झम्झम झरी । भीरको बिसौनी हुँदै पीठमा डोका र हातमा नाम्लाडोरी बोकेर बस्ने ठाउँबाट तेर्सिएको जमात । सुन्तारे खोलासम्मको लर्को । उत्ताल तरङ्गको एकसुरे मन । यो व्यक्तिगत कुरा होइन । विश्वमा नव उत्कृष्ट सभ्यताको सुन्दर/कुरूप पक्ष । यसमा न जातको सवाल छ न धर्मको । न धनीको सवाल छ न गरिबीको । न होचोको प्रसङ्ग छ न अग्लोको । मात्र एक लक्ष्य, एक प्राप्ति । एक यात्रा, एक गुञ्जन ।
न यसमा व्यक्तिस्वार्थको अहं छ, न पारिवारिक । न नाताकुटुम्बको सीमास्वार्थ छ न राजनीतिको तातो अगुल्टो । न कुनै खुराफाती तन्तुको तानातिगडम छ न वर्गीय स्वार्थको बाजा । भीरको बिसौनीमा डोका बिसाउँदै जीवनका पवित्र स्वानुभवहरू उसका घरका उसले, यसका घरका यसले । मेरा घरका मैले, यिनका घरका यिनीहरूले सुनाउँदा जीवनको कुन पाटो बाँकी रहन्छ र ? संसारको कुन भाग छोइनबाट अलग हुन्छ र ?
हामी सुस्ताएपछिका आरामी तर रित्ता डोकानाम्लाभित्र उकालियौँ एकतमास उकालो जो दक्षिण अमेरिकामा पनि छ । आगो बल्दै गरेको इजरायलको तातो धुवाँमा पनि छ । मानव विकासका लागि प्रयत्नरत ऋषि कुँजनका पाखामा पनि छ । मानव विनाशका लागि निरन्तर सुरुङ खन्दै गरेका हमास, हिज्बुल्लाह र हुटीका समूह सुरुङ्भित्र पनि यिनै उकाला ओरालाहरू छन् । भलै कतै उकाला जटिल हुनसक्छन् पाइला अगाडि सार्दै आफैँ तल झर्ने, कतै पाइला नै नसारे पनि शिखर चढ्ने । हामी त्यस्ता उकाला चढिरहेका छौँ जसमा आफ्ना चाहनाविना तल झरिँदैन ।
भौतिक खुराफातमा संसार देख्नेहरू, छलका पर्दा खोलेर जाति थरका हुलभित्र विचार सल्काएर, स्वतन्त्रता जलाएर तिनकै खरानीमा खेल्नुभित्र विचित्रका अस्मिता आकाश फैलिएको देख्नेहरू समग्रलाई शून्य ठान्छन् । शून्यमा समग्रता जहाँ हुँदै हुन्न नभएकोमा उनीहरूको सर्वस्व हुन्छ । सर्वस्व भएकामा उनीहरू पराले त्यान्द्रोमात्र पाउँछन् ।
त्यही आल्डाँडोमुनि खोकको ठिक देब्रे छेउ जहाँ जमिन भिरालो भएर पनि आकर्षक छ । डाँडो भएर पनि पाइला हिँडेका ठाउँबाहेक घना प्राकृतिक हरियाली घनीभूत भएर तरेलिएको छ । लुकामारी खेलेको छ । उसलाई कुनै साथीको सहारा आवश्यक छैन, लगभग सर्वसम्पन्न अहिलेको सबै जात, धर्म, संस्कार, संस्कृति, राजनीतिक आस्था भएका व्यक्तिहरूकै आकर्षणको अमेरिका जस्तै । फरक यत्ति हो-अमेरिकाको एक भाग कृत्रिमताले भरिएको छ, अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्रको यम अनुहारमा सजिएको छ- महाभारतको अचूक अस्त्रवाहक अस्वस्थामा जस्तै । चाहेर पनि कुनै दुश्मनले तन आँक्न नसक्ने काल्पनिक कृष्णको सुदर्शन जस्तै । बनावटी रङ्गरोगन लेपनले आकर्षक युनानस्थित ट्राय शहरकी यौनोन्मत्ता क्लियापेट्रा जस्तै । यसमा पनि क्लियोपेट्रा नभएका होइनन्, छन् तर स्वार्थका सत्ताशिविर यिनले बनाएका छैनन् र बन्दैनन् पनि यस लोकमा कहिल्यै, कतै, कस्तै प्रयासका डोका बोकेर ढोल पिटे पनि ।
काफलका बडेमान बडेमान रुखहरू । ऐँसेलुका फैलिँदा विस्फारित झ्याङ्हरू आफैँमा आफ्नै सुरक्षा क्षितिजको परसम्म फिँजिएर लुकामारी खेलिरहेका छन् । काँडे खस्रुका उन्मत्त बैँसहरू तिखा तीर बनेर सर्वत्र अग्लेका छन् । मानौँ यिनीहरू ललकारी रहेका छन् योद्धाहरूलाई । सक्छौ आऊ । काट घाँसका रूपमा । एक जमात वस्तुका पेट अघाउन सक्छु । ढाल, चिर, हार लगाऊ वर्ष दिनभरि तिम्रा चुलाअँगेनामा बल्दै पेटको घाउ निको पार्न सक्छु । आङको जाडो भगाउन सक्छु । अनुहारको रोगन फेर्न सक्छु ।
सकेनौ र मैले जितेँ भने म नै तिम्रो हिज्बुल्लाह हुँ । म नै तिम्रो हुटी हुँ । म नै तिम्रो हमास हुँ । मलाई पालनपोषण गर्दै सुरक्षित गर्ने, मलजल गर्ने, जे चाहिन्छ त्यही दिएर मेरा वरिपरि रहेका बुद्धचेहरा लाप्चे विनाश गर्ने इरान हुँ । मानवता विरुद्धको यान्त्रिक जातीय अनुहार देखाएर विधुुर निमोठ्ने उत्तर कोरियन किम इल्सुङ हुँ । कुन इतिहास पढ्नुप¥यो र अब ? इतिहासका पाना पानाका अक्षरसँग म एकतमास पंक्तिबद्ध छु । वर्तमान छु र अतीत छु । खराब छु र असल बुझाउँछु । असल छु र खराबको टड्कारो अनुहार सर्वत्र देखाउँछु ।
ती लट्ठुकहरू जो जो टेपरेकर्डमा बाँचेका छन्, जसलाई पारम्परित कुर्सीको मोहले लठ्याएको छ, जो देखिने भौतिक प्राप्तिका थोत्रा सिँढी उक्लनुलाई गौरवको सिरानी ठान्छन् तिनका लागि यो समग्र निश्चय नै चर्को नुन हो । तिनीहरू सम्भवतः यो न पढुन्, न बुझुन् । झुक्किएर पढिहाले भने प्रतिक्रियामा बुरुक्क उफ्रन्छन् र भन्छन् यो एकालापको के अर्थ ?
जानपहिचानको ठाउँ, चिरपरिचित मान्छे उनी र म । समयको रङ्ले आज दुवै अपरिचित झैँ, अनजान झैँ, अस्पष्ट झैँ अपूर्व त्यो प्रकृतिको अनन्त गर्तमा भएर पनि हराएका छौँ, हराएर पनि भएका, भइरहेका छौँ । झरी बिस्तारै पातबाट थोपा र थोपाबाट सानासाना मसिना धारा हुँदै झर्दै छ ।
सही पनि हो भौतिक खुराफातमा संसार देख्नेहरू, छलका पर्दा खोलेर जाति थरका हुलभित्र विचार सल्काएर, स्वतन्त्रता जलाएर तिनकै खरानीमा खेल्नुभित्र विचित्रका अस्मिता आकाश फैलिएको देख्नेहरू समग्रलाई शून्य ठान्छन् । शून्यमा समग्रता जहाँ हुँदै हुन्न नभएकोमा उनीहरूको सर्वस्व हुन्छ । सर्वस्व भएकामा उनीहरू पराले त्यान्द्रोमात्र पाउँछन् । पाउनु र नपाउनुको, हुनु र नहुनुको यसै लुकामारीभित्र सच्चाइको अमीट छाप छ । कच्चाइको भाग्दो कुरूप रूप छ ।
कुरूपहरू चढे माथि तारेभीरको टुप्पोमा जहाँ हिज्बुल्लाह काँडे खस्रु जिङ्ग्रिङ्ग ठडिएका छन् । हुटी लाङ्ठेका हाँगा मृत्युको चिहानमा अहिले वा भरे भाँचिन तयार छन्, तत्पर छन् । हमास तिखा हर्कटाहरू घोच्ने अनुहारसँग घाम तापिरहेका छन् । ताता घामका छट्पटी नै उनीहरूका उल्लसित संसार हुन् । मृत्यु पल्केकाहरू यमद्वारमा नै आनन्द पाउँछन् । यी पनि यहाँ जुलुस बनेर जम्जमाएका छन् ।
अहँ होइन, यथार्थ हो । म अप्ठेरो नपरी धेरै वस्तुका लागि ल्याउनै पर्ने आवश्यकता परे मात्र ती यमदूतसँग खेल्न जान्थेँ । जानै पथ्र्यो । अनिवार्यको भारी बोक्न खस्रुका रुखतिर । कारण, यस खालका खस्रु एकदमै हलुका हुन्छन्, धेरै बोक्न सकिन्छ । एउटै जमिनभेदी बममा हजारौँ आतङ्ककारी समाप्त गरेझैँ । यो अनिवार्यता सामु पहाड बनेर नउभिउञ्जेल म काफलका रूखमा लपक्क टाँसिएर झपक्क झप्केका तिनै लहराका लहरतिर लामबद्ध भई लम्किन्थेँ । ऐँसेलुका झाङ भित्रभित्र अनौठा चित्र बनाएर परसम्म फैलिएका रत्नाउला मेरा आँखाका नानी र समयका जवानी बन्थे ।
बस्र्यो झरी अनौठो । बुइकले, रामपुरे, बुकेली कुन्ती, दुर्गीका जमातसँग जमात मिसाएर लाग्ने उकालो लाङ्ठे र खस्रुका खातिर । खोज होइन संयोग, झरी छेल्न ठूलो काफलको रुख खोज्ने क्रममा अचानक हेमा लुट्पुटिँदै मसँगै आइपुगिन् । यो योजना थिएन । न उनको न मेरो । त्यसपछि पनि भएनन् यस किसिमका संयोग र सम्भावनाहरू ।
सुकोमल, स्निग्ध, शान्त, धौम्य धवला । अहिले कहाँ छिन् थाहा छैन तर तिनी छिन् । बेजोड झरी लगातारको तर सिम्सिमाइलो । भिजिने तर आनन्दको भिजाइ । हेमा जस्तै प्रकृतिको अनुहारमा प्रकृति । प्रकृतिसँगको मिलनमा प्रकृति । न त्यहाँ कुनै सुरुङ् छन् अर्को विनाशका लागि भनेर बनाइएका आतङ्ककारी छिर्ने । न त्यहाँ कुनै झट्ट आकर्षणका सङ्केत छन् विश्वामित्रका तपस्या भङ्ग हुने । सर्वाङ्ग सर्वसौन्दर्य जस्तो वरिपरिको प्रकृति छ । म छु पुरुष प्रतिनिधि । उनी छिन् सर्वसौन्दर्य सम्पन्न कोमल प्रकृतिकी प्रतीक-शान्त, सौम्य, स्निग्ध, सर्वसौन्दर्य सम्पन्न जसको अमीट छाप ममा यसरी पर्यो जसरी वर्डस्वर्थमा लुसी, सेलीमा अग्लो हरियो बाँसको टुप्पो, वरिपरि त्यस्तै हरिया कोमल बोटबिरुवा, बीचमा छङ्छङ् झर्दै बगेको अग्लो पहाडी सुदूर कता हो कताबाट दौडेर आई झरेको इन्द्रेणीदार झरना र त्यसलाई चुम्दै गरेका बाँसका टुप्पाहरू, पातहरू र बोटबिरुवाहरू । त्यसैले सेलीका सिर्जनात्मक सिर्का भरिए ।
जानपहिचानको ठाउँ, चिरपरिचित मान्छे उनी र म । समयको रङ्ले आज दुवै अपरिचित झैँ, अनजान झैँ, अस्पष्ट झैँ अपूर्व त्यो प्रकृतिको अनन्त गर्तमा भएर पनि हराएका छौँ, हराएर पनि भएका, भइरहेका छौँ । झरी बिस्तारै पातबाट थोपा र थोपाबाट सानासाना मसिना धारा हुँदै यसरी झर्दै छ जसरी अनाकर्षणको श्राप परेका पाण्डुसामु सुनसान एकान्त जङ्गलको स्तब्ध वाटिका नजिक श्वेत वस्त्रधारक कुन्ती सेतो झर्नामा नै चुपिचल्ल भिजेकी छिन् । कैयौँ वर्षका शारीरिक सम्पर्क विमुख हुनुपरेका पाण्डु चाक्षुस यस बिम्बका सामु के भए होलान् ? उत्तर सजिलो छ- जीवन सदाका लागि समाप्त गर्नु सिवाय उनमा विकल्प नै के थियो र ? यसैले त विराट महाभारत युद्धको दुन्दुभि कालान्तर नभई चिरकालपर्यन्त विश्वमा बज्यो, बजिरहने छ, बजेको छ ।
अनुभूतिको अनन्त आकाशमुनिको धरायात्रामा कैयौँ घटना घटे, घट्छन् र घटिरहने छन् । सबै अनुभूतिको अन्तरगर्भमा स्वर्णाक्षरले हस्ताक्षरित हुन सक्दैनन् अवश्यतर कुनै यस्ता पनि हुन्छन् जसलाई न पाउने चाह गरिन्, गरेँ, न भयो नै कहिल्यै नमेटिने हुँदारहेछन् । सहीछापका रूपमा उनलाई मेरो महाकाव्यकी नायिकामा सजीव सजाएर सधैँ धौम्य धवल सिम्सिमाइलो झरी लपक्क भिजेको तनखोक नजिकको काफल सदावर्त मुटुको राइट भर्टिकलमा राखेर आवाज सनिरहेछु-ढक्क ! ढक्क !! ढक्क !!!

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा