संसारमा सबैभन्दा पहिला दासप्रथा सन् १७९४ मा फ्रान्सले उन्मुलन गर्यो र त्यसपछि सन् १८०७ मा कानुन बनाएर राजा जर्ज तेस्रोले बेलायतबाट दासप्रथा उन्मूलन गरे । बिस्तारै अमेरिकालगायत युरोपियन देशहरूले दासप्रथालाई उन्मुलन गरे । नेपालमा चन्द्रशमशेरले दासप्रथाको उन्मूलन विसं १९८१ को वैशाख १ गते गरेका थिए । युरोपियनहरूले उत्तरी तथा दक्षिणी अमेरिका, अफ्रिका, अष्ट्रेलिया आदि देशमा आक्रमण गरी त्यहाँको आदिवासीहरूलाई ख्रिष्टान बनाउने, उनीहरूको बासस्थानबाट लखेट्ने, बलिया युवा, युवतीहरूलाई फलामको सिक्रीमा बाँधेर आफूलाई चाहिने दास दासी राख्ने र बढी भएको दास बजारमा लगेर बेच्ने गर्थे । धेरै ठाउँमा उनीहरूलाई पिंजडामा राख्ने गरिन्थ्यो ।
हामीले रोमको इतिहास हेर्यौं भने त्यहाँ दासहरूलाई केवल काममा जोत्ने नभएर मनोरञ्जनको साधनको रूपमा पनि प्रयोग गर्ने गर्थे । उनीहरू मध्ये बलिया दासहरू छानेर एउटा सार्वजनिकस्थल, अहिलेको सन्दर्भमा भन्नुपर्दा रंगशालामा लगेर लड्न लगाउँथे । उनीहरूको मल्ल युद्ध हेर्न असंख्य सम्भ्रान्त कुलका मानिसहरू त्यहाँ भेला हुन्थे । जबसम्म एउटा दासले पछारेर अर्को दासको ज्यान जाँदैन तबसम्म त्यो मल्लयुद्ध चलिरहन्थ्यो । दासबाटै दासको हत्या गराउँथे । कहिलेकाँही पालेको सिंहलाई केही दिनसम्म भोकै राखेर दाससँग लड्न पठाउँथे । प्रायः सिंहले नै दासलाई मारेर खान्थ्यो । यस्ता खेलहरूमा मालिकवर्ग खुशी हुँदै ताली बजाएर आनन्द लिन्थे । यसबाहेक राम्री दासीहरूसँग गोराहरूले यौनसम्बन्ध राख्ने गर्थे ।
समयअनुसार दासप्रथाको रूप फेरियो, दास-दास माझ युद्ध गराउने खेलको रूप फैलियो । अब पहिला जस्तो फलामको साङ्लोमा दासहरूलाई बाँधेर राख्नुपर्दैन । अब दासहरूलाई आफ्नो देश बाहिरकाले किनेर तत् तत् देशहरूमै सिंहासनमा बसालेर आफ्नो आज्ञाको पालन गराउन थालेका छन् ।
समय बदलियो, पश्चिमाहरूले आफूहरूलाई विश्वकै एकमात्र सभ्य र शिक्षित मानिस भनेर चिनाउन थाले । यो खुनी खेललाई बन्द गरे र क्रुर दासप्रथाको पनि अन्त्य गरे । समय बदलियो तर दासप्रथाको अन्त्य भएन । सभ्य समयअनुसार दासप्रथाको रूप फेरियो, दास दास माझ युद्ध गराउने खेलको रूप फैलियो । अब पहिला जस्तो फलामको साङ्लोमा दासहरूलाई बाँधेर राख्नुपर्दैन । अब दासहरूलाई आफ्नो देश बाहिरकाहरूले किनेर तत् तत् देशहरूमै सिंहासनमा बसालेर आफ्नो आज्ञाको पालन गराउन थालेका छन् । जो कमजोर छ वा जो बलियो हुन खोज्दैछ त्यस्ता कमजोर देशहरूमा आफ्ना दासहरू पालेर हुर्काई बढाई गरेपछि देशलाई युद्ध वा आन्दोलनको भुमरीमा जाकेर आफ्ना दासहरूलाई सिंहासनमा बसालेर उसलाई रोबोट जस्तै आफ्नो आज्ञापालक शासक बनाइन्छ ।
पुराना दासहरू गरिबीमा बाँच्थे तर मालिकले आफ्ना नयाँ दासहरूलाई आफ्नै राष्ट्र लुटेर संसारकै सुख भोग गर्ने स्वतन्त्रता दिएका छन । शक्तिको दुरुपयोग गरेर आफ्नो देश र देशवासीमाथि जस्तोसुकै निरंकुश शासन लादेर मनलागी व्यवहार गर्न मालिकले छुट दिएका छन् । प्रत्येक देशमा गजराज मिश्र, चन्द्रशेखर उपाध्याय, मिर्जाफर, लेन्डुप दोर्जे, क्वीजलिङ प्रवृत्तिका देशद्रोहीहरूको कमी छैन, पहिचानमात्र गर्नुपर्छ । धेरै टाढा जेलेन्स्कीसम्म नपुगौँ, हाम्रै देशका क्वीजलिङ र लेन्डुपहरूलाई हेरे पुग्छ ।
पहिला दास कमजोर भए उसलाई दानापानी बन्द गरेर मर्न छोडिन्थ्यो तर अचेल दास कमजोर भए, आफ्नै देशमा निन्दनीय र अलोकप्रिय भए उसलाई भौतिक वा राजनीतिक रूपमा समाप्त पारी नयाँ दास जो जनताका अगाडि असल कामहरू गरेर लोकप्रिय भएका छन्, उनलाई टपक्क टिपेर सिंहासनमा बसाल्छन् मालिकहरूले । अहिले बंगलादेशलाई हेरौँ, त्यहाँको आन्दोलनमा नामै नसुनेका व्यक्तिलाई अमेरिकाले टपक्क लन्डनबाट तानेर ढाकाको सिंहासनमा बसाल्यो । लघुवित्त र ग्रामीण विकास बैंकको अवधारणा दिएर उनलाई पहिला बंगलादेश पठायो । उनलाई नोबेल पुरस्कार दिलाएर झन लोकप्रिय बनायो । आफ्नै गलत कामले गर्दा देश छाडेर भागेका एकजना पलातकलाई अहिले देशको बागडोर दियो ।
राष्ट्रसंघको महाधिवेशनमा भाग लिन गएका उनलाई व्यक्तिगत भेटघाटको समय दिएर लामो समयसम्म वार्ता गरे । उनलाई अँगालो हालेर अभ्यर्थना जनाए । मिलाएको हात समात्दै कुराकानी जारी राखे । बली दिनु भन्दा अगाडि जसरी बोकालाई फूलपातीले मन्साएर, पानी छम्केर पूजा गरिन्छ ठीक त्यस्तै स्वागत भयो उनको । किनकि नेपालपछि बंगलादेश अमेरिकाका लागि सामरिक दृष्टिकोणले अति महत्वपूर्ण छ । शेख हसिनाले मार्टिन टापु अमेरिकालाई नदिएकोले उनलाई सत्ताच्यूत गरेको आरोप उनले नै लगाएकी छन् । चीनमाथि निगरानी राख्न, घेराबन्दी गर्न, इन्डियामाथि निगरानी राख्न अमेरिका चाहन्छ ।
यस अतिरिक्त म्यानमारमाथि पनि नजर राख्न बंगलादेशको टापु उसलाई जरुरी छ । जस्तो प्रकारको कार्यक्रममा मोहम्मद युनुस सहभागी भए त्यस्तै कार्यक्रममा हाम्रा प्रधानमन्त्री ओली र आरजू सहभागी जनाउनेवाला थिए । तर, उनीहरूलाई अमेरिकाले सुरक्षा दिन नसक्ने बताएपछि महावाणिज्यदूतावासले सुरक्षाको कारण देखाएर उक्त कार्यक्रम स्थगित गर्नुपरेको विज्ञप्ति निकाल्यो । यसअघि ओली र आरजूको विरोध न्यूयोर्कमा नेपाली जनताले गरिसकेका थिए । त्यहीँ नरेन्द्र मोदीले विशाल इण्डियन जनसमूहबीच उपस्थित जनतालाई सम्बोधन गरे ।
मोदीलाई त सुरक्षा खतरा भएन किनकि यी दुबै पात्र अमेरिकाका लागि अब मिति सकिन लागेको पात्र भएका छन् । जुन उद्देश्यले तत्कालीन अमेरिकी राजदूत जुलिया चाङमार्फत आरजु राणालाई नेपालमा सेट गरिएको थियो शायद अमेरिकाका लागि त्यो लक्ष्य पूरा भइसकेको हुनुपर्छ र ओलीबाट लिनुपर्ने लिइसकेपछि अब अमेरिकाका लागि लिनसक्ने अवस्था नभएर उनको पनि मिति सकिन लागेको हुनुपर्छ । तैपनि अन्तिमसम्म यी पात्रहरूबाट कागती निचोरे झैँ निचोरेर लिने कुरा लिएपछि मिल्काउनेछ । अमेरिकाका लागि नयाँ लोकप्रिय पात्र तयार भइसकेका छन् ।
शेख हसिनाले देश छोडेर भागेपछि भनेकी थिइन्, अमेरिकाले चाहे जुनसुकै देशको सत्ता पल्टाउन सक्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालबाट राजतन्त्र फाल्ने उसको लामो प्रयास रअसँग मिलेर दरबार हत्याकाण्ड गराएपछि नेपालमा भएको सत्तामात्र होइन व्यवस्था परिवर्तनलाई हेरे पुग्छ । प्रायः इण्डियाले नेपालको सत्ता र सरकार पल्टाउने गर्छ तर यसपटक पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तनमा अमेरिकाको हात थियो । पुष्पकमल दाहाल चीनप्रति अलि नरम भाव राख्ने भएकोले उनलाई आफ्नो विश्वासिलो कांग्रेस र एमालेको गठबन्धनको सरकार चाहिएको थियो । एमसिसी पारित गर्दा पुष्पकमल दाहालले १२ बुँदे थप शर्त राखी पारित गरेको अमेरिकालाई मन परेको थिएन ।
त्यसमाथि उनी प्रधानमन्त्री हुँदा चीनसँग १२ बुँदे सम्झौता गरेका थिए, जसको छैटौं बुँदामा नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको संरक्षणमा चीनले सहयोग गर्नेछ र नेपालले ताइवानलाई चीनको अंग मान्नुपर्ने र नेपालबाट तिब्बत विखण्डनको गतिविधि गर्न दिने छैन । यदि पुष्पकमल दाहाल प्रधानमन्त्री रहिरहेका भए बिआइआर कार्यान्वयनले गति लिने थियो । अमेरिका यो चाहँदैनथ्यो । ओलीलाई अचानो बनाएर नेपाली भाषा, यहाँको संस्कृति, धर्ममाथि प्रहार गरिरहन अमेरिकालाई सजिलो छ, त्यसमाथि कांग्रेसको साथ ।
हाम्रो म्याकेले शिक्षा पद्धतिका कारण जनता स्वयं आफ्ना सन्तानलाई विदेशीको दास हुन बाध्य पारेका छन् । अभिभावकहरू स्वयं कथित सभ्य देखिन पश्चिमा सभ्यता र संस्कृति अँगालिरहेका छन् । निजी विद्यालयमा त यशुलाई झुण्ड्याएको क्रसकोे प्रतीक टाई लगाउने चलन छँदै थियो, अब त सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरूलाई पश्चिमाको दास बनाइएको छ ।
नेपालीभन्दा अंग्रेजी बोल्न जान्नेलाई यहाँ सभ्य र शिक्षित मानिन्छ । न्यूयोर्कमा एउटा विद्यार्थीको प्रश्नको उत्तर प्रधानमन्त्री ओलीले जानी नजानी अंग्रेजीमा नदिएर नेपालीमा दिएको भए उनको इज्जत बढ्ने थियो । नेपालको इतिहास, भूगोल, संस्कृतिका बारेमा विद्यालयमा पढाइ हुँदैन, न त नैतिक शिक्षा र सनातन धर्म संस्कृतिको नै शिक्षा दिइन्छ । त्यसैले आज बुढेसकालमा आमाबाहरू उपेक्षित हुनुपरेको छ । यो सबै यही म्याकेले शिक्षा पद्धतिकै कारण हो । यो शिक्षाले एउटा स्वार्थी जमात मात्र तयार पारेर हामीलाई विदेशीको दास बनाइरहेको छ । दासताको सुरुवात हाम्रो शिक्षाबाटै हुनेगर्छ ।
जुन देशको धर्म, संस्कृति, सभ्यता र भाषालाई समाप्त पारिन्छ त्यो देश स्वतः समाप्त भएर जान्छ । पश्चिमाहरू जहाँ जहाँ पसे त्यहाँ यही गरेको उदाहरणहरू प्रशस्त छन् । अमेरिकाको सहयोगमा युक्रेनले रुसमाथि आक्रमण गर्नुको कारण रुसलाई कमजोर बनाउनुमात्र नभएर त्यहाँको दास सभ्यतालाई समाप्त पार्नु हो ।
एमाले नेतृत्वको प्रज्ञा प्रतिष्ठान नेपाली भाषाको, अक्षर र शब्दहरूको सर्वनास गर्न अहोरात्र लागिरहेको छ । त्रिभुवन विश्वविद्यालय पनि यस कुकर्ममा पछाडि छैन । कथित प्र्रोफेसर, विद्वतवर्ग, अधिकारवादीहरू, नागरिक समाज चारैतिरबाट धर्म, संस्कृति, सभ्यता र भाषामाथि आक्रमण जारी छ र यो पश्चिमा शक्तिको निर्देशनमा भइरहेको छ । प्रायः सबै राजनीतिक दलहरू, राज्यको चारै अंग, सेना, प्रहरीमा उनीहरूको पकड छँदैछ र त्यसमा इन्डियाको सहकार्य छ तर जनतालाई एक एक गरेर आफ्नो मुट्ठीमा राख्न सकिँदैन । त्यसका लागि यहाँस्थित आफ्ना दलालहरूलाई प्रयोग गरेर यहाँको धर्म, संस्कृति, सभ्यता र भाषालाई समाप्त पार्न पश्चिमा लागिपरेका छन् ।
जुन देशको धर्म, संस्कृति, सभ्यता र भाषालाई समाप्त पारिन्छ त्यो देश स्वतः समाप्त भएर जान्छ । यी पश्चिमाहरू जहाँ-जहाँ पसे त्यहाँ यही गरेको उदाहरणहरू प्रशस्त छन् । अहिले अमेरिकाको सहयोगमा युक्रेनले रुसमाथि आक्रमण गर्नुका कारण रुसलाई कमजोर बनाउनुमात्र नभएर त्यहाँको दास सभ्यतालाई समाप्त पार्नु हो । पश्चिमाहरू कि त प्रोटेस्टेन्ट छन् कि त क्याथोलिक । अहिले आएर दुबै चर्च एक ठाउँमा उभिएका छन् तर रुस अर्थोडक्स ख्रिष्टान हो । रुसमाथि आक्रमण गर्नुको अर्को मुख्य कारण त्यहाँको दास सभ्यतालाई समाप्त पार्नु हो । अमेरिकालगायत पश्चिमा नेपालमा त्यही चाहन्छन् तर आफ्नो दुराशय पूरा गर्न उसलाई यहाँ उसकै कठपुतली सरकार चाहिएको छ । सँगसँगै चीनलाई घेर्न र इण्डियामाथि निगरानी राख्न उसलाई यहाँ सैन्य बेस क्याम्प चाहिएको छ ।
कुनै बेला युरोपियनले स्लाभहरूलाई दास बनाएर युरोप लगेका थिए । स्लाभहरूलाई उनीहरूले दास बनाएकाले नै दासलाई अंग्रेजीमा स्लेभ भनिएको हो । स्लाभहरू पहिले हिन्दू थिए । अहिले पनि त्यहाँ स्लाभिक भन्ने जनजातिहरूले हिन्दु संस्कारलाई अक्षुण्य राखेका छन् । एक हजार वर्ष अघिसम्म रुसमा सनातन धर्म जीवित थियो । किभका राजा भ्लादिमिर ख्रिष्टान बने र उनले प्रजाहरूलाई पनि ख्रिष्टान बन्न आदेश दिएपछि जनता ख्रिष्टान बनेका हुन् । यसरी रुस ख्रिष्टान राष्ट्रमा परिणत भएको हो । हजार वर्षपहिलाको फर्मुला हुबहु अहिले लागू त हुँदैन । त्यसैले यहाँका शासक बाहिर हिन्दु देखिए र वामपन्थीहरू आफूलाई नास्तिक भने पनि भोटको राजनीतिका लागि वैदिक अनुष्ठानहरूमा भाग लिन्छन् तर यहाँ प्रायजसो नेता छद्म ख्रिष्टान नै हुन् । त्यसैले नेपालमा ख्रिष्टानीकरण बढिरहेको छ ।
यदि भोलिका दिनमा यही व्यवस्थाभित्रबाट कुनै प्रगतिशील, प्रजातान्त्रिक, विकासप्रेमी शासकको उदय भयो भने पनि त्यो पनि अमेरिकाले सेट गरी राखेको पात्र नै हुनेछ । ती पात्रहरू अमेरिकी राजदूतावासको युथ काउन्सिलका सदस्य पनि हुनसक्छन् । यहाँका सत्तारुढ हुने दलहरू नराम्ररी गनाइसकेका छन् । भोलि जनताले विप्लव गरे इण्डोपश्चिमाले ल्याइदिएको यो व्यवस्था पल्टिन सक्छ । त्यसैले यो व्यवस्थाभित्रबाटै अमेरिकाले विकल्प खोजिसकेको छ । नत्र एउटा सामान्य कार्यक्रममा अमेरिकाले ओली र आरजुलाई सुरक्षा दिन नसक्ने थिएन । हामीले अब यहाँको धर्म, संस्कृति, भाषा र सभ्यतामात्र होइन, देशको स्वतन्त्रता तथा सार्वभौमसत्ताको रक्षा गर्नुछ । नेताहरूले देशलाई लुटको धन बनाइरहेका छन् । जनताले भने तिनलाई साथ दिने होइन रोक्नुपर्ने हुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा