काठमाडौं । सन् २०२४का नोबेल पुरस्कारका सबै विजेताहरूको नाम घोषणा गरिएको छ । वार्षिक रूपमा प्रदान गरिने अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार हो नोबेल । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इञ्जिनियर तथा रसायनशास्त्री अल्फ्रेड नोबेलको नाममा स्थापना गरिएको हो । नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ ।
नोबेल पुरस्कार स्थापना भएको सवा एक शताब्दी भइसकेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो । अल्फ्रेड नोबेलको स्मृति दिवसमा हरेक वर्ष डिसेम्बर १० मा भव्य कार्यक्रम गरी नोबेल पुरस्कार प्रदान गर्ने गरिन्छ ।
चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।
विजेताहरूले नोबेल डिप्लोमा, नोबेल पदक र एक करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ । रकम पाउनका लागि विजेताले एउटा मन्तव्य दिनुपर्ने नियम छ । पुरस्कार विजेताको नाम भने करिब दुई महिनाअघि नै घोषणा गर्ने गरिएको छ । कमिटीले हरेक वर्ष पुरस्कारका लागि मनोनयन आहृवान गर्ने गर्छ । त्यसरी मनोनयन दर्ताका लागि सामान्यतया जनवरी अन्तिमसम्मको समय दिइन्छ । कसैले आफैंलाई मनोनयन गर्न पाउँदैन । नोबेल शान्ति पुरस्कारबाहेकका विधामा मनोनयनका लागि निमन्त्रणा आवश्यक पर्छ । शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन दर्ता गर्ने गर्छन् ।
एउटा पुरस्कार बढीमा तीनजनालाई प्रदान गरिन्छ । नोबेल फाउण्डेशनको नियमअनुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन । नोबेल पुरस्कार विजेतालाई ‘लरेट×’ भन्ने गरिन्छ । यो शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगिताका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको संकेत गर्छ । नोबेल फाउण्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन योग्य कोही ठहरिएनन् भने विजेताको नाम घोषणा गरिँदैन र पुरस्कार रकम अर्को वर्षका लागि राखिन्छ । पहिलो र दोस्रो विश्वयुद्धको समयमा केही वर्ष भने नोबेल पुरस्कार प्रदान गरिएको थिएन ।
नोबेल कमिटीले यस वर्षको विजेताका नाम घोषणाका लागि यसअघि नै मिति तय गरेको थियो । अक्टोबर ७ मा चिकित्साशास्त्र, अक्टोबर ८ मा भौतिकशास्त्र, अक्टोबर ९ मा रसायनशास्त्र, अक्टोबर १० मा साहित्य, अक्टोबर ११ मा शान्ति र अक्टोबर १४ मा अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा गर्ने जनाएको थियो र सोहीनुसार पुरस्कार घोषणा गरिएको हो ।
यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु विश्वमै ठूलो उपलब्धिका रूपमा लिइन्छ । यस पुरस्कार पाउने अनुसन्धानकर्ताहरूले ग्राउण्डब्रेकिङ अनुसन्धान र नवीन आविष्कारहरूका लागि वर्षौं खर्चेका हुन्छन् ।यसवर्ष पनि ६ विधामा ११ अनुसन्धानकर्तालाई र एक सामाजिक संस्थालाई यो पुरस्कार प्रदान गरिएको छ ।
यसवर्ष विभिन्न विधामा पुरस्कार पाउने व्यक्तित्वहरू यस प्रकार छन् :-
१) एआईसम्बन्धी अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्कमार्फत् मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभूत खोज तथा आविस्कार गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटीले जनाएको छ ।
होपफिल्ड अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीमा आणविक जीवविज्ञाका प्राध्यापक हुनुहुन्छ । युनिभर्सिटी अफ टोरन्टोमा कम्प्युटर विषयका प्राध्यापक हिल्टनले एआईमा विद्यावारिधि गर्नुभएको छ । भौतिकशास्त्रतर्फ हालसम्म २२४ जनाले भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । हालसम्म जोन बार्डीनलेमात्रै भौतिक शास्त्रतर्फ दुईपटक नोबेल पुरस्कार पाउनुभएको छ । सन् १९०१ यता ११७ पटक भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा वृद्ध व्यक्ति अर्थर अश्किन हुनुहुन्छ । उहाँले ९६ वर्षको उमेरमा नोबेल पुरस्कार पाउनुभएको थियो । भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छा व्यक्ति लरेन्स ब्यार्ग हुनुहुन्छ । उहाँले २५ वर्षको उमेरमा यो पुरस्कार पाउनुभएको थियो ।
२) रसायनशास्त्रको नोबेल पुरस्कार डेमिस हासाबिस, जोन जम्पर र डेभिड बेकरलाई
रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार गुगल डीपमाइन्डका दुई वैज्ञानिक र एक अमेरिकी बायोकेमिस्टलाई प्रदान गरिएको छ । प्रोटिनको संरचनाको भविष्यवाणी र डिजाइन गर्ने सफलताका लागि उहाँहरूलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।
डिपमाइन्डका ब्रिटिश संस्थापक डेमिस हासाबिस र कम्पनीको अल्फाफोल्ड प्रोटिन भविष्यवाणी सफ्टवेयरको विकासको नेतृत्व गर्ने जोन जम्परले पुरस्कारको आधा हिस्सा बाडनुभएको छ । अर्को आधा पुरस्कार वासिंटन विश्वविद्यालयका प्राध्यापक डेभिड बेकरलाई दिइएको थियो । उहाँको कम्प्युटेसनल अनुसन्धानले पूर्णतया नयाँ प्रकारका प्रोटिनहरू सिर्जना गरेको उल्लेख गरिएको छ ।
उक्त पुरस्कार स्टकहोमको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले घोषणा गरेको हो । विजेताहरूले ‘कम्प्युटेशनल प्रोटिन डिजाइन र प्रोटिन संरचना भविष्यवाणी’का लागि ११ मिलियन स्वीडिश क्रोनर पुरस्कार बाँड्नेछन् ।
३) एम्ब्रोस र ग्यारी रुभकनलाई चिकित्सातर्फको नोबेल पुरस्कार
‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको भूमिकाका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकनले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उहाँहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गर्नुभएको थियो ।
सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशनहरूमात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उहाँहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो ।
आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौंदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ । यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ ।
निर्णायक मण्डलले भनेको छ, ‘उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्णरूपमा नयाँ सिद्धान्त प्रकट ग¥यो जुन मानवसहित बहुकोशीय जीवहरूका लागि आवश्यक सावित भयो ।’ यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो ।
७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ ।
४) अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत भएकोे समितिले जनाएको छ । उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो । यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन् ।
अर्थशास्त्र विधाको पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भन्नुभयो, ‘देशहरूबीचको आयमा विशाल भिन्नतालाई कम गर्नु हाम्रो समयको सबैभन्दा चुनौती हो ।’ स्वेन्सनले भन्नुभएको छ, ‘पुरस्कार विजेताहरूले यसलाई प्राप्त गर्न सामाजिक संस्थाको महत्वलाई कारण मानेका छन् ।’ अर्थशास्त्रतर्फ अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीनजना महिला छन् । सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो ।
५) साहित्यमा नोबेल पुरस्कार
सन् २०२४ को साहित्यमा नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई दिइने घोषणा गरिएको छ । यो पुरस्कार यही १० अक्टोबरमा घोषणा गरिएको हो । नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिकासमेत बन्नुभएकी ५३ वर्षीया हानलाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले जनाएको छ । उहाँ साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औं महिला बन्नुभएको छ । नोबेल पुरस्कार समितिका अनुसार ‘ऐतिहासिक संघातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उहाँका चरम काव्यात्मक गद्यका लागि’ उहाँलाई पुरस्कार दिइएको हो । सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ नोबेल पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन् । आख्यानकार काङले ‘दि भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ पनि प्राप्त गर्नुभएको थियो ।
६) जापानका आणविक बमपीडितको संस्थालाई यो वर्षको नोबेल शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’लाई प्रदान गरिने भएको छ । ‘निहान हिडान्क्यो’ दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो ।
पुरस्कार समितिले ‘विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले’ उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ । सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा १९ जना महिला छन् ।
गतवर्ष अर्थात् सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनुभएको थियो । उहाँलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको संघर्ष तथा मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि पुरस्कृत गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा