काठमाडौं । यस वर्षको मनसुन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन लम्बिने बताउनुभयो । मनसुन लम्बिने भएसँगै यस वर्ष दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । दशैँमा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्ष हिले दशैँ हुनसक्ने उनीहरूको भनाइ छ ।
मनसुन सकिने बेला बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सरेर भारतको बिहारनजिकै आइपुग्छ । विस्तारै मनसुन बाहिरिने भएकाले अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालबाट मनसुन बाहिरिन्छ । त्यस अवधिसम्म झरी लगातार त पर्दैन तर, मनसुन पनि नसकिने मानन्धरले बताउनुभयो ।
नेपालमा यसवर्ष सेप्टेम्बर २३ अर्थात् असोज ७ गते मनसुन बाहिरिन सक्ने मौसमविद्हरूले अनुमान गरेका थिए । तर, पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात् असोज १६ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका छन् । अक्टोबर २ को एक हप्तासम्म मनसुन नेपालबाट बाहिरिने छ । घटस्थापनापछि पनि केही दिन हल्का पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैँको टीका असोज २६ गते परेको छ । मौसमविद्का अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ । नेपालमा विगत एक दशकलाई हेर्दा सरदर मितिभन्दा पछिसम्म मनसुन कायम रहेको देखिएको छ ।
मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) मा हो । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो । तर, अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको विभागले जनाएको छ । दशैँको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरू देखिन्छ । तर, अहिलेसम्म सिष्टमले कतै पनि विथड्रलको संकेत नदेखाएको विभागकी सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ । यसवर्ष भदौ अन्तिम सातासम्म ९७ प्रतिशत वर्षा भइसकेको विभागले जनाएको छ ।
संयुक्त बजार अनुगमन सञ्चालन गर्न निर्देशन
केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले चाडपर्वलाई लक्षित गरी खाद्य आपूर्ति, शान्ति सुरक्षा र मौसमजन्य रोग नियन्त्रणलगायत महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको समितिको ७०औँ बैठकले चाडपर्वमा उपभोग्य वस्तुहरूको सहज आपूर्ति कायम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले बजार अनुगमनलाई सघन बनाउन सुरक्षाकर्मीको साथमा संयुक्त बजार अनुगमन सञ्चालन गर्नसमेत निर्देशन दिएको छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमनमा आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ । यातायात व्यवस्थापनको सन्दर्भमा सार्वजनिक यातायातको रुट परमिट, भाडादर निर्धारण, टिकट व्यवस्थापन तथा लामो दूरीमा सवारी चालक परिवर्तनको प्रावधान लागू गरिने समितिले जनाएको छ । यसैगरी समितिले चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय गरेको छ । खाद्य स्वच्छता र गुणस्तरलाई ध्यानमा राख्दै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुग्ध पदार्थ, फलफूल, मासुलगायत खाद्य वस्तुहरूको नमूना संकलन र परीक्षणलाई तीव्रता दिनेछ ।
बैठकमा सबै जिल्ला प्रशासन कार्यालयहरूमा उपभोक्ताको गुनासो सुन्ने क्युआर कोड प्रणाली लागू गर्ने र आवश्यक सेवाहरू सार्वजनिक बिदाका दिनहरूमा पनि सुचारु गर्ने निर्णय भएको छ । राष्ट्रिय राजमार्गको मर्मत कार्य १० असोजसम्म सम्पन्न गरिने योजना रहेको छ । प्रत्येक निर्णयको कार्यान्वयनको प्रगति साप्ताहिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्ने समितिले जनाएको छ ।
सरकारले दशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिरहेको छ । चाडपर्वका बेला बजारमा खरिद बिक्री गरिने वस्तु तथा सेवाको मूल्य र गुणस्तर कायम गर्न सरकारका नियमनकारी निकायले बजार अनुगमन गर्दै आएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतदेखि अन्य सरकारी निकायबीच समन्वय गरी संयुक्त वा सघन अनुगमन सुरु गरिसकेको छ । विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, नापतौल विभाग, उद्योग विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महानगर, स्थानीय सरकारसँगको समन्वयमा संयुक्त अनुगमन गरिरहेको जनाएको छ ।
पर्वोत्सव सहुलियत पसलमा उपभोक्ताको भिड
सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले असोज १ गतेदेखि नै चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसकेको छ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सुरु भएको पर्वोत्सव सहुलियत पसलमा दैनिक उपभोग्य वस्तु किन्ने उपभोक्ताको भिड लाग्ने गरेको छ । दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायकमा कम्पनीको बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पु¥याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्यांग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० छुट दिइने कम्पनीले जनाएको छ । पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले तीन करोड बजेट व्यवस्थापन गरेको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्यांग्रा काठमाडौं ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा