
काठमाडौं । हृयाण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल भन्ने नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हिमालयन इन्टरनेसनल एक्स्पो सुरु भएको छ । एक्स्पो उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने पनि बताउनुभयो । केही समययता जुम्लालगायतका जिल्लामा स्याउ बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्लापछि सरकारले बजारीकरणका चासो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरूले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको छ, अहिले पनि कर्णालीको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको छ, अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसान प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्नेछ ।’
मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात वृद्धि गरी आर्थिक समृद्धिको दिशातर्फ अघि लैजान एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने भन्दै एक्स्पोबाट हस्तकलासँग सरोकार राख्ने लघु तथा मझौला उद्यमीका लागि लगानी र व्यापार दुवै अवसरसमेत सिर्जना हुने बताउनुभयो ।
उहाँले उद्योग मन्त्रालयले हाल स्वदेशी वस्तुको उपयोग अनिवार्य गराउने अभियानअनुसार स्वदेशी वस्तुको उपयोगका विषयमा कार्यविधि बनाइरहेको छ, कार्यविधिले पहिलो चरणमा सरकारी निकायबाट स्वदेशी वस्तुको उपभोग अभियानको सुरुवात गरेर विस्तारै देशव्यापी बनाइने जानकारी गराउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलको आवश्यकता औँल्याउँदै निजी क्षेत्रसँगको सहकार्यमा प्रदर्शनीस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो ।
सांसद ज्ञानेन्द्र शाही र गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. रामशरण थपलियालगायतले पनि स्वदेशी वस्तु उपयोगमा जोड दिँदै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन र युवा जनशक्ति पलायन रोक्नुपर्नेमा जोड दिएका थिए । एक्स्पो तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच