काठमाडौं । नेपालकै पहिलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले राष्ट्रको सञ्चार भन्ने नाराका साथ सर्वसुलभ दूरसञ्चार सेवाका साथै आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत समग्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । मुनाफाभन्दा पनि सेवामा केन्द्रित नेपाल टेलिकमले नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सुगमदेखि दुर्गम, अति दुर्गमका साथै भौगोलिकरूपमा विकट बस्तीहरूमा समेत दूरसञ्चार सेवा विस्तार गर्दै सबै नागरिकलाई स्वदेश र विश्व सञ्जालमा आबद्ध गराएको छ । सरकार स्वामित्वका सार्वजनिक संस्थानमध्ये राजस्वमा समेत सबैभन्दा बढी योगदान पु¥याउँदै कम्पनी संस्थागत सामाजिक उत्तरदायित्वतर्फ पनि उत्तिकै केन्द्रित रहँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो मुनाफाको केही हिस्सा रकम समाजको सेवामा खर्च गर्दै आएको कम्पनीले शैक्षिक क्षेत्रमा बालबालिकालाई आइसिटी क्षेत्र विकास गर्न सरकारी तथा सामुदायिक विद्यालय र क्याम्पसमा आइसिटी ल्याब स्थापना गरी फ्री इन्टरनेट सेवा, फर्निचर र कम्प्युटरसमेत सहयोग गर्दै आएको छ । तत्कालीन समयमा कोरोनाले शैक्षिक गतिविधि शूून्य हुँदा विद्यार्थी, शिक्षक र अभिभावकलाई अनलाइन अध्ययनका लागि फ्री सियुजी सिम वितरण गरेको थियो ।
त्यस्तै बालबालिकाको स्वास्थ्य सुधारका लागि स्यानिटरी प्याड भेण्डिङ मेसिन सहयोग, विभिन्न संस्थासँगको सहकार्यमा क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम, अस्पतालहरूमा बिरामीका लागि फलफूल र ब्लाङ्केट वितरण, ज्येष्ठ नागरिक समाजका लागि मास्टर भी ३ मेसिन मसाज बेड वितरणका साथै नेपाल प्रहरी, एम्बुलेन्स, हेलो सरकार, दमकल सेवा र ट्राफिक प्रहरी सेवालगायतका अति आवश्यक सेवा लिँदा निःशुल्क कलको व्यवस्था गरेको छ ।
साइबर अपराधबाट नागरिकलाई सुरक्षित राख्न विभिन्न संघसंस्थासँग मिलेर साइबर सुरक्षा सचेतना अभिवृद्धि गर्ने काम गरिरहेको छ भने नागरिकहरू भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट पीडामा रहँदा निःशुल्क इन्टरनेट र कल सेवा उपलब्ध गराउने, राज्यसँगको सहकार्यमा करोडौं रकम सहयोग प्रदान गर्ने काम गर्दै आएको छ । स्वच्छ र सफा वातावरणमा बस्न पाउने मानवअधिकार बचाइराख्न नेपाल टेलिकमले शहरी क्षेत्रमा वाटिका बनाउने र बनेका वाटिका संरक्षणमा समेत सहयोग गदै आएको छ ।
जस्तैः माइतीघरदेखि तीनकुनेसम्मको वाटिका निर्माण र संरक्षण कम्पनी आफैंले र आफ्नै लागतमा गर्दै आएको छ । समाजका ज्येष्ठ नागरिक रहने मानवसेवा आश्रम, बालसुधार गृह, उत्पीडन र हिंसामा परेका महिला तथा बालबालिकालाई संरक्षण गर्न बनाइएका संरक्षण स्थलमा वर्षेनी सहयोग गर्दै आएको छ । खाना खुवाउने, टेलिभिजन, इन्टरनेट र अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । रक्तदान जीवनदान अभियानलाई सहयोग गर्न सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीका उत्कृष्ट सन्ततीलाई छात्रवृत्ति उपलब्ध गराउने, अभिभावक गुमाएका र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई न्यानो कपडा, कापी कलम र झोला वितरण गर्ने, उद्धारका कार्यलगायतका कार्य गर्दै आएको छ ।
कम्पनीका अनुसार टेलिकमले आधुनिक दूरसञ्चार सेवाको विकास र विस्तार गरेर सुलभ मूल्यमा नागरिकलाई पुर्याएको सुविधाले संस्थाप्रति जनमानसको मनमा गौरव अनुभूति हुने गरेको छ । राष्ट्रिय पुँजी र पूर्वाधार निर्माण, हजारौं रोजगारी सिर्जना र अर्बौंको राष्ट्रिय ढुकुटीमा योगदान पुर्याउँदै आएको कम्पनीले सबै सरकारी संस्था सेतो हात्ती बन्दै गर्दा सरकारलाई सुनको अण्डा दिइरहेको छ । प्रतिस्पर्धात्मक बजारमा निजी कम्पनीसँग प्रतिस्पर्धा गरेर आफूलाई अब्बल प्रमाणित गरिसकेको कम्पनी तीन करोड नेपालीको मात्रै नभई समग्र राष्ट्रकै आशा र भरोसाको केन्द्र बनेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा