१३. संसदीय अभ्यासको जीवन्त थलो संस्कृत छात्रावास :
लोकतन्त्र र संसदीय राजनीतिको प्रयोग थलो संस्कृत छात्रावास रहेछ । संस्कृत छात्रावासमा विधान सभाको चुनाव हुने, विधान सभाले सभापतिको चयन गर्ने, विधान सभाको निर्वाचन पहिले साधारण सभा हुने र त्यसले पनि एकजनालाई निर्वाचित गर्ने परम्परा रहेछ । त्यहाँ चारोटा टोलहरू छन् : हिमाञ्चल टोल, गोरखाली टोल, पण्डित टोल र पश्चिमाञ्चल टोल । प्रत्येक टोलबाट चार-चारजना निर्वाचत भएर विधान सभामा पुग्ने रहेछन् । एकजना सभामुख हुने, एकजना कार्यकारी अधिकारसहितको सभापति, अरू आवश्यक मन्त्रीहरू जस्तो शिक्षामन्त्री, खाद्यमन्त्री, पत्रपत्रिकामन्त्री आदि ।
पुस्तकालय अत्यन्त राम्रो थियो । पठन संसकृति वेजोड थियो । सूचनाको माध्यम रेडियो (एउटा) सामूहिक थियो र त्यसलाई शिक्षामन्त्रीको जिम्मामा राखिन्थ्यो । नेपालबाट प्रकाशित र राजधानीमा उपलब्ध दैनिक र साप्ताहिक पत्रिकाहरूदेखि भारतीय प्रकाशनका नवभारत टाइम्स्, इण्डियन एक्स्प्रेस, हिन्दूस्तान टाइम्स्, दिनमान, रविवारहरू पत्रिकालयमा हुन्थ्यो । नवनीत, कादम्बिनी जस्ता साहित्यिक पत्रिकाहरू हुन्थे । नेपालबाट प्रकाशित रूपरेखा, मधुपर्क आदि पनि राखिन्थ्यो । अरू प्रकाशन पनि थिए । दैनिक अध्ययन हुने गथ्र्यो । यसअर्थमा विशिष्ट चरित्र थियो छात्रावासको ।
साधारण सभामा व्यापक बहस हुने रहेछ । अनेक भित्रीसमस्या र मुद्दाहरूमा सूक्ष्म र बौद्धिक बहस हुने, खाने, बस्ने, खेल्ने अध्ययन गर्ने सबै विषय मन्त्रीहरूले व्यवस्थित गर्नुपर्ने । कुनै विषयमा विवाद भएमा छात्रकार्य समितिको बैठक, त्यसले नपुगे विधान सभाको बैठक र त्यसले पनि नपुगे साधारण सभा बोलाउने प्रचलन रहेछ । त्यहाँ अत्यन्त नराम्रो अभ्यास के रहेछ भने पूर्वीया र पश्चिमा भन्ने झगडा । तनहूँ, धादिङतिरकाहरूको नेतृत्वमा पश्चिमाहरूको र सोलु, ओखलढुंगा, भोजपुर सिन्धुपाल्चोक, सुदूपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, लमजुङतिरकाहरूको नेतृत्वमा पूर्वेली । अखिल साथीहरू थोरै थिए र उनीहरू पूर्वीयाहरूसँग निकट भएर बसेका । कुनै दिन त लाठीमुंग्री चल्ने, भयानक झगडा हुने गथ्र्यो ।
छात्रावासमा असाध्य नराम्रो काम विद्यार्थीहरूको एउटा पंक्तिको थियो । चार-पाँचजना थिए । भात खाएपछि रक्सी पिउन असनतिर जान्थे र दश बजे मूल ढोका बन्द हुनुअघि मात्रै फर्केर वमन गर्ने, जथाभावी उपद्रो मच्चाउने गर्थे । तिनीहरूलाई नियन्त्रण गर्ने सामथ्र्य सुपरीक्षकसँग पनि हुँदैनथ्यो ।
राजधानी निकटहरू दुवैतिर कोही कता कोही कता देखिन्थे । तरकारी मीठो भएन झगडा, पत्रिका समयमा आएन झगडा, दशैँ तिहारमा खसी, दही राम्रो तरकारी र अचार आएन झगडा । त्यो मार कार्य समितिले भोग्ने । बत्ती आएन, ठेकेदारले चामल राम्रो दिएन, बिहान–बेलुका पढाउन आउने गुरु समयमा आउनु भएन भने सुपरीक्षकको पीडा । कतिदिन त सुपरीक्षकहरू समेत विद्यार्थीबाट घेराबन्दीमा पर्ने, अपमानित हुने यस्ता सारै तल्लो दर्जाको काम पनि हुने गथ्र्यो । म सेको समयमा प्रा.विष्णुराज आत्रेय, प्रा.श्रीकृष्ण आचार्य, प्रा.वेणी माधव ढकालजस्ता विद्वानहरू हुनुहुन्थ्यो । उहाँहरू जस्ताले पनि अपमानित भएको हामीले देख्यौं । हामी केही साथीहरू यस्ता विवादमा पर्दैनथ्यौँ ।
अर्को असाध्य नराम्रो काम विद्यार्थीहरूको एउटा पंक्तिको थियो । चार-पाँच जना थिए । भात खाएपछि रक्सी पिउन असनतिर जान्थे र दश बजे मूल ढोका बन्द हुनुअघि मात्रै फर्केर वमन गर्ने, जथाभावी उपद्रो मच्चाउने गर्थे । तिनीहरूलाई नियन्त्रण गर्ने सामथ्र्य सुपरीक्षकसँग पनि हुँदैनथ्यो । विशिष्ट विद्वानहरू बस्ने त्यो स्थान केही व्यक्तिका कारण प्रदूषित भइरहेको थियो । निकै पछिसम्म यस्ता अनेक विद्यार्थीहरूको रजगज नै चलेको थाहा भइरहन्थ्यो । आजभोलि के कस्तो छ थाहा भएन ।
लेख्दै गर्दा तत्काल स्मृतिमा आएका नामहरूमा हाम्रो समयभन्दा केही पहिलेका, समकालीन र पछिल्लो समयमा अघि र पछिका स्वनामधन्यहरू : जयराज आचार्य, नरहरि आचार्य, नरेन्द्रराज पौडेल, चूडामणि खनाल, शरद्चन्द्र पण्डित, स्थीरप्रसाद पराजुली, धनञ्जय तिमल्सिना, सिद्धराज ओझा, दैवदत्त कोइराला, ऋषिकेश उपाध्याय, गोविन्द घिमिरे (जोरपाटी) कोषराज न्यौपाने, शिव अधिकारी (स्थापित कवि तथा साहित्यकार) ढुण्डीराज दाहाल, व्रतराज आचार्य, प्रयागराज वाशिष्ठ, रमेश अधिकारी, तोयराज नेपाल, दुर्गाप्रसाद अर्याल, हेमचन्द्र नेपाल, तुलसी गौतम, तारानाथ गौतम, बद्री दाहाल (भष्मासुर), लीलानाथ दाहाल, केशव अधिकारी (रौतहट) लेखनाथ आचार्य, शिवकुमार गौतम, भवानी पराजुली, गोविन्द भट्टराई (खोटाङ) हेमचन्द्र नेपाल, रमेश भट्टराई, केशव गौतम, शिवराज सापकोटा, बद्री पोख्रेल, मोहन तिमल्सिना, नारायण पोख्रेल, बुद्धि आचार्य, हर भट्टराई, घनश्याम उपाध्याय, यज्ञनिधि दाहाल, गोपाल अधिकारी, गोविन्द सुवेदी, आत्माराम घिमिरे राजु, भूपहरि पौडेल, केशव पहाडी, इन्द्रमणि अधिकारी, श्याम न्यौपाने, विश्वनाथ गौतम, कलेज पुग्नैलाग्दा वा पुगेपछि र केहीपछि तेजप्रकाश पण्डित, श्रीभक्त आचार्य, शरद्चन्द्र आचार्य, रघुनाथ अधिकारी, सागरमणि पराजुली, नेत्रप्रसाद न्यौपाने, शुकदेव न्यौपाने, मुकुन्दराज दाहाल, समकालीनमा कृष्णप्रसाद भट्टराई, शंकर अधिकारी, होमप्रसाद गृहस्थी, हरिकृष्ण पौडेल, प्रेमप्रसाद गैरे, भरत पौडेल, दामोदर तिमल्सिना, त्रिविक्रम पौडेल, कृष्ण ज्ञवाली, कृष्ण पौडेल (धादिङ) ज्ञानचन्द्र आचार्य, खिलानाथ बस्ताकोटी, नन्दकृष्ण जोशी, शम्भु कोइराला, कृष्णचन्द्र आचार्य, टीकाराम भट्टराई, फणीन्द्र नेपाल (हाल ग्रेटर नेपालको अभियन्ता) सूर्यमोहन काफ्ले, सुदर्शन सुवेदी, शम्भु पण्डित, हरि सुवेदी, रामनाथ काफ्ले, रामेश्वर काफ्ले, बद्रीनाथ अधिकारी (धादिङ) गणेश नेपाल, यदु अधिकारी गोरखा, हालका चर्चित लेखक, नेपाली भाषाका सशक्त अभियन्ता कवि बलदेव अधिकारी (धादिङ) नूरेश्वर अधिकारी, राजेन्द्र दाहाल, नन्दप्रसाद रिजाल, रुद्रलोचन आचार्य, माधवराज पाण्डे, रामप्रसाद अधिकारी, रामप्रसाद नेपाल, गुणराज दाहाल, पुष्पनिधि दाहाल, हेमनिधि नेपाल, शम्भु पण्डितहरू पनि सक्रिय भएर देखा परेका थिए ।
कर्मचारी भएर पनि होमप्रसाद भट्टराई (रामेछाप) गोविन्द न्यौपाने र टंक न्यौपाने (सिन्धुपाल्चोक) गिरिराज खतिवडा (सुनसरी) का भाइ पनि निकै सहयोगी र सशक्त थिए । छात्रावासको ऐतिहासिक साहित्यिक पत्रिका अरुणोदयको प्रकाशन केही समयदेखि रोकिएको रहेछ । कहिले बन्द कहिले प्रकाशन । म छात्रावास भर्ना भएको समयमा बन्द भएको थियो तर छात्रकार्य समितिको सक्रियतामा पुनः प्रकाशन आरम्भ भयो र यो लामो समयसम्म चल्यो । संस्कृत छात्रावासमा बस्नेहरू संसदीय अभ्यासमा निःपुण हुनुको कारण त्यही रहेछ । समयसमय वादविवाद प्रतियोगिता, कविता प्रतियोगिता, वक्तृत्व प्रतियोगिता, खेलकुद र हाजिरी जवाफ प्रतियोगिताहरू हुनेभएको हुनाले अत्यन्त जागरुक रहेछ संस्कृत छात्रावास ।
प्रत्येक प्रतियोगिताहरूमा पहिलोदेखि सान्त्वनासम्मले पुस्तकहरू पुरस्कारबापत पाउने गर्थे । समय मिलाएर ऋषिकेश शाह, यदुनाथ खनाल जस्ता विद्वानहरूको प्रवचन पनि हुने गथ्र्यो । साहित्यिक कार्यक्रममा बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, मोहन कोइराला, केदारमान व्यथित, श्यामदास वैष्णव, दैवज्ञराज न्यौपाने, केदार न्यौपाने, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, जगन्नाथ त्रिपाठी, सूर्यविक्रम ज्ञवाली, हेमांगराज अधिकारी, जस्ता कवि लेखकहरूको समेत आगमन हुने गर्दथ्यो । निर्दलीय राजमा समेत संस्कृत छात्रावास संसदीय राजनीतिको केन्द्र र चेतनाको एक जीवन्त नमुना रहेर निरन्तर थियो । छात्रावासमा अध्ययन गरेका अनेक युवाहरू कोही लोकतान्त्रिक आन्दोलनमा, कोही साम्यवादी आन्दोलनमा र कोही निर्दलीय सत्ताको माथिल्लो तहमा समेत पुगेका थिए ।
प्रशासनको चूरो नै थियो छात्रावासमा बस्नेहरू । लोकसेवा उत्तीर्ण भएर देशको सरकारी सेवामा ठूलो पंक्ति पछिसम्म सशक्त देखिन्थ्यो । सचिवहरू त प्रायः संस्कृत छात्रावासमा बसेका वा वाल्मीकिमा पढेकाहरूको संख्या सर्वाधिक रहेको थियो र अहिले पनि कमोबेस निरन्तर छ । राजनीतिक रूपले लोकतान्त्रिक आन्दोलनमा अत्यन्त सक्रिय तुलसी भट्टराई (ओखलढुंगा), विजयराज भट्टराई (तनहूँ) नेपाल सरकारको सचिव भएको चर्चा पछिसम्म थियो । राजनीतिक रूपमा जयतु संस्कृतम् आन्दोलनका नायकहरू : पूर्णप्रसाद ब्राहृमण, राजेश्वर देवकोटा, पद्मशंकर अधिकारी, काशीनाथ गौतम, श्रीभद्र खनाल, कमलराज रेग्मी, अच्युतराज रेग्मी, काशीनाथ गौतम, गोकर्णराज शास्त्रीहरूको नाम चर्चित छ ।
हामी राति-राति छात्रावासमा बैठक गर्ने र प्रजातन्त्रका पक्षमा सक्रिय हुने कार्यक्रम बनाइ रहन्थ्यौं । छात्रावासमा तनहूँबाट आएका तेजप्रकाश पण्डित, हरिकृष्ण पौडेल पनिसक्रिय थिए तर नेतृत्व गर्ने कतिपय अग्रजहरू छात्रावासबाट बाहिर गएपछि उनीहरू अध्यापन र सरकारी सेवामा पुगे ।
वाल्मीकि विद्यापीठमा पढेका रामचन्द्र पौडेल राष्ट्रपति हुनुभयो । मन्त्री हुनेहरूको संख्या उत्तिकै छ । यी पंक्ति लेखिँदै गर्दा मेरै विद्यार्थी बद्री पाण्डे मन्त्री छन् । यसअघि होमनाथ दाहाल, सिद्धराज ओझा, चिरञ्जीवी वाग्ले, नरहरि आचार्य, प्रा.विदुरप्रसाद पौडेल, घनश्याम पौडेल, कृष्णप्रसाद सापकोटाहरू कोही मन्त्री कोही सांसद भइसकेका हुन् २०४६ सालपछि पनि । साहित्यिक क्षेत्र र प्राध्यापनमा पनि उत्तिकै दख्खल छ ।
कविशिरोमणि लेखनाथ पौडेल, राष्ट्रकवि माधव घिमिरे, प्राडा. वासुदेव त्रिपाठी, प्रा.पीताम्बर दाहाल, प्रा.श्याम दाहाल, प्रा.दैवज्ञराज न्यौपाने, प्रा.टंक न्यौपाने, प्रा.कविराज न्यौपाने, केदार न्यौपाने (कवि) प्रा.चेतोनाथ गौतम, गणेश विषम, प्राडा.भूपति ढकाल आदि नाम लिएर सम्भव हुँदैन । पत्रकारितामा समेत राम्रो उपस्थिति छ । सम्भवतः होमनाथ दाहाल (२०४६ सालपछि नेपाल सरकारको मन्त्री) छात्रावासबाट पत्रकारिताको उचाइमा पुग्नेमध्ये पहिलो हुनुहुन्छ । कूटनीतिक क्षेत्रमा समेत पुगेको अवस्था छ । प्रा.यदुनाथ खनाल, जयराज आचार्य, ज्ञानचन्द्र आचार्यहरू उदाहरणीय नाम हुन् भने पछिल्लो पटक धनप्रसाद पण्डित पनि राजदूत भएका छन् ।
जयतु संस्कृतम् (विसं.२००४) को विद्रोहदेखि नै लोकतान्त्रिक आन्दोलनको मियो थलो तीनधारा संस्कृत छात्रावासमा २०१७ को निर्दलीय काण्डले भने निकै दूषित पारेको रहेछ । लोकतन्त्रका लागि पीताम्बर दाहाल, प्रेमनाथ अर्याल, रामप्रसाद भट्टराई, मीनकुमार दाहाल, होमनाथ दाहाल, चिरञ्जीवी वाग्लेहरू जति लागि परेका थिए वाचस्पति देवकोटा, घनश्याम पौडेलहरू पनि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । तर, एकथरी जसलाई रोयल कम्युनिष्ट भनिन्थ्यो तिनीहरू भने दरशारमा प्रवेश गर्ने, सरकारी जागिरमा पुगेर पनि लोकतान्त्रिक आन्दोलनविरुद्ध क्रूरतापूर्वक लाग्ने आदि काम गर्दा रहेछन् । यसकारण डराइ–डराइ कदम चाल्नुपर्ने रहेछ । सरकारी संयन्त्र खासगरी नजिकै रहेको बागमती अञ्चलाधीश कार्यालयबाट साप्ताहिक वा मासिक भत्ता बुझ्नेहरू पनि भित्रभित्रै खुराफाती काम गर्दा रहेछन् । म छात्रावासमा सुपरीक्षक भएर २०४२ देखि २०४३ अन्तिमसम्म काम गर्दा यसको प्रत्यक्ष अनुभव हुनपुग्यो ।
म संस्कृत छात्रावासमा २०३१ देखि २०३९ जेठसम्म बसेँ । त्यस बीचमा राजेन्द्र दाहाल, माधवराज पाण्डे, स्थानेश्वर तिमल्सिना, भेषराज पन्थी, यदुपन्थी, तेजप्रसाद पौडेल, जगदीश्वर अधिकारी, मोहन सापकोटा, शम्भु दुर्गम निरौला, गोविन्द भण्डारी, नवराज कट्टेल, ध्रुव भट्टराई, विष्णु पाण्डे (बाजुरा), ज्ञानमणि नेपाल (दैलेख), ध्रुव गौतम (जीवनपुर) डिपी अर्याल, सुनील ढकालसहित धेरै फरक क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूको उपस्थिति भइसकेको थियो । अहिलेका चर्चित र स्थापित कवि तीर्थराज अधिकारी पनि गोरखाबाट नै आएका थिए । षडानन्द संस्कृत मावि दिङ्ला, संमावि दाङ, धरान संस्कृत मावि, मटिहानी, जनकपुर, कलैया, गोरखा, लमजुङ पाणिनी संमावि, कास्की तनहूँका माविहरूबाट पनि कक्षा आठ पूरा गरेका वा माध्यमिक तह पार गरेकाहरू पढ्न आउँथे ।
कलैयाबाट आएका धेरै साथीहरू भए पनि अहिले रामहरि आचार्य, ध्रुव घिमिरे, रमेश बस्ताकोटीको स्मृति ममा छ । कोही वनारसतिरबाट पनि कुनै तह पार गरी आउने गर्थे । अर्थात् संस्कृत छात्रावास एउटा विशिष्ट संगमस्थल थियो विद्याको । वीरशमशेरले जुनसकै कारणबाट विसं. १९४२ मा स्थापना गरेको भए पनि शैक्षिक जागरणको मात्र नभएर संस्कृत छात्रावास आधुनिक नेपाल निर्माण र परिवर्तनको जग भएर इतिहासमा स्थापित छ । क्रमशः

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा