
अजरबैजान/बाकु । नेपालसहित जलवायुजन्य जोखिममा परेका पर्वतीय मुलुकहरुले हिमाल वातावरण अनुकुलित गराउने माध्यम भएकाले संरक्षणमा लाग्न विश्वको ध्यानाकर्षण गराएका छन् ।
बुधवार अजरबैजानको बाकुमा जोखिममा परेका पर्वत र हिमाली क्षेत्रका हानी नोक्शानीको बारेमा नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममार्फत नेपालसहितका पर्वतीय मुलुकले विश्वको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी लगायत विज्ञहरुले नेपालका पर्वतहरुमा परेका समस्याबारे विश्वमाझ धारणा राख्नुभएको थियो । कार्यक्रमबारे जानकारी दिँदै वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाका प्रमुख सिन्धुप्रसाद ढुंगानाले कोप २९ को अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले पर्वतका मुद्दाहरु विश्वमाझ उठाएको बताउनु भयो ।
पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखिमका कारणले भइरहेका हानी, नोक्शानीलाई कसरी सम्बोधन गर्ने र त्यसले कति क्षति पु¥याइरहेको छ भन्नेबारेमा विश्वको ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले नेपालको हिमालमा परेका असरबारे विश्वसमुदायलाई केही हदसम्म जानकारी गराउन आफूहरु सफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल जलवायुजन्य जोखिममा परेको देश हो । किन धेरै जलवायुजन्य जोखिम भयो भने संसारका अत्यन्त अग्ला अग्ला पहाडहरु, पर्वतहरु नेपालमा छन् । हिउँले ढाकिएका पर्वतहरु छन् । विश्वको तापक्रम बढ्दै जाँदा हिउँ पग्लिने, हिमताल बन्ने र विष्फोट हुँदा तल्लो तटिय क्षेत्रमा ठूलो हानी नोक्शानी पु¥याएको छ । त्यसैले यो पर्वतको मुद्दा अन्तर्राष्ट्रिय रुपमा उठाउनुपर्ने र यसको प्रभाव आफ्नो देशमा मात्रै नभएर टाढासम्म पु¥याउनुपर्ने आवश्यकता छ । त्यसो बोध गरेर नेपालले विगत दुई तीन वर्षदेखि पर्वतीय मुद्दालाई उठाइरहेको छ । जसले अन्तर्राष्ट्रिय पर्वतीय विकास वर्ष २०२२ आयोजना गर्न पनि नेपालले महत्वपूर्ण भुमिका खेलेको छ । गत वर्ष दुबईको कोपमा पनि नेपालले पर्वतीय मुद्दालाई नै उठायो र पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य जोखिमका कारणले भइरहेका हानी, नोक्शानीलाई कसरी सम्बोधन गर्ने र त्यसले हामीलाई कति क्षति पु¥याइरहेको छ । त्यसले तल्लो तटिय क्षेत्रमा समेत के असर पर्छ भन्ने सन्दर्भमा विश्व समुदायलाई जानकारी गराउन केही हदसम्म सफल भएका छौँ । यसले एक प्रकारको नेपालप्रति विश्वको ध्यान आकर्षित भएको छ ।’
कार्यक्रममा पर्वतीय देशहरु संकटमा रहेको र संकटका कारण मानव समुदायमा हानी नोक्शानी भएकोबारे छलफल भएको हो । नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा किर्गिस्तान, ताजकिस्तान, बेलायत, फ्रान्स लगायतका पर्वतीय मुलुकहरुको सहभागीता रहेको थियो । सहभागी देशहरुले नेपालले पर्वतीय मुद्दामा लिएको नेतृत्व महत्वपूर्ण रहेको र पर्वतीय मुद्दामा लिएको नेतृत्वलाई अझ उजागर गर्नुपर्छ सन्देश दिएका छन् ।
न्युज एजेन्सी नेपालका प्रतिनिधिसँग अजरबैजानमा कुराकानी गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालले उच्चस्तरीय सत्रमा नेपालसहित पर्वतीय मुलुकहरुले पर्वतहरु संकटमा रहेको र सबैले संरक्षण गर्नुपर्नेमा जोड दिएको बताउनु भयो । उहाँले कार्यक्रममा बेलायत, माल्दिभ्सहित सहभागी देशका प्रतिनिधि र किजिकिस्तानका राष्ट्रपतिले आफ्नो धारणा राख्नुभएको बताउनु भयो । साथै राष्ट्रपति पौडेलले पर्वतीय मुुलुकहरु मिलेर हिमालमा परेको असरबारे आवाज बलियो बनाउनुपर्ने धारणा राख्नुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस वर्ष हामीले हिमाल खतरामा छन्, यसको सम्बोधन गर्नुपर्छ, भन्ने विषयमा केन्द्रित भएर आयोजना गरेका हौँ । बेलायत, माल्दिभ्सका प्रतिनिधि, किजिकिस्तानका राष्ट्रपतिले भनाइ राख्नुभयो । अब जलवायु परिवर्तनको असर हिमालयमा बढी रहेको छ । हिमाल वातावरण अनुकुलित गराउने माध्यम पनि हो, त्यसैले हिमाल बचाउन लाग्नुपर्छ भन्ने सन्देश दिनुभएको छ । आगामी दिनमा यस्तो क्षेत्रमा मिलेर काम गर्न सबैले आह्वान गर्नुभएको छ ।’
हिमाल वातावरण अनुकुलित बनाउने माध्यम भएकाले पनि सबैले संरक्षण गर्नुपर्ने निचोड बैठकको रहेको बताउनु भयो । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभयो ।
-कृष्णा पौडेल /न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच