
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने र सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नुपर्नेलगायत मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गर्नुभयो ।
मागपत्रको दोस्रो बुँदामा सहकारीपीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ । भ्रष्टाचार काण्डको न्यायिक छानविन गर्न सर्वोच्चका पूर्व-प्रधानन्याधीशको संयोजकत्वमा स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार गर्न एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने र संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने माग रास्वपाले अघि सारेको छ । यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
अनुसन्धानका नाममा हिरासत बसाइ लम्ब्याउने कुराले राजनीतिक प्रतिशोध प्रष्ट देखिएको कावा प्रवक्ता सुमनले बताउनुभयो । ‘अनुसन्धानका नाममा हिरासत लम्ब्याउने कुराले राजनीतिक प्रतिशोध देखिन्छ,’ उहाँले भन्नुभयो, ‘सभापति रवि लामिछानेलाई उहाँलाई बाहिरै राखेर अनुसन्धान गर्न सकिने प्रशस्त आधार छन् । उहाँलाई हिरासतबाहिर राखेर अनुसन्धान अगाडि बढाउन जोडदार माग गर्दछु ।’ हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने कैयौँ व्यक्ति हिरासतमा रहेको उहाँको भनाइ थियो । काठमाडौं केन्द्रित आन्दोलन शान्तिपूर्ण हुने उहाँले बताउनुभयो । ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ । कतै कुनै क्षति हुँदैन । सुरुमा काठमाडौं केन्द्रित आन्दोलन गर्छौं र विस्तारै अगाडि बढ्छौँ,’ उहाले भन्नुभयो, ‘तर, त्योभन्दा अगाडि सरकारले हाम्रा माग कसरी लिन्छ ? भन्ने कुरा हो ।’ यसअघि मंसिर ७ गते सत्तासिन नेकपा (एमाले)ले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । एमालेले शक्ति प्रदर्शन गरेको भोलिपल्टै रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो । रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । कात्तिक २ गते केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ पर्नुभएका उहाँलाई रातारात कास्की पुर्याइएको थियो । सहकारीकै रकम अपचलनमा उहाँलाई कास्कीबाट रुपन्देहीसमेत ल्याएर बयान लिइएको थियो । रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न भएको अभियोगमा उहाँसँग बयान लिएर फेरि कास्की नै फिर्ता पठाइएको थियो ।
रास्वपाले रविलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोध साँधेको दाबी गर्दै आएको छ । रास्वपाले उहाँले पक्राउ परेलगत्तै विरोध प्रदर्शन सुरु गरेको थियो । तर, प्रदर्शनमा जनसहभागिता कम देखिएपछि आन्दोलन तुहिएको थियो ।
पाँच दिनसम्म प्रयास गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न पाइएन : मनिष सुमन
रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाँच दिनसम्म प्रयास गर्दा पनि नपाएको गुनासो गरेको छ । देशको चौथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोजेको बताउनुभयो । ‘हामीले पाँच मिनेट समय लिएर उहाँलाई आफ्नो पार्टीका मागहरू सुनाउन खोजेका थियौँ । तर, देशको चौथो ठूलो राजनीतिक दललाई उहाँले पाँच मिनेट पनि समय दिनुभएन । बरु विभिन्न कार्यक्रममा गएर हामीलाई खिसिट्युरी गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले पत्रकार सम्मेलन नै गरेर आफ्ना माग सार्वजनिक गरेका छौँ ।’ सरकारले आफ्नो औचित्य पुष्टि गर्ने आधार गुमाउँदै गएको उहाँले आरोप बताउनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा सार्वजनिक हुनुपर्छ : वाग्ले
रास्वपाले प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणका एजेण्डा सार्वजनिक गर्न माग गरेको छ । प्रधानमन्त्री चीन जाने दिन नजिकिँदै जाँदासमेत यसबारे दलहरूसँग छलफल नगरेको रास्वपाले गुनासो गरेको हो । प्रधानमन्त्रीको चीन भ्रमणबारे सर्वदलीय छलफल गर्नुपर्ने रास्वपाको माग छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भ्रमणका एजेण्डा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उहाँले के छलफल गर्दै हुुनुुहुन्छ ? भन्नेबारे कसैलाई थाहा छैन । थाहा हुुनुप¥यो,’ उहाँले भन्नुभयो, ‘यसबारे सबैसँग छलफल गर्नुपर्छ ।’
रविलाई भेट्न नपाएको भन्दै मानव अधिकार आयोगमा उजुरी
कास्की प्रहरी हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिइएको छ । रास्वपा नेतासमेत रहनुभएका उत्तमप्रसाद पौडेलले पोखराको मानव अधिकार आयोगमा उजुरी दिनुभएको हो । ‘प्रहरीले हिरासतमा रहेकालाई भेट्न बिहान ७ देखि ९ र अपराहृन ३ देखि ५ बजेसम्मको समय छुट्याएको छ । सो समयमा म सभापति लामिछानेलाई भेट्न गएको थिएँ,’ उहाँले उजुरीमा लेख्नुभएको छ, ‘तर, प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकाले के कति कारणले अवरोध गरिएको हो ? भन्नेबारे प्रश्न गर्दा जवाफ पनि नपाएकाले त्यसबारे आयोगको ध्यानाकर्षण गराउँदछु ।’
उहाँले कास्की प्रहरी प्रमुखसहित केही प्रहरी अधिकारीलाई सचेत गराइदिन माग गर्नुभएको छ । ‘प्रहरी उपरीक्षक श्याम ओलिया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिनु हुन अनुरोध गर्दछु,’ उहाँले भन्नुभएको छ । पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभएको छ । ‘कानुनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था भए पनि सभापति लामिछानेको हकमा राज्यले नै गलत मनसायले अनुसन्धान गरिरहेको र अभियोजन पनि सोहीअनुसार निर्देशित हुने देखिएकाले यस तर्फसमेत आयोगको ध्यानाकर्षण गराउँछु,’ पौडेलको पत्रमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच