काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा हुने गरी इमान्दारितापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय कर दिवस २०८१ का अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक नरहेको भन्दै अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको बताउनुभयो । असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व संकलन हुन नसक्ने उल्लेख गर्दै उहाँले कर प्रशासन आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजस्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो । राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्यमात्र नभई गौरवको विषय भएको भन्दै उहाँले करदाता र कर प्रशासनबीच सोहाद्र्रपूर्ण वातावरण बनाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘कर प्रशासनले करदातालाई अनुचित ढंगले दुःख दिनु हुँदैन, कर प्रशासनले सधैं सहजीकरण गर्ने हो, कर प्रशासनतर्फबाट म पनि यही प्रतिबद्धता गर्छु तर कर प्रशासकहरूबाट अन्य कुनै पनि किसिमका संकेतसमेत पनि भयो भने सहृय हुँदैन सिधै हामीलाई भने हुन्छ ।’
अर्थसचिव डा. रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफैं बढ्ने भन्दै राजस्व प्रशासन कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो जिम्मेवारी कर संकलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफंै बढ्छ । हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर हीनताबोध गर्नुपर्ने अवस्था छैन, तरलता सहज अवस्थामा भए पनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानीमात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।’ अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने र कर्मचारी प्रशासनले राज्यले अघि सारेको नीति निर्देशनबाट निर्देशित हुँदै रफ्तारमा काम गर्नुपर्ने बताउनुभयो ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको भन्दै अहिले बजारमा समग्र मागमा संकुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले करदातालाई सहजीकरणको काम गर्ने बताउनुभयो भने विभागका उपमहानिर्देशक गोपीकृष्ण कोइरालाले लक्ष्यअनुसार राजस्व संकलन नहुनुमा बाढीपहिरो पनि एक कारण भएको भन्दै आन्तरिक राजस्व विभागलाई गत वर्षको तुलनामा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य तोकिए पनि हालसम्म १५ प्रतिशतसम्म बढेको जानकारी गराउनुभयो । निजी क्षेत्रले भने सरकारको काममा सुधार गर्न सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बहाल करमा केन्द्र र स्थानीय सरकारले गरेको आ–आफ्नै कानुनी व्याख्या तथा दाबी, एकल दरको भ्याट प्रणाली, ३८ वर्ष पुरानो आय कानुनलगायतका विषयमा सुधारको आवश्यकता औंल्याउनुभयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले गर्ने पुँजीगत खर्च अझै अपेक्षितरूपमा बढाउन नसकेको भन्दै सरकारले गर्ने खर्च बढेसँगै सरकारले संकलन गर्ने राजस्वमा पनि सुधार आउने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले प्रतिबद्धता गरेअनुसारको काम गर्न नसकेको गुनासो गर्दै अर्थतन्त्र सहज अवस्थामा नभएको र सुधारमा सबै पक्षले हातेमालो गर्नुपर्ने बताउनुभयो । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको गुनासो गर्दै हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नुपर्नेमा पछिल्ला वर्ष क्रमशः उद्योगहरू बन्द हुँदै गएको बताउनुभयो ।
१६ उत्कृष्ट करदाता सम्मानित
आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रमबीच विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने १६ करदातालाई सम्मान गरिएको थियो । सबैभन्दा बढी आयकर तिर्नेमा राजबहादुर शाह सम्मानित हुनुभएको छ । आर्थिक वर्ष २०७९/८०मा बुझाएको करअनुसार जावलाखेल ग्रुप अफ कम्पनीका निर्देशक शाह उत्कृष्ट करदाताका रूपमा सम्मानित हुनुभएको हो । संस्थागतरूपमा उत्कृष्ट कर करदाता नेपाल टेलिकम भएको छ । सरकारी स्वामित्वको टेलिकमले सबैभन्दा धेरै आयकर तिरेको हो । त्यस्तै बैंकिङ क्षेत्रतर्फ नबिल बैंकले उत्कृष्ट करदाताका रूपमा सम्मान पाएको छ भने निर्यातमूलकतर्फ डाबर नेपालले सम्मान पाएको छ । सूचना प्रविधि निर्यातमा कड्ताप टेक प्रालिले सम्मान पाएको छ । कृषितर्फ पतञ्जली आयुर्वेद सम्मानित भएको भने शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ भने इन्टरप्राइजेजतर्फ श्रुति ट्रेडर्स सम्मानित भएको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । सिडिएस एण्ड क्लियरिङ, ऊर्जातर्फ भोटेकोशी पावर, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस, सिमेन्टतर्फ होङसी सिमेन्टका साथै सोल्टी इन्टरप्राइजेज र वरुण बेभरेजले पनि उत्कृष्ट करदाता सम्मान पाएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा