
हाम्रो देशमा राजनीति गर्नेहरू सत्तालाई भन्दा अन्य कुरामा ध्यान दिने गर्दैनन् । सबैको प्रमुख ध्येय सत्ता नै भइरहेको हुन्छ र कसरी सत्तामा पुग्ने भनेर त्यसका लागि जे जस्ता काम गर्न पछि नपर्ने गर्छन् । सत्तामा क्रय बिक्रयको बाटोबाट जाने गरेका छन् । अथवा यसको सट्टा जायज नाजायज कार्य गरेर भए पनि सत्ता हत्याउने प्रवृत्ति बढ्दै गएको छ । जब पार्टी प्रणाली सुरु भयो त्यही बेलादेखि नै यस्तो प्रवृत्तिको बिज रोपिन गयो । २०४७ सालको अन्तरिम कालमै पनि केही मन्त्रीहरू भ्रष्टाचारमा जोडिन पुगेका हुनाले सर्वमान्य नेता गणेशमान सिंहले हाम्रा मन्त्रीहरू गनाए भन्नुभएको कुरा मननयोग्य देखिन आएको छ ।
यतिमात्र होइन उहाँले त आफूलाई समेत संलग्न गराएर अरूलाई पेचिलो ढंगले हामी सबै नेता त भयौं तर राजनेता भने कोही पनि भएनौं भन्नुभएको थियो । अहिले यस्तै भइरहेको छ । नेताहरू धेरै छन् तर राजनेताहरू भने कोही बन्न सकेका छैन् । जुन नेताको नाम लिए पनि जनताले तिनलाई गालीमात्र गर्छन् । तिनको आलोचनाका धेरै ठाउँ छन् तर प्रशंसा गर्ने र अमूक नेता चाहिँ राम्रो मान्छे हो भनेर कसैले प्रशंसा गर्नसक्ने अवस्था छैन । यस्तो चरम निराशामा नेपाली जनता छन् । यस्तो अवस्थाको पुनरावृत्ति पटक-पटक हुँदै आइरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता लिप्सा देखेर यसो भन्न सकिएको हो तर यस्तो सत्ता लिप्सा उहाँमा मात्र होइन अन्य पार्टीका नेताहरूमा समेत पाइन्छ । नेपालमा जब पार्टी प्रणाली थिएन त्यसबेला सत्तामा जानेहरूले राजालाई रिजाउन सक्नुपथ्र्यो । राजा निकटका मानिसमात्र सत्ता र शक्तिमा पुग्ने गर्थे । राजा वा राजपरिवार निकटसम्म पुग्न सबैका लागि सम्भव थिएन । त्यसकारण हालको जस्तो भद्रगोल र अराजकताको अवस्था त्यसबेला थिएन । हाल आएर त सबैजना नेता बन्न चाहने पार्टी आबद्ध भएर नेताको पछाडि लाग्ने, बाहुबल र पैसा भएका मानिसहरू आफूसँग क्षमता नभए पनि यही धनबल र डनबलका माध्यमबाट सत्तामा पाइलो राख्न चाहने भएका कारण हाल जुनसुकै ठाउँमा पनि विशेषज्ञताको अहिले अभाव छ ।
हास्यव्यंग्यकार भैरब अर्यालले भने जस्तो अलकापुरीमा को देवता को जनताको अवस्था हाल विद्यमान छ । पार्टीमा को नेता र को कार्यकर्ता अनि जनस्तरमा को राजनीतिक पार्टीको मानिसको सर्वसामान्य जनता छुट्टिँदैन । प्रजातन्त्र आउना साथ केही मानिसहरूले नयाँ पार्टी र नयाँ नेता आए भनेर मख्ख नपर्दा हुन्छ किनकि भोका उडुसले झन् बढी रगत खान्छ भनेका थिए । त्यो परिणाम हेर्न धेरै समय कुर्नै परेन । प्रजातन्त्र आएको केही वर्षमै यस्तो राइदालो देखा परिहाल्यो । प्रजातन्त्र ल्याउन पचास वर्ष लडेका नेताहरूको उचाइको मर्यादा जमिनमा झर्न पचास दिन पनि लागेन । अहिले यसको चरम अवस्था भएको स्थिति छ ।
हाल आएर सत्ताबाहिर हुनुभएका माओवादी नेता प्रचण्डले सत्ता समीकरण परिवर्तनका लागि प्रयास गरिरहनुभएको भन्ने खालका समाचार बाहिर आइरहेका छन् । त्यो प्रयास भनेको सधैंभरि भइरहने प्रयास हो । कुनै पार्टीको समीकरणबाट एउटा सरकार बनेलगत्तै भोलिपल्टैदेखि अर्को सत्ता समीकरणको प्रयास हुन थाल्छ । यस्तो प्रयास एउटा कुनै पार्टीमा मात्र होइन सबै पार्टीमा हुनेगर्छ । नेपथ्यमा बसेर रमिता हेर्नेहरू सबैले यस्तो देखिरहेका छन् । यसलाई कसैले मिथ्या अपवाद हो भन्नु नै पर्दैन सबैले प्रत्यक्ष त देखिरहेकै छन् । दुई वर्षअगाडि भएको आमनिर्वाचनदेखि अहिलेसम्म फेरिएको सत्तासमीकरणलाई मात्र हेर्ने हो भने एमाले र माओवादीको नेतृत्व, नेपाली कांग्रेस र माओवादीको नेतृत्व र नेपाली कांग्रेस र एमालेको नेतृत्व हामीले देखिसकेका छौं ।
माओवादीसँगको सहकार्य तोडेर एमाले नेपाली कांग्रेससँग सहकार्यका लागि समीकरण गर्न आएपछिदेखि नै माओवादीमा छट्पटी आउनु अस्वाभाविक थिएन । सत्तामा बसिरहेको पार्टी सत्ताबाट बाहिरिनु परेपछिको पीडा उसमा हुने नै भयो । यसको अभिव्यक्ति बेलाबेलामा आइरहेको छ । चाहे सरकारमा बस्दा होस् चाहे सरकारबाट बाहिर बस्ता होस् प्रचण्ड बेलाबेलामा विवादाष्पद अभिव्यक्तिहरू दिने गर्नुहुन्छ । उहाँ आफ्नो अभिव्यक्ति विवादास्पद बन्नासाथ तुरुन्तै माफी माग्न पनि पछि पर्नुहुन्न । आफूलाई प्रधानमन्त्री बनाउन एकजना व्यापारीले दिल्ली दौडाहा गरेको भन्नुभएपछि उहाँको उक्त भनाइको धेरै आलोचना भयो र उहाँले माफी माग्नुभयो । भारतका लागि कम्फर्ट हुने सरकार बनाउने उहाँको अभिव्यक्ति पनि त्यत्तिकै आलोच्य बनेको थियो ।
अहिले फेरि उहाँका निकटका व्यक्ति अग्निप्रसाद सापकोटाले वर्तमान सरकाप्रतिभारत र चीन दुबै छिमेकी खुसी छैनन् भन्ने अभिव्यक्ति दिनुभएको छ । यस्ता अभिव्यक्तिहरूले अरूको इसारामा तिनकै लागि सरकार बनाइदिने हो भन्ने अर्थ लाग्छ । हाम्रोमा सरकार आफ्नो राष्ट्रका लागि बनाउने हो र त्यस सरकारले राष्ट्रको हितमा काम गर्नुपर्छ भन्ने खालको परम्परा विकास हुन सकेको छैन । तिनीहरूको हितमा तिनका लागि सहज हुने गरी सरकार बनाइदिनुपर्छ भन्ने मान्यता बोकेर हाम्रा नेताहरू राजनीतिमा आउने गरेका छन् । यो नै हाम्रा लागि दुःखद् विषय हो । सरकारमा जो आओस् त्यो राष्ट्रवादी बन्नुपर्छ भन्ने मान्यता नेतृत्व वर्गमा हुनसके हालको राजनीतिक बेतिथि हटेर जानेथियो कि भन्ने अपेक्षा गर्नु अन्यथा हुनेछैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच