
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले वित्तीय अपराधमा युवाको संलग्नता बढेको देखाएको छ । राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी एकाइले तयार पारेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन-२०२४’ ले १९ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीहरू साइबर ठगीमा सबैभन्दा बढी संलग्न रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
साइबर प्रविधिमा आधारित ठगीका घटनाहरूमा पछिल्लो समय तीव्र वृद्धि भएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘यस प्रकारका ठगीमा सामाजिक सञ्जालको दुरुपयोग, नक्कली अनलाइन व्यापार प्लेटफर्म, लोटरी ठगी, ओटीओई ठगी र गिफ्ट÷पार्सल ठगी जस्ता प्रविधि प्रयोग हुने गरेको पाइएको छ ।’
सन् २०२४ को पहिलो पाँच महिनामा भएका शंकास्पद साइबर ठगी कारोबारको विस्तृत विश्लेषणले १९ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीहरूको संलग्नता देखाएको हो । अधिकांश शंकास्पद कारोबार बैंकहरूमा नयाँ खुलेका खातामा पहिलो तीन महिनाभित्र भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीको दुरुपयोग बढी
प्रतिवेदनले ठगी कार्यमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीको दुरुपयोग बढी भएको निष्कर्ष निकालेको छ । मूलतः टिकटक, इन्स्टाग्राम, फेसबुक, ट्विटर, लिंक्डइन र जस्ता धेरै सामाजिक सञ्जालको प्रयोग हुने गरेको देखिएको छ । त्यसैगरी, झुट्टा विवरण दिनेहरूको पनि अनलाइनमा सक्रिय संलग्नता रहेको प्रतिवेदनले देखाएको छ । ‘स्क्यामर’का माध्यममार्फत अधिकांश झुट्टा सामग्री प्रयोग गरिने, अनावश्यक इमेलहरू पठाइने र त्यसलाई खोल्न लगाएर बैंक खाता नै हृयाक गर्ने सम्मका कार्यहरू हुने गरेको प्रतिवेदनले देखाएको हो ।
एउटै व्यक्तिले पनि धेरै उपकरण एवं सामाजिक सञ्जालका फेक खाताहरू प्रयोग गरेर अनावश्यक सम्पत्ति माग गर्दै ठगी गर्ने प्रतिवेदनमा उल्लेख छ । मानिसहरूद्वारा सामाजिक सञ्जालमा साझा रूपमा जारी गरिएका सूचनाहरूका कारण स्क्यामहरूले प्रयोगकर्तालाई प्रभाव पार्न सजिलो देखिएको प्रतिवेदनमा उल्लेख गरिएको हो । यसरी ठगीबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न प्रयोग गरिने विभिन्न तरिकाको पनि प्रतिवेदनमा चर्चा गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरसम्बन्धी वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सोहीअनुरूप सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार, कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गरेको हो ।
प्रतिवेदनले साइबर ठगी न्यूनीकरणका लागि नियामक निकाय, अनुसन्धानकारी संस्था, र कानुन कार्यान्वयन निकायलाई विशेष सुझाव प्रदान गरेको छ । साथै, साइबर ठगी पहिचान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई ‘रेड फ्ल्याग’को सूचीसमेत उपलब्ध गराउन सिफारिश गरिएको छ । ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगत्मा भएका प्रयासका बारेमा चर्चा गरी प्रतिवेदनमा उपायका मार्गहरू समेत सुझाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच