काठमाडौं । पाटा नेपाल च्याप्टरले ग्वान्जाउ इन्टरनेसनल ट्राभल फेयर(जिआइटिएफ)को निमन्त्रणामा डिसेम्बर २ मा ग्वान्जाउ र डिसेम्बर ४ मा चीनको सेन्जेनमा आयोजित ‘जिआइटिएफ र नाइस २०२५ रोड शोमा सहभागिता जनाउँदै कार्यक्रममा सहभागी दुई सय ५० भन्दा बढी आउट बाउन्ड टुर अपरेटर र मिडिया प्रतिनिधिहरूसमक्ष गन्तव्य नेपाल र आगामी फेब्र्रुअरी २४ देखि २६, २०२५ सम्म नेपालको पर्यटन राजधानी–पोखरामा आयोजना हुने नेपाल इण्डिया चाइना एक्स्पो ‘नाइस २०२५’ को प्रवद्र्धन गरेको छ ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाइस २०२५ का सद्भावना राजदूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्राडा वोल्फगाङ जोर्ज अलर्टले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धन का लागि सहकार्य र पर्यटन आदानप्रदानका असीमित अवसरमा जोड दिनुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा चिनियाँ सरकारद्वारा नेपाल पर्यटन वर्ष २०२५ को औपचारिक घोषणासँगै भएको रोड शोले नाइस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण कोसेढुंगाका रूपमा चिनाएको पाटा नेपालले जनाएको छ ।
सो अवसरमा पाटा नेपालका अध्यक्ष खेम लकाईले चिनियाँ टुर अपरेटरलाई नाइस २०२५ मा सहभागिताका लागि निम्तो दिँदै भन्नुभयो, ‘प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाले भरिएको नेपालले तपाईंलाई न्यानोपन र जीवन्त अनुभव महसुस गर्न पहिलोपटक आयोजना हुन गइरहेको नाइस एक्स्पोमा स्वागत गर्न चाहन्छौँ ।’
पाटा नेपाल च्याप्टरका सिइओ सुरेशसिंह बुडालले ‘एसियाली आउट बाउन्ड पर्यटन’सम्बन्धी मुख्य तथ्यहरू प्रस्तुत गर्दै नाइस २०२५ कार्यक्रमले नेपालका दुर्ई प्रमुख स्रोत बजार भारत र चीनलाई लक्षित गर्दै पर्यटन आदानप्रदान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्राडा वोल्फगाङ जोर्ज अर्लटले चीनको आउट बाउन्ड पर्यटन बजारका समसामयिक जानकारीसम्बन्धी प्रस्तुतीकरण गर्दै नेपालको अतुलनीय पर्यटकीय उपज र प्रख्यात आतिथ्यताले नेपालमा विश्वभरका पर्यटक घुम्न आकर्षित र प्रेरित गर्ने गुणहरू रहेको बताउनुभयो ।
जिआइटिएफकी प्रमुख क्याथी सुईले पाटा नेपाल च्याप्टरसँग सहकार्य गर्न पाउँदा र नेपालको पर्यटन प्रवद्र्धन र विकासका लागि नाइस २०२५ को साझेदार संस्थाका रूपमा सहकार्य र सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पाटा नेपालका अनुसार हालसम्म चीन र भारतबाट दुई सयभन्दा बढी क्रेताहरूले नाइस २०२५ का लागि आवेदन दर्ता गरिसकेका छन् । रोड शोले चिनियाँ आउट बाउन्ड अपरेटरबीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ र आगामी हप्ता थप क्रेताले आवेदन दर्ता गर्ने अनुमान गरिएको छ ।
दर्ताहरूबाट नाइस क्रेता छनोट समितिले क्रेताहरूको गुणस्तर र प्रभाव सुनिश्चित गर्न उपयुक्त सहभागी चयन गर्ने छ । नाइस २०२५ नजिकिँदै गर्दा पाटा नेपालले च्याप्टर ऐतिहासिक कार्यक्रममार्फत् क्षेत्रीय सहकार्य सुदृढ गर्दै पर्यटन सम्बन्ध र व्यापार आदानप्रदान प्रवद्र्धन गर्न तथा नेपाललाई विश्वका पर्यटकमाझ एक प्रमुख आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने अठोट लिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा