलाई तान्ने प्रयासमा एकीकृत समाजवादी
राजनीतिक जीवनको उत्तरार्धमा रहेका पुराना दुई कम्युनिष्ट नेतालाई पार्टीमा ल्याउन नेकपा (एकीकृत समाजवादी)ले पहल थालेको छ । एकीकृत समाजवादीले नेता भीम रावल र वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल गरिरहेको छ । दुई नेतासँग अध्यक्ष माधव नेपालसहित नेताहरूले पटक-पटक भेटेर वार्ता गरिसकेका छन् । दुईमध्ये नेता गौतमले एसमा आउन ‘ग्रिन सिग्नल’ दिइसक्नु भएको छ । अध्यक्ष नेपालले नै वार्ता गरेपछि गौतमलाई पार्टीमा तेस्रो वरीयतामा राख्नेबारे छलफलसमेत भइरहेको छ । अध्यक्ष नेपाल गौतमलाई भेट्न उहाँकै निवासमा पुग्नुभएको थियो । हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । एकीकृत समाजवादी स्रोतका अनुसार गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्नुभएको छ । तर, पदीय जिम्मेवारी दिनबारे भने केही टुंगिएको छैन । अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताउनुभएको थियो । एमालेमा फर्किन गौतमले धेरै प्रयास गरे पनि ओलीबाट सकारात्मक जवाफ नपाएपछि विकल्पमा नेकपा एसमा जान चाहनुभएको छ ।
यसैगरी, रावललाई भिœयाउन पनि नेकपा एस तयार छ । तर, रावलले पार्टीमा आउने स्पष्ट सिग्नल दिनुभएको छैन । रावललाई भने जिम्मेवारी दिन कुनै हिचकिचाहट नहुने नेकपा एसकै नेताहरू बताउँछन् । रावललाई नेकपा एसले महाधिवेशनअघि नै रोजेको पद दिन तयार भएको सन्देश पठाउँदासमेत अहिलेसम्म कुनै जवाफ दिनुभएको छैन । उहाँले उपयुक्त समयमा आफूले आगामी कदम चाल्ने तर्क गरिरहनु भएको छ ।
म कतै प्रवेश गर्ने होइन, सम्मानजनक रूपमा जाने हो : गौतम
नेता गौतमले सम्मानजनक रूपमा एकीकृत समाजवादीमा जान तयार रहेको प्रतिक्रिया दिनुभएको छ । एमालेमा जाने बाटो लगभग बन्द भएपछि सम्माजनक स्थान दिए आफू एकीकृत समाजवादीमा जान तयार रहेको उहाँले बताउनुभएको हो । तर, आफू पार्टी प्रवेश गर्ने नभई आफ्नो अभियानसँग एकता हुनुपर्ने उहाँको भनाइ छ । ‘पहिले म एमालेमा जान चाहन्थेँ । अहिले एमाले र एसमध्ये जसले पहिला बोलाउँछन्, त्यसैमा जान्छु,’ उहाँले भन्नुभयो, ‘तर त्यसलाई प्रवेशभन्दा पनि एकता भन्नुपर्छ । म मात्रै जाने होइन, मसँग पनि नेता/साथीहरू हुनुहुन्छ । सम्मानजनक रूपमा जाने हो । सबै नेता/साथीहरू जाने हो । म मात्रै जान्नँ ।’
परिस्थितिको विश्लेषण गरिरहेको छु, कुनै निर्णय गरेको छैन : रावल
एमाले नेता भीम रावलले सार्वजनिक रूपमै आफू राजनीतिको एउटा मोडमा धकेलिएको बताउँदै आउनुभएको छ । एउटा मोडमा पुगिसकेपछि अर्को मोडमा जानैपर्ने भए पनि कता जाने ? भन्ने उहाँले खुलाउनुभएको छैन । ‘अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएजस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । घुम्तीमा पुग्यो भने त्यो अर्को मोडमा मान्छे लाग्छ,’ गत वैशाखमै उहाँले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भन्नुभएको थियो । तर, अहिलेसम्म पनि उहाँले भावी राजनीतिबारे गहन अध्ययनमा रहेको बताइरहनु भएको छ । ‘म परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन,’ उहाँले भन्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा